सम्भव छ त अमेरिकामा ह्यारिसको विजय ?

3.1k
Shares

संयुक्त राज्य अमेरिकामा आगामी राष्ट्रपति निर्वाचनको लागि जुन बाइडेनलाई राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक दलले अघि बढाए तापनि उनी उमेरले पाका मात्र नभई स्मरण शक्ति पनि कमजोर भएका उम्मेदवार हुन् । त्यसैले उनले आफ्नो स्वास्थ्य र उमेरका कारण कमला ह्यारिस उनकै टिमकी उपराष्ट्रपतिलाई छाडिदिने घोषणा गरेका छन् ।

यसपश्चात् डेमोक्रेट दलमा ऊर्जा थपिएको छ । डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धामा उभिएका बाइडेन ट्रम्पसँग पराजित हुने प्रायः निश्चितजस्तै थियो । यस अवस्थामा दलभित्रैबाट पनि उनलाई उम्मेदवार नबन्न आग्रह भइराखेको थियो । यो यथार्थता बुझेका बाइडेनले अन्ततः आफ्नै टिमकी उपराष्ट्रपति कमलालाई छाडिदिएका छन् । कमला राष्ट्रपतिको प्रतिस्पर्धीको रुपमा उत्रिएपश्चात् अमेरिकी नागरिकमा उत्साह थपिएको अवस्था छ।

उनलाई चुनावमा प्रचारप्रसार गर्न अल्प अवधिमा ठूलो रकम चन्दा उठ्नुले पनि यो प्रमाणित गरेको छ । तर डोनाल्ड ट्रम्पसँग बीच अवधिमा आएर प्रतिस्पर्धामा खडा भएकी कमला ह्यारिसका लागि धेरै प्रकारका चुनौती देखिएका छन्। उनको विजय यात्रा सुनिश्चित देखिएको छैन । तर बाइडेनभन्दा कमलाले बढी समर्थन अमेरिकी नागरिकहरूबाट प्राप्त गर्ने सन्दर्भमा कुनै सन्देह रहँदैन । अब कमलाको विजय सम्भव होला कि नहोला ? यस विषयमा निष्कर्षमा पुग्नुभन्दा पहिले उनले के–कस्ता प्रकारका चुनौतीहरु अमेरिकामा राष्ट्रपति पदमा प्रतिस्पर्धा गरिरहँदा सामना गर्नुपर्ने हुन्छ ? यसको बारेमा विश्लेषण गर्ने प्रयास यस आलेखमा गरिएको छ ।

विश्वभर नै प्रजातन्त्रको नेतृत्व गर्दै हिँड्ने र शक्तिशाली राष्ट्र संयुक्त राज्य अमेरिका हो । यस देशमा लोकतन्त्रको धेरै लामो समयदेखि सफल अभ्यास भइराखेको छ । प्रजातन्त्रको लामो सफल अभ्यास भइराखेको देशका नाताले अमेरिकामा को व्यक्ति राष्ट्रपति हुने हो ? खासै ठूलो प्रभाव पार्ने देखिँदैन । किनकि राष्ट्रिय दलका रूपमा अस्तित्वमा आएका दलहरू डेमोक्रेट र रिपब्लिकन दुवै लोकतान्त्रिक मूल्य–मान्यतामै आधारित भएर राजनीति गरिराखेका छन् । यस देशमा साम्यवादी दलको खासै प्रभाव देखिएको छैन । त्यसैले अमेरिकामा अन्य लोकतान्त्रिक अभ्यास भइरहेका बहुदलीय शासन प्रणाली अवलम्बन गरी आएका देशहरूमा जस्तै लोकतन्त्रवादी र साम्यवादी दलहरूको बीच प्रतिस्पर्धा हुँदैन । यी बाहेक अन्य आधारमा कमलाको विजयी यात्रा सुनिश्चित छ÷छैन ? विश्लेषण गर्नुपर्ने हुन्छ ।

अमेरिका शक्तिशाली राष्ट्र भएका कारण आफ्नो आन्तरिक रणनीतिका लागि ठूलो मूल्य चुकाउन सदैव तत्पर रहिआएको छ । सद्दाम हुसेन, कर्नेल गद्दाफी हुँदै ओसामा बिन लादेनको भौतिक अस्तित्वकै समाप्ति अमेरिकाले कसरी गर्न पुग्यो ? यसबाट पनि अमेरिकाले आफ्नो प्रभाव विश्वमा पार्नका लागि उपयुक्त अनुपयुक्त दुवै प्रकारका रणनीतिहरु अवलम्बन गर्दै ठूलो स्रोत–साधन, धनजनको उपयोग गर्न सधैँ अग्रपंक्तिमा रहेको देखिन्छ । अमेरिकन रणनीतिका आधारमा ठूला–ठूला युद्धहरू पटक–पटक विश्वमा भएका छन् । कतिपय युद्धहरू अत्यन्त लामो समयसम्म लडिएको छ । सोभियत युनियनलाई विघटन गरी टुक्रा–टुक्रा अथवा विभिन्न साना–ठूला राज्यहरूमा विभाजन गर्न तत्कालीन राष्ट्रपति निक्सन र उनका अत्यन्त प्रख्यात विदेश मामिला सल्लाहकार हेनरी किसिन्जरले खेल्नुभएको भूमिका उल्लेखनीय छ । चीनबाट सोभियत संघलाई घेराबन्दी गराउने र त्यसमा संयुक्त राज्य अमेरिकाले सबै प्रकारको सहयोग उपलब्ध गराएर वर्तमान समयमा आफू एकल शक्तिशाली कुशल रणनीतिकार राष्ट्रका रूपमा अस्तित्वमा रहेको छ । यसमा अमेरिका सधैँ गम्भीर देखिन्छ । त्यसैले कमला ह्यारिसले यी रणनीतिहरूमा आफूहरूलाई कसरी प्रस्तुत गर्छिन् ? त्यसैमा उनको विजय वा पराजय हुने सुनिश्चित छ ।

संयुक्त राज्य अमेरिका यस्तो देश हो, जुन आफ्नो भलाइका लागि जस्तासुकै रणनीतिहरु अवलम्बन गर्न पछि पर्दैन । हालकै अवस्थामा विश्लेषण गर्दा पनि युक्रेन र रसियाको बीचको युद्ध लम्बिने निश्चित छ । रूससँग युक्रेनको होइन, संयुक्त राज्य अमेरिकाको युद्ध भइराखेको छ । प्रायः प्रत्यक्षरुपमै संयुक्त राज्य अमेरिका युक्रेनसँग घनिष्ट रूपले सम्बन्धित भएको छ । सबै प्रकारका सहयोगहरु संयुक्त राज्य अमेरिका र नाटोसम्बन्ध पश्चिमा देशहरुले युक्रेनलाई उपलब्ध गराएका छन् । अल्प अवधिमा युक्रेनलाई परास्त गरी उक्त भूभाग आफ्नो भूभागमा मिलाउने दुराशयसहित युद्धमा होमिएको रुस यति लामो समयसम्म युद्ध गर्दा आजित बनेको छ । शुरुमा रुसले युक्रेनको केही भूभाग कब्जा गरेको थियो । धेरै युक्रेनीहरुलाई शरणार्थी बन्न बाध्य बनाएको थियो । तर अहिले प्रत्यक्ष सैन्य सहयोग र हातहतियार अत्याधुनिक प्रकारका प्रदान गरेका कारण रुसको हजार किलोमिटर भित्रसम्म युक्रेनी सेना प्रवेश गरेको दाबी युक्रेनले गरिआएको छ । यसअघि युक्रेन आक्रामक बन्न सकेको थिएन । रक्षात्मक मात्र वनी आफ्नो भूभाग र सार्वभौमसत्ता कसरी संरक्षण गर्ने ? भन्ने सन्दर्भमा मात्र सीमित बनेको थियो । अहिले युद्धको रणनीति परिवर्तन भएको छ । यो युक्रेनको नभई संयुक्त राज्य अमेरिका, नाटो र पश्चिमा देशहरूको हो । जसको नेतृत्व स्पष्टरुपमा अमेरिकाले गरिराखेको छ ।

इजरायलले गाजा क्षेत्रमा आक्रमण गरी ठूलो संख्यामा प्यालेस्टाइन बालबालिका, महिलालगायतको हत्या गरिराखेको छ । यसमा संयुक्त राज्य अमेरिकाले आफ्नो अस्तित्वको लडाइँ बनाइराखेको स्थिति छ । भोलिका दिनमा के–कति हत्या हिंसा हुने हो ? विश्वको चासो त्यसतर्फ गएको छ । विजयी भएर मात्रै युद्धबाट फर्किने इजरायली सोचाइ अमेरिकी सहयोगमा नै आएको हो । यसमा स्पष्ट हुँदा हुन्छ । संयुक्त राष्ट्र संघलगायतका अन्तर्राष्ट्रिय संघसंस्थाहरु, मानवअधिकारवादीहरू यसको अन्त्य हुनुपर्दछ भन्दै पैरवी गरिराखेका छन् । अभियान चलाइराखेका छन् । तर इजरायल युद्धबाट पछि हट्ने सम्भावना अत्यन्त न्यून देखिँदै आएको छ । यस्ता प्रकारका युद्धबाट विश्व प्रभावित हुन्छ । मानवअधिकारको दृष्टिले, आर्थिक दृष्टिले, कूटनीतिक दृष्टिले, सामाजिक दृष्टिले संयुक्त राज्य अमेरिकाको बारेमा स्वतन्त्र विश्लेषण विश्वभर भइराखेको अवस्था छ । अब कमला ह्यारिसले यी विषयमा के–कस्ता एजेन्डा र रणनीति अघि सार्दै निर्वाचनमा होमिने हुन् ? यसबाट पनि संयुक्त राज्य अमेरिकाका स्वतन्त्र मतदाताहरूले उनलाई मत दिने या नदिने निर्णय गर्नेछन् ।

कमला राष्ट्रपतिको प्रतिस्पर्धीको रुपमा उत्रिएपश्चात् अमेरिकी नागरिकमा उत्साह थपिएको अवस्था छ । उनलाई चुनावमा प्रचारप्रसार गर्न अल्प अवधिमा ठूलो रकम चन्दा उठ्नुले पनि यो प्रमाणित गरेको छ । तर डोनाल्ड ट्रम्पसँग बीच अवधिमा आएर प्रतिस्पर्धामा खडा भएकी कमला ह्यारिसका लागि धेरै प्रकारका चुनौती देखिएका छन् । उनको विजय यात्रा सुनिश्चित देखिएको छैन ।

उनको चुनावी  र्‍यालीमा एक स्थानमा श्रोताहरुले इजरायलमा शान्ति कायम हुनुपर्छ भन्दै गरेको नाराबाजीलाई कमला ह्यरिसले सकारात्मकरुपमा लिइनन् । यसबाट केही मतदातामा उनी गाजा क्षेत्रमा थप नरसंहार गर्न उद्यत् रहन्छिन् भन्ने आशंका उत्पन्न भएको छ । किनकि यसको स्पष्टता खोज्ने मतदाताहरूलाई उनले ट्रम्पका समर्थकको संज्ञा दिएकी छन् । यो उनको गैरराजनीतिक र कूटनीतिक कमजोरीका रुपमा संयुक्त राज्य अमेरिकामा थप चर्चा पाइराखेको छ । यस्ता घटनाक्रमले गर्दा राष्ट्रपतिका उम्मेदवारहरूको भविष्य सुनिश्चित हुन्छ । किनकि संयुक्त राज्य अमेरिकाका नागरिकहरू शिक्षित छन्, राजनीतिक हिसाबले जागरुक छन् । उनीहरुले दल र दल विशेषका उम्मेदवारहरूको स्वतन्त्र मूल्यांकन राम्ररी गर्दछन्। यसो भनिरहँदा अमेरिकाको वर्तमान समयको युक्रेन र इजरायलप्रतिको नीतिले अमेरिकन नागरिकहरू ठूलो संख्यामा कमलाको विरुद्धमा मतदान गर्छन् भन्न खोजिएको होइन। अमेरिकनहरू आफ्नो देशको शिर सधैँ उच्च भएको हेर्न चाहन्छन् । कहीँ–कतै अमेरिका पराजित हुनुहुन्न भन्ने दह्रो मानसिकता उनीहरूमा छ । यस अर्थमा कतिपय अवस्थामा बहुमत अमेरिकी नागरिकहरू आफ्नो देशको यस प्रकारको विध्वंशात्मक रणनीतिको पक्षमा पनि उभिने गरेका छन्।

युद्धको कारणले संयुक्त राज्य अमेरिकामा राष्ट्रपतिका उम्मेदवारहरू विरलै पराजित बनेका छन् । तर अमेरिकी नागरिकहरूको स्वाभिमान बचाउन नसक्ने राष्ट्रपतिले अमेरिकामा निरन्तरता प्राप्त गर्न नसकेको उदाहरण पाउन सकिन्छ ।
संयुक्त राज्य अमेरिकाका नागरिकहरूमा अर्को एउटा सशक्त मनोविज्ञान रहेको छ । अपवादबाहेक उनीहरू अश्वेत र महिलालाई राष्ट्रपति पदमा सहजै सहर्ष स्वीकार गर्दैनन् । हालसम्म त्यस देशमा महिला राष्ट्रपतिको रूपमा जिम्मेवारीमा नपुग्नु पनि यही मनोविज्ञानको प्रतिफलका रुपमा विश्लेषण गरिन्छ । उदाहरणका लागि हिलारी क्लिन्टनले राष्ट्रपतिको उम्मेदवार बन्न बाराक ओबामा र आफूबीच प्रतिस्पर्धामा सफल हुनका लागि देशव्यापी दौडाहा गरिन्। उनलाई प्रखर वक्ताको रुपमा हेरिन्छ।

उनको गेटअप त्यत्तिकै सुन्दर छ । तर उनी महिला हुन् । महिला भएकै कारणले उनलाई उनका पति बिल क्लिन्टनको लेभेन्सकी प्रकरणले ठूलो विवाद महिलाहरूमा देखियो । महिलाहरुलाई विभिन्न ठाउँमा महिला मतदाताहरुले आफ्ना पति बिल क्लिन्टनको पक्षमा उनलाई सफाइ दिलाउन अभियान नै छेडेको स्मरण गराए । हिलारीप्रति इमानदार रहन नसकेका उनका पति क्लिन्टनको पक्षमा उभिने महिलाले अमेरिकाका सम्पूर्ण महिलाको भलाइका लागि खडा हुन सक्ने विषयमा सन्देहसहितको विरोध महिलाहरुले नै गरे । डेमोक्रेट दलभित्रका पुरुषले भन्दा महिलाले नै हिलारीलाई रुचाएनन्, स्वीकार गरेनन् । त्यसैका कारण अश्वेत नै भए पनि बाराक ओबामा दलभित्र हाबी बन्न पुगे । उम्मेदवार बने, निर्वाचन जिते । ओसामा बिन लादेनको पाकिस्तानको भूभागमा जबरजस्ती सैन्यदस्ता प्रवेश गराई हत्या गराए । अमेरिकी जनताले उनैलाई मन पराए । किनकि उनको युद्ध आतंकवादका विरुद्ध थियो । त्यसैले यस प्रकारको मनोविज्ञान पालेका अमेरिकी नागरिकहरुले स्वतः र उत्साहका साथ कमला ह्यारिसलाई मत देलान्, आशंका गरिँदै छ । किनकि उनको प्रतिस्पर्धा विशुद्ध श्वेत पुरुष डोनाल्ड ट्रम्पसँग भइराखेको छ।


निष्कर्षमा भन्नुपर्दा राष्ट्रपतिको निर्वाचनमा कमला ह्यारिस र डोनाल्ड ट्रम्पमध्ये को भारी हुने हुन् ? भन्ने विषय अत्यन्त पेचिलो बन्दै छ । लामो समयदेखि लोकतन्त्रको सफल अभ्यास भएको देश संयुक्त राज्य अमेरिकामा विभिन्न प्रकारका विवादास्पद मामिलाहरूमा अदालतबाट दोषी प्रमाणित भएका व्यक्ति डोनाल्ड ट्रम्प हुन । उनलाई राष्ट्रपतिको उम्मेदवार बन्न मिल्ने वा नमिल्ने भन्ने सन्दर्भ पनि विश्लेषणको विषय बनिराखेको छ । उनी आफैँ प्रसिद्ध व्यापारी हुन् । स्रोत–साधन उनी आफैसँग पर्याप्त छ । त्यसमा पनि संयुक्त राज्य अमेरिकाका धेरैजसो धनाढ्यहरूको समर्थन ट्रम्पलाई देखिएको छ । यस अर्थमा ट्रम्प नै विजयी हुने हुन् कि भन्ने अनुमान पनि गरिँदै छ । कमला ह्यारिसको पक्षमा दाताहरू अत्यन्त उत्साहका साथ देखिनु उनको विजयको लागि शुभसंकेत हो।

संयुक्त राज्य अमेरिकाका महिला मतदाताले महिला राष्ट्रपति पाउने यो अवसर पनि हो । यस अर्थमा पनि यो फाइदा कमलालाई हुन सक्ने अनुमान भइराखेको छ । तर संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको निर्वाचन अत्यन्त प्रतिस्पर्धी हुने, अत्यन्त झीनो मतले मात्र यी दुई उम्मेदवारमध्ये एकको विजय हुने अवस्था देखिन्छ। तर पनि निर्वाचनको लागि अझ समय बाँकी रहेकाले त्यस अवधिमा संयुक्त राज्य अमेरिकाका मतदाताहरुले यी दुवै उम्मेदवारको बारेमा के–कस्तो अवधारणा बनाउने हुन् ? अहिले निश्चित गर्न सक्ने अवस्था छैन । तर पनि संयुक्त राज्य अमेरिकाका सचेत नागरिकहरूले राष्ट्रका लागि प्रथम महिला राष्ट्रपति पाउने सुवर्ण अवसरको रुपमा यस आसन्न निर्वाचनलाई लिनुपर्ने हुन्छ । अमेरिकी नागरिक कुन हदसम्म महिला उम्मेदवारको पक्षमा उभिई इतिहास रच्ने हुन् वा होइनन् ? प्रतीक्षाको विषय भएको छ ।