आत्महत्यालाई निरुत्साहित गर


दिन–प्रतिदिन आर्थिक मन्दी र महँगी बढ्दै गएको छ । आयस्रोत नभएकै कारण मानिसको दिनचर्या बिग्रँदै गएको छ। खानपानमा तामसी भोजन, विषादीयुक्त फलफूल, तरकारी, खाद्यान्न अर्को नैराश्यताको प्रमुख कारण बन्दै छ। आर्थिक अभावकै कारण मानिसले दैनिक जीवनयापन गर्न आवश्यक पर्ने सामग्री जुटाउन नसक्दा आत्महत्या रोज्न पुगेको पाइन्छ। प्रत्येक वर्ष सेप्टेम्बर १० का दिन विश्वभर आत्महत्या रोकथामका लागि भनेर विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै आएको भनिए पनि आत्महत्याका घटनामा खासै कमी आएको देखिँदैन।

आत्महत्या रोकथामका लागि अन्तर्राष्ट्रिय संगठन इन्टरनेसनल एसोसिएसन फर सुसाइड प्रिभेन्सनले विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा दिवस मनाउन शुरुवात गरेको देखिन्छ । दिवसको मुख्य उद्देश्य आत्महत्या रोकथामका लागि सचेतना जगाउनु र विश्वव्यापीरुपमा आत्महत्या रोकथामका लागि भएका कार्यहरुलाई प्रोत्साहन गर्नु रहेको छ। नेपालमा पनि हरेक वर्ष आत्महत्या रोकथाम दिवस मनाउँदै आइएको छ। तर दिवसले आत्महत्यामा कमी आएको भने छैन। दिनदिनै अपत्यारिला र अकल्पनीय घटना बढ्दो छ। घर चलाउन नसकेर, चरम घर झगडा भएर मात्र होइन उपचार गर्न आर्थिक अवस्था कमजोर भएर अस्पतालकै माथिल्लो तल्लाबाट हामफालेर आत्महत्या गर्नेको संख्या पनि बढ्दै जानुले यस दिवसले सुधार ल्याएको संकेत गर्न सक्ने अवस्था छैन।

विश्वमा मृत्युको २० प्रमुख कारणमध्ये आत्महत्या पनि एक मुख्य कारण हो। विश्वमा हरेक वर्ष करिब ७ लाख व्यक्तिले आत्महत्याको कारणले ज्यान गुमाउने गरेका छन् । हरेक ४० सेकेन्डमा एकजनाको आत्महत्याको कारणले मृत्यु हुने गरेको छ। प्रत्येक आत्महत्याबाट आत्महत्या गर्ने मानिसको ज्यान गुम्ने मात्र नभई सो व्यक्तिसँग सम्बन्धित १३५ जनालाई पनि आघात पुग्ने तथ्यांक अध्ययनमा पाइएको छ । नेपाल प्रहरीको तथ्यांकलाई आधार मान्दा हरेक वर्ष आत्महत्याको दर बढ्दै गरेको देखिन्छ। आर्थिक वर्ष २०८०÷०८१ मा ७ हजार २ सय २३ जनाले आत्महत्याको कारणले ज्यान गुमाएको देखिएको छ । जसअनुसार नेपालमा हरेक दिन लगभग २० जना व्यक्तिले आत्महत्याको कारणले ज्यान गुमाइरहेको देखिएको छ। दिगो विकास लक्ष्यमा आत्महत्याको दरलाई न्यूनीकरण गरी सुस्वास्थ्य प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ। तत्कालीन समय सन् २०१५ मा १६.५ जना प्रति १ लाख नेपालीमा रहेको आत्महत्याको दरलाई सन् २०२२ मा ९.७ मा घटाउँदै सन् २०३० सम्ममा ४.७ प्रति १ लाख नेपालीमा झार्ने महत्वकांक्षी लक्ष्य लिइएको छ । यो तथ्यांकलाई सुधार ल्याउन दिवस मनाएर मात्र सम्भव छैन ।

आत्महत्याको सम्बन्ध मानसिक स्वास्थ्य समस्यासँग जोडिएको पाइन्छ । आत्महत्या गर्ने ६८ प्रतिशत व्यक्तिमा मानसिक स्वास्थ्य समस्या भएको तथ्य अनुसन्धानले देखाएको छ । मानसिक रोगमा जस्तै– उदासीनताको रोग (डिप्रेसन) सबैभन्दा प्रमुख कारण हो । विगतमा आत्महत्याको प्रयास गरेका मानिसले आत्महत्या दोहो¥याउने सम्भावना अन्य व्यक्तिको तुलनामा धेरै हुन्छ । लगातार जीवनप्रति नैराश्यता अनुभव गर्ने मानिसहरु र युद्ध, हिंसा, आघातजन्य घटना, लाञ्छना वा भेदभाव अनुभव गरेका व्यक्तिहरुमा आत्महत्या गर्ने सम्भावना बढी देखिन्छ।

यसका लागि कागजी कानुन र वार्षिक दिवसभन्दा पनि आयस्रोतमा वृद्धि गर्ने र मानिसमा देखा परेको मानसिक समस्यालाई कमी ल्याउन सरकारले मनोपरामर्श, रोजगारीको सम्भावना, घरेलु कामको मूल्यांकन, उत्पादनको बजार, शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ बनाउनु जरुरी हुन्छ । बहुपक्षीय रुपमा नागरिकलाई स्वस्थ बनाउन खाद्य, रोजगारीलगायतका अति आवश्यक विषयमा सरकारको ध्यान पुग्नु जरुरी छ । शिक्षित व्यक्तिलाई देशमै रोजगारी सृजना गर्नुका साथै मानिसलाई कुलतबाट बचाई परिवारमा मेलमिलापदेखि आम्दानीअनुसारको खर्च व्यवस्थापन गर्नेतर्फ सबैको ध्यान पुग्नु जरुरी देखिन्छ ।