कालो बजारी गर्ने र जनतालाई सताउनेलाई थुन्न मुख्य सचिवको कडा निर्देशन

‘कोमामा पुग्न लागेको कर्मचारी प्रशासनलाई बचाउन लागौ’


काठमाडौं ।

नेपालीहरुको सबैभन्दा ठुलो चाड दशैको मुखमा बजारमा कालोबजारी मौलाइरहेको र आम जनता महंगी र मूल्यवृद्धिबाट आजित भइरहेको अवस्थामा मुख्य सचिव एक नारायण अर्यालले कालोबजारी गर्ने,अस्वाभाविक मूल्यवद्धि गर्ने र आम सर्वसाधारणलाई सताउनेहरु जोसुकै भएपनि थुनेर कारवाही गर्न कडा निर्देशन दिएका छन् ।

मुख्य सचिव अर्यालले काठमाडौ, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारी, काठमाडौ उपत्यका प्रहरी कार्यालयका एआइजी तथा जनताका उपभोग्य वस्तुहरुको सहज आपूर्ति भएनभएको बारेमा अनुगमन गरेर बद्मासी गर्ने उपर कारवाही गर्ने जिम्मेवारीमा रहेका सरोकारवाला सरकारी निकायका प्रमुखहरुलाई सँगै राखेर कालोबजारी गर्नेहरुलाई थुन्न र आवश्यक कारवाही गर्न विशेष निर्देशन दिएका हुन् ।

तराई विकास तथा सञ्चार केन्द्र नेपालले आज काठमाडौमा आयोजना गरेको ‘बजारको सुशासनमा देखिएका चुनौती र हाम्रो दायित्व’ विषयक कार्यक्रममा बोल्दै मुख्य सचिव अर्यालले कर्मचारीहरु जनताको वास्तविक सेवक हुनुपर्ने र जनतालाई दुख दिने , मूल्यवृद्धि, कालोबजारी र मिसावट गरी आम जनताको स्वास्थ्यमा गम्भीर खेलवाड गर्नेहरु जोसुकै भएपनि थुनेर कार्वाही गर्न निर्देशन दिएका हुन् ।

‘जनतालाई सेवा दिन हामी आएको हौ, जनताको दुखकष्टलाई नजीक बाट बुभेर समाधान गर्न हामी आएका हौ, त्यसैले हामी कर्मचारीले आफ्नो जिम्मेवारी अनुसार काम गर्नुपर्छ र जनतालाई दुख दिनेमाथि कठोर बन्नै पर्छ ।’ मुख्य सचिव अर्यालले उपत्यकाका तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारीहरु तर्फ संकेत गर्दै भने ।

मुख्य सचिव अर्यालले अब देशका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले याक्सन प्लान बनाएर बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने र कालोबजारी गर्ने , अखाद्य वस्तु विक्री वितरण गर्नेलाई कडा कारवाही गर्नुपर्ने आवश्यकता औल्याए । मुख्य सचिव अर्यालले सबै व्यापारी खराब नहुने र केहि खराब व्यापारीका कारण व्यपारिक क्षेत्र बद्नाम हुनु दुखद भएको बताए ।

‘जनता पिडित भएको बेला भाडा बढाउने, मूल्यवृद्धि गर्ने , कार्टेलिङ गर्ने काम सह्य हुदैन् ।’ मुख्य सचिव अर्यालले भने । प्रमुख जिल्ला अधिकारीहरु तथा सरोकारवाला सरकारका अन्य निकायका प्रमुखहरुलाई हौस्याउदै मुख्य सचिव अर्यालले भने ‘कानुन अनुसार काम गर्दा तपाइहरुलाई कतैबाट दबाव आयो भने, दुख दिने काम भयो भने म भएको ठाउमा आउनुस , तपाईहरुको संरक्षण गर्ने काम म गर्छु । ’उनले अब आमकर्मचारीले जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने र जनता र कर्मचारीबीच देखिदै गएको ग्याप अन्त गर्नुपर्ने आवश्यकता औल्याए । उनले आम कर्मचारी शासक होइन की सेवक भएर जनताको सेवामा समर्पित हुनुपर्ने बताए ।

जनताबाट कर्मचारी प्रशासन कोमामा पुग्न लागेको भन्ने गुनासाहरु आएकाले कर्मचारीतन्त्रलाई कोमामा पुग्नबाट बचाउन सबै कर्मचारीहरुले नैतिकता, इमान्दारीता र पारदर्शीतामा ध्यान दिएर देश र जनताको काममा आफुलाई पुरै समर्पित पार्नुपर्ने आवश्यकता उनले औल्याए । कार्यक्रममा बजारमा मूल्यवृद्धि अधिक हुँदा सर्वसाधारण जनताहरु हैरान हुने गरेको र उनीहरुको बिहान र बेलुकीको छाक टार्नै समस्या हुने गरेका टिप्पणीहरु आएका थिए ।

त्यस्ता टिप्पणीहरु प्रति गम्भीर हुँदै मुख्य सचिव अर्यालले अचाक्ली बढेको मूल्य वृद्धिलाई नियन्त्रण गरी जनतामा सुशासनको अनूभूति दिलाउनु सरकारमा रहेका सबैको कर्तव्य भएको बताए । मुख्य सचिव अर्यालले देश र जनताका पक्षमा आमकर्मचारीले साहसका साथ काम गर्नुपर्ने र त्यसको नेतृत्व आफुले गर्ने बताएपछि कार्यक्रममा सहभागीहरुले मुख्य सचिव अर्यालको प्रसंसा गर्दै यस्तो प्रतिवद्धतालाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औल्याएका थिए ।

कार्यक्रममा काठमाडौ उपत्यका प्रहरी कार्यालयकी एआइजी किरण बज्राचार्य, नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका सम्पादक सागर पण्डित, तराई विकास तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्द चौलागाई ,नेपाल गुणस्तर तथा नापतौल विभागकी महानिर्देशक कुमारी ज्योति जोशी , वाणिज्य विभागका महानिर्देशक राजन पौडेल , उपभोक्ता हीत संरक्षण मञ्चकी उपमहासचिव कुमारी खरेल लगायतले बजारमा देखिएका विभिन्न समस्या र समाधानका उपायका बारेमा टिप्पणी गरेका थिए ।

सरकारी अधिकारीहरुलाई जोस्याउदै मुख्य सचिव अर्यालले भने
–सबै प्रमुख जिल्ला अधिकारीहरुले कालोबजारी गर्ने माथि कठोर कदम चाल्नुस
–यस्तो काम ७७ वटै जिल्लाका प्रजिअले गर्नुस
–बजारमा अराजकता रोक्न याक्सन प्लान बनाएर अघि बढ्नुस
–कालोबजारी गर्ने, मिसावट गर्ने र जनतालाई दुख दिनेलाई थुनेरै कारवाही गर्नुस
–कसैले दबाव दिन्छ र काम गर्न दिदैन भने म भएको ठाउमा आउनुस
–जनता र कर्मचारीवीच देखिएको ग्याप हटाउनु पर्छ
–कोमामा जान लागेको कर्मचारी प्रशासनलाई काम गरेर तंग्राउनुपर्छ
–यातायात क्षेत्रमा पनि आमूल सुधारमा जुट्नुस
–दशैका मु्खमा भाड वृद्धि र समायोजनको कुरा नगरौ , मान्य हुन्न
–सडकका खाल्टा खुल्टी तत्काल पुर्नुस , पहिरो रोक्ने उपाय सोचौ
–कुनै पनि कर्मचारीले बद्मासी गर्छ भने अब दण्डित गरिने छ
–राम्रो काम गर्नेलाई जुनसुकै हालतमा संरक्षण गरिने छ ।
–सरकार र जनताबीच सम्वन्ध राखिदिने काम मिडियाको पनि हो
–असल व्यापारीले खराब व्यापारीको संरक्षण गर्नुहुदैन, कारवाही गराउनुपर्छ