टेलर स्विफ्टको समर्थन कमला ह्यारिसलाई


काठमाडौँ ।

हलिवुड गायिका टेलर स्विफ्टले राष्ट्रपतिको निर्वाचनमा कमला ह्यारिसलाई समर्थन गर्ने घोषणा गरेकी छन् ।

बुधबार बिहान सम्पन्न राष्ट्रपतिको टेलिभिजन बहसपछि स्विफ्टले ह्यारिसलाई समर्थन गर्ने घोषणा गरेकी हुन् । उनले सामाजिक सञ्जालमार्फत ह्यारिस अधिकारको लागि लड्ने योद्धा भएको उल्लेख गर्दै ह्यारिस प्रभावशाली नेतृ भएको उल्लेख गरेकी छन् ।

उनले भनेकी छन्- ‘म २०२४ को राष्ट्रपति चुनावमा कमला ह्यारिस र टिम वाल्जलाई मेरो भोट दिनेछु । म ह्यारिसलाई भोट गर्दैछु किनभने उनी अधिकारका लागि लड्छिन् । मलाई लाग्छ उनी एक स्थिर र प्रतिभाशाली नेता हुन् र मलाई विश्वास छ, देशलाई शान्तपूर्ण तरिकाले नेतृत्व गर्न आवश्यक छ, अराजकताले होइन ।’

स्विफ्टले आफ्नो पोष्टमा पहिलो पटक भोट दिन लागेका मतदाताहरू आफ्नो नाम दर्ता गर्न आव्हान गरेकी छन् ।