अरुलाई ढाँटे पनि आफूलाई ढाँट्न सकिँदैन

78.02k
Shares

कुनै पनि माध्यमबाट देश–विदेशमा भएका हत्या, हिंसा, आरोप–प्रत्यारोप, वादविवाद, द्वन्द्व, मुद्दाजस्ता फरक–फरक परिवेशका खबरहरु पढ्न, देख्न र सुन्न परिरहेको अवस्था छ। यो समाचारबाट अहिलेको विश्वका व्यक्तिहरुको छटपटी, दुःख, अत्यास तथा कहाली लाग्दो जीवन र जगत्को चित्र प्रस्तुत गर्न पर्याप्त छ।

नेपालको परिवेशकै कुरा गर्नुपर्दा घर–परिवार, समाज, सडकदेखि संसद्, प्रशासनिक, अर्धप्रशासनिक, न्यायिक, शैक्षिक, स्वास्थ्य आदि विविध क्षेत्रका समाचारहरु पनि यस्तै विरोधाभाष, विषमता, तीक्ततापूर्ण खबरहरुकै बाहुल्य हुन्छ। अझ आजको आधुनिक प्रविधिले ल्याएको क्रान्ति, प्रतिक्रान्तिरुपी सञ्चारमाध्यमहरुबाट पनि व्यक्तिपिच्छे खबरहरुको आदानप्रदान गर्ने होडबाजीले समाचारको सत्यतथ्य र विश्वनीयता पनि ह्रास भएको अनुभव हुन्छ। अपवादस्वरुप सकारात्मक समाचार पनि नहुने होइन तर कैयौँ खबरहरु द्वेषजन्य, एकपक्षीय प्रचारप्रसार गर्ने हिसाबले प्रेरित भएको देखिन्छ। यस्तो नकारात्मक र एकपक्षीय समाचारको कारणले अन्य पक्षको आवाज दबाउने, अर्को पक्षको भनाइ नराख्ने अवस्थालाई कुनै हालतमा पनि सही र सभ्य मान्न सकिँदैन । यो समाज र राष्ट्रको लागि स्वस्थकर तथा हितकर हुन सक्दैन।

सडकदेखि संसद्मा हुने बहस हुन् वा सार्वजनिक प्रशासनतर्फका घटना–व्याख्या हुन्, कुनै पदाधिकारीहरुको व्यक्तिगत राय वा सोचअनुसार भन्नु एक पक्ष हो । ऐन नियममा के–कस्तो छ ? त्यसको सन्दर्भ उल्लेख नहुनु पनि विडम्बना नै मान्न सकिन्छ । सबै व्यक्ति नियम कानुनको विज्ञ नहनु नौलो कुरा भएन तर सम्बद्ध निकायहरुबाट आधिकारिक पुष्टि नआउनु उदेक लाग्दो कुरा भएको अनुभूति हुन्छ । सार्वजनिक निकायहरुका कार्यहरु कैयौँ अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासँग गाँसिएको हुन्छ। यस्तोमा समेत आफ्नो व्यक्तिगत विचार र रायमा मात्र कार्य सम्पादन गर्नु पनि आज ठूलो विडम्बना भएको छ। कतै पढेकोझैँ लाग्छ– हाम्रो देश गज्जबको छ, यहाँ ऐनलाई नियमले काट्छ, नियमलाई निर्देशिकाले काट्छ, निर्देशिकालाई परिपत्रले काट्छ, परिपत्रलाई टेलिफोन, भनसुनले काट्छ । स्थायी सरकारको उपमा रहेको सार्वजनिक प्रशासनको योभन्दा अस्थिर अवस्था अरु के हुन सक्छ ? यसो हुनुको विभिन्न कारणको सूक्ष्म अध्ययनको विशेष खाँचो छ ।

अरुलाई ढाँटे पनि आफैँलाई त ढाँट्न सकिँदैन । आफूले गरेको गलत कार्यको स्व–मूल्यांकन सबैले आ–आफैँ गर्ने हो । गलत भएको छ भने आफूलाई त घातक हुने नै भयो, अझ समाजका लागि कतिको प्रत्युत्पादक भयो ? त्यो पनि स्वयं आ–आफैँले मूल्यांकन गर्नुपर्ने देखिन्छ ।

समाजको यावत् क्षेत्रमा देखा परेको गालीगलौज, अरुको गल्ती मात्र देखाउने, अरुलाई गाली गरेर आफू मात्र सही छु भन्ने देखाउने जुन प्रवृति छ, त्यो समाजका लागि कुनै हालतमा पनि ठीक ठहरिन सक्दैन । समाजको जुनसुकै क्षेत्रमा देखा परेका तहसनहस, अस्तव्यस्त हुनमा यस्तै मानसिकताको उपज मान्न सकिन्छ । आज कुनै पनि प्राणी दुःखबाट मुक्त त छैन, कसैको के दुःख, कसैको के दुःख । सबै आ–आफ्नो दुःख हटाई सुख खोज्नमा लालायित भएका छन् तर सुख खोज्ने नाममा भइरहेको छलकपट, ढँटुवा, गालीगलौज, अरुलाई गलत देखाउने प्रवृत्ति पुनः दुःखको भुमरीमा लैजानेसिबाय अरु केही हुन सक्दैन । समाजको यावत् क्षेत्रमा देखा परेको यस्तो होडबाजीबाट अरुलाई ढाँटे पनि आफूलाई त ढाँट्न सकिँदैन । आफूले गरेको गलत कार्यको स्व–मूल्यांकन सबैले आ–आफैँगर्ने हो । गलत भएको छ भने आफूलाई त घातक हुने नै भयो, अझ समाजका लागि कतिको प्रत्युत्पादक भयो ? त्यो पनि स्वयं आ–आफैँले मूल्यांकन गर्नुपर्ने देखिन्छ। आफ्नो फाइदाका लागि अरुलाई छल्ने, ढाँट्ने कार्य स्वयंको अज्ञानताबाहेक अरु केही होइन । यसले अरुलाई भन्दा अन्ततः आफैँलाई बढी हानि पुर्‍याउने हुन्छ। अरुलाई ढाँटेर, छलेर लिएको लाभ (भौतिक मानमर्यादा, पद) कुनै न कुनै किसिमले गुमाउनुपर्ने नै हुन्छ। अझ भौतिक रुप मात्र नभई शारीरिक र मानसिकरुपमा हुने हानिलाई कुनै पनि भौतिक सम्पत्तिले परिपूर्ति गर्न सकिँदैन ।

सार्वजनिक निकायहरुमा सेवा प्रदानको स्तर, सहजरुपमा सेवा पाउन नसकिने अवस्था, सेवा प्रदायकहरुको स्तरीयता, कार्यक्षमताको सवाल, आमजनताले भोग्नुपरेका असुविधाहरुप्रति चासो दिई यसको समाधानतर्फ खासै ध्यान दिएको देखिँदैन। यसका कारणको खोजी र निराकरणको उपाय खोज्नुको सट्टा एक–आपसी आरोप–प्रत्यारोप गरी तथा अझ सही र सत्यलाई छोपी झुटको सहारा नै बढी लिएको आभास हुन्छ । आफ्नो दोष छोप्नु वा आफूसँग नभएको गुण दर्शाउनु माया वा छल हो। आफूसँग नभएको गुण पनि आफूसँग भएकोझै स्वाङ पार्नु कपट हो। यसरी कुनै लाभ (अर्थिक, पद, मान, इज्जत) पाउन समाजमा जुनै किसिमको छलकपट तथा झुट र ढँटुवा प्रवृत्तिको होडबाजी देखा परेको छ। यस्तै प्रकारको घोषित–अघोषित परम्परा, संस्कृति र सोचको बाहुल्यता नै आज विश्वको अधिकांश देशको परिचय हुन पुगेको छ। यस अर्थमा आज समाजमा झुटको साथै छलकपटको बाहुल्यता बढेका स्वतः सिद्ध हुन्छ।

समाजका यावत् क्षेत्रमा विविध समस्याको बाढी आएको छ । देशमा विद्युत् प्राधिकरणको डेडिकेटर लाइनको भुक्तानीको विवाद, सार्वजनिक सेवाप्रदायक निकायहरुको सेवा प्रवाहको समस्या अथवा सेवाग्राहीले सहजरुपमा सेवा लिन कठिन अवस्था, मालपोत र अन्य निकायहरुको सेवाप्रति सर्वसाधारण जनताको गुनासो, सहकारीको समस्या, किसानदेखि ठेकेदारहरुको बाँकी बक्यौताका समस्या, न्यायालयमा मुद्दाको चाङ, सडक तथा हवाई यातायाततर्फ दुर्घटनादेखि सुरक्षा/असुरक्षाको बहस, प्राकृतिक विपद, बलात्कार, असुरक्षा आदि विविध विषयमा बहस, चर्चा–परिचर्चा भइरहेको आजको वर्तमान अवस्था हो ।

केही घटना उदाहरणको लागि चर्चा गर्नु उचित हुनेछ । राष्ट्रिय परिचयपत्र लिन भोग्नुपर्ने सास्तीदेखि वडा कार्यालयमा पाउने सुविधा लिनसमेत सहज नभएको अवस्था छ। यसमा वस्तुतः सेवाप्रदायक निकायको भौतिक अवस्था (भवन, कार्यकक्ष, जनशक्ति, कार्य प्रणाली, ले–आउट, डिजाइन र अन्य सामग्री) देखि सेवाग्राहीहरुको आवश्यक तयारीमा पनि कमी–कमजोरी देखिएको छ। अझ यसमा सेवाग्राहीको कमी–कमजोरीलाई सहज सेवा दिने वातावरणको उल्टो थप लाभको बाटो बनाउने भाव पनि निकै दारुण नै मान्नुपर्छ। यसलाई अर्को शब्दमा भन्नुपर्दा, व्यक्तिले (दुवै पक्ष) आफूले आफैँलाई ढाँट्ने प्रवृत्ति नै हाबी भएको मान्न सकिन्छ । यसै गरी सेवाप्रदायक निकायले पनि आफ्नो सेवाको कमी–कमजोरी अथवा आवश्यक सुधारतर्फ आँखा चिम्लनु वा सेवाको स्तरमा सुधार अथवा आफ्नो क्षमताभन्दा बढी कार्य गर्न खोज्नु पनि आफूले आफूलाइै ढाँटेको नै भन्न सकिन्छ। अझ कतिपय सार्वजनिक निकायहरुले आफ्नो आन्तरिक सुधारको साटो अन्य निकायको कमी–कमजोरी मात्र उजागर गर्ने, त्यसलाई मात्र सुधारको एकोहोरा मापदण्ड बनाउने पनि आफूले आफूलाई ढाँटेको मान्न सकिन्छ। यसमा थप भन्नुपर्दा, राज्यले आफू मातहतको संयन्त्रको क्षमताको पहिचानविना नयाँ आवश्यकता, व्यवस्था लागू गर्न जोडबल गर्नुलाई समेत राज्य आफैँले आफैँलाई ढाँटेको भन्न सकिन्छ कि सकिँदैन ? यसलाई अर्कोतर्फबाट सोच्दा, राज्यले आमजनताले दैनिक जीवनयापनमा भोगिरहेका समस्याको पहिचान गरी निराकरणको लागि आवश्यक कार्यक्रम, योजना लागू गर्नुपर्ने सोचको विपरीत नयाँ–नयाँ आवश्यकता थोपरिनुलाई एक किसिमको अन्याय, अत्याचार नै मान्न सकिन्छ कि सकिँदैन ?

आजको विश्वको परिवेशलाई सुहाउने त्रिपिटकअन्तर्गत अंगुतर निकायको ‘महाचोर सूत्रको’ केही प्रसंग यहाँ उतार्न सान्दर्भिक हुन्छ । यसमा भगवान् बुद्धले भिन्न–भिन्न प्रकार र परिवेशयुक्त हुने तीन प्रकारका चोरहरुको वर्गीकरण देखाउनुभएको छ । ती हुन्– एक विषम आश्रित, दोस्रो गहन आश्रित र तेस्रो बलवान् आश्रित । यिनीहरु क्रमशः नदी, दुर्गम पहाड आदिमा बसेर लुटपाट चोरी गर्ने, घना जंगल तथा रुखहरुको आडमा लुटपाट गर्ने तथा राजा–महाराजा, प्रधान आदिको बलमा चोरी, लुटमार, डकैती गर्ने चोर लुटेराहरु हुन् । यो उपमापश्चात् कायिक, वाचिक दुश्चरित्र भएमा विषम आश्रित, मिथ्यादृष्टि भएमा गहन आश्रित तथा राजा, सत्ता आदिको बलमा अश्रित भई गर्ने दुराचार आदिको तीन प्रकारको चोरी, डकैतीबाट आपूmलाई नै हानि हुने तथा ज्ञानीजनहरुबाट निन्दित हुने बताइएको छ ।

आखिर यो शिक्षाको मर्म व्यक्तिहरुले आपूm यी तीनै थरीका चोरी–डकैती हुनबाट बच्नु भन्ने नै हो । व्यक्तिहरुले कुनै न कुनै बेला गल्ती गरेको हुन्छ नै, तर गल्तीको ढाकछोपको लागि पुनः गल्ती गर्नु भनेको अथवा यस्तै तीन थरीका चोरी–डकैतीतर्फ लाग्नु नै हुनेछ । आज समाजमा आफ्ना गल्ती पुनः नदोहर्‍याउने सत् प्रयास सबै व्यक्तिहरुको तर्पmबाट हुन आवश्यक छ ।
आखिर जे–जस्तो भए पनि लाभ, मान, कीर्ति र जीतको खोजीतर्फ लम्किरहने मानव स्वभावले हार, हानि, अपमान, अकीर्ति पनि त भोगिरहेकै हुन्छन् । यो स्थितिमा कम वा बेसी मात्राको फरक होला तर कोही पनि अछूतो त रहन सक्दैन । मनुष्यले जे–जस्तो काम गरेको छ, आखिरमा अरुलाई ढाँटे पनि त आफूलाई ढाँट्न सकिँदैन नै ।

आज व्यक्तिहरुले आफ्नो कार्यले अरुलाई छलछाम नगरी, आफूबाट जानी–नजानी झुटो कुरा नहोओस् भनेर सजगता अपनाउन आवश्यक छ । समाजका सबै व्यक्ति र सञ्चारमाध्यमको अझ यसमा विशेष मेहनतसहितको कठिन कार्य गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ । व्यक्तिले आफूलाई नढाँनु प्रथम कर्तव्य र दायित्व हो भने आफ्नो कार्यबाट अरुलाई दुःख–कष्ट नहोस् भन्ने सोचाइ राख्नु अर्को आवश्यकता हो ।

आज समाज वा व्यक्तिहरु जुन आदर्श, बाटोमा हिँडिरहेका छन्, त्यो निकै भयावह गन्तव्य देखिन्छ । सडक यातायातको प्रयोगमा ठाउँ–ठाउँमा सीधा जान निषेध, दायाँ मोड्न निषेध, यु टर्न निषेधका साइनबोर्डहरु देख्छौँ । त्यसलाई प्रायले लागू गरिरहेका हुन्छन्, लागू नगरेमा जरिवानाको सिकार हुन्छन् । त्यसै गरी आज व्यक्ति, समाज हिँडिरहेको बाटो गलत भएको महसुस भएको छ । निश्चितरुपमा यसको परिणामरुपी जरिवाना पनि भोग्नुपर्छ नै । अतः व्यक्तिको आवश्यकता र सामथ्र्यबमोजिम कोही दायाँ–बायाँ त कोही फनक्क फर्की यु टर्न गर्नसमेत अति आवश्यक देखिन्छ । यसैबाट आफू नढाँट्ने र अरुलाई पनि ढाँट्न नदिने बाटो पहिल्याउन सक्षम भएमा व्यक्ति स्वयं र समाजको समेत हित हुनेछ ।

(लेखक चित्रकार नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक हुनुहन्छ ।)