दुबईकी राजकुमारी ल्याइन् ‘डिभोर्स’ परफ्युम !


काठमाडौँ । युएईका उपराष्ट्रपति तथा दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मकतूमकी छोरी राजकुमारी शेखा महरा चर्चामा छिन् ।

उनले हालै आफ्ना पति शेख माना बिन मोहम्मद बिन रशिद बिन मना अल मकतौमसँग सम्बन्ध विच्छेद गरेर चर्चामा आएकी छिन् । अहिले महराले नयाँ परफ्युम लन्च गरेर मानिसको ध्यान तानेकी छिन् । उनले आफ्नो परफ्युमको नाम ‘डिभोर्स’ राखेका कारण चर्चामा आएकी हुन् । यसका कारण सामाजिक सञ्जालमा महराको निकै चर्चा भइरहेको छ ।

दुबईकी ३० वर्षीया राजकुमारीले आफ्नो ब्राण्ड महरा एम १ अन्तर्गत डिभोर्स नामको परफ्युम लन्च गरेकी छन् । दुबईका शासककी छोरीले सोमबार इन्स्टाग्राममा यो जानकारी दिएकी हुन् । उनले उत्पादनको टिजर शेयर गरेका छन् । उनको पोस्टमा डिभोर्स लेखिएको सुन्दर कालो बोतल देखाइएको छ । टिजरमा टुटेको गिलास, कालो पंखुडी र कालो प्यान्थर देखाइएको छ ।

टिजर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । महराले जुलाईमा सार्वजनिक रूपमा आफ्ना श्रीमानसँग सम्बन्ध विच्छेद गरेकी थिइन् । महराले लेखेकी थिइन्, ‘प्रिय श्रीमान्, तिमी अर्कैसँग भएकोले म डिभोर्सको घोषणा गर्छु । म तिमीलाई तलाक दिन्छु, म तिमीलाई तलाक दिन्छु र म तिमीलाई तलाक दिन्छु, ख्याल राख्नुहोस् । तिम्रो पूर्व पत्नी।’ 

दुबई जस्तो कट्टर देशमा आफ्ना श्रीमानलाई सार्वजनिक रूपमा सम्बन्ध विच्छेद गर्ने राजकुमारी शेखा महरा को हुन् ?

शेखा महराको जन्म २६ फेब्रुअरी १९९४ मा दुबई, युएईमा भएको थियो । उनी ३० वर्षकी भइन् । शेखा महराको जरा इमिराती र ग्रीक दुवै हुन्, किनकि उनकी आमा जो ग्रिगोराकोस ग्रीसकी हुन् । उनले आफ्नो प्रारम्भिक शिक्षा दुबईको एक निजी विद्यालयबाट प्राप्त गरेकी हुन् र पछि उच्च शिक्षाको लागि लन्डन गइन् । उनले बेलायतको एक विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा डिग्री लिएकी छन् । 

शेखा महराले मे २०२३ मा शेख माना बिन मोहम्मद बिन रशिद बिन मना अल मकतूमसँग विवाह गरेकी थिइन् । उनले यस वर्ष मे महिनामा छोरीलाई जन्म दिएकी थिइन्, जसको नाम शेखा महरा बिन्त माना बिन्त मोहम्मद अल मकतौम राखिन् । तर, शेखा महराले साउन महिनामा सार्वजनिक रुपमा सम्बन्धविच्छेदको घोषणा गरेकी थिइन् । उनले शेख मना अर्की महिलासँग सम्बन्धमा रहेको आरोप लगाएकी छन् ।

शेख माना शेख मोहम्मद बिन राशिद बिन मना अल मकतूमका छोरा हुन् । उनी युइएमा जिसीआई रियल इस्टेट डेभलपमेन्ट कम्पनी, एमएम ग्रुप अफ कम्पनी, दुबई टेक र अल्बर्डा ट्रेडिङ लगायतका धेरै सफल व्यवसायिक उद्यमहरूमा संलग्न छन् । शेख मनको कुल सम्पत्ति करिब १.५ बिलियन डलर रहेको अनुमान गरिएको छ ।