आतंकवाद विश्वकै लागि चुनौती


आतंकवाद अहिले विश्वका लागि टाउको दुखाइको विषय बनेको छ । खास गरी विश्वका शक्तिशाली मुलुकहरुका लागि आतंकवाद संयुक्त सुरक्षा चुनौतीका रुपमा देखा परेको छ । तर शक्तिराष्ट्रबीचको बेमेलका कारण आतंकवाद मौलाउँदो अवस्थामा रहेको देखिन्छ ।

शक्तिराष्ट्रबीचको तीव्र ध्रुवीकरणको कारण विश्वलाई अस्थिर बनाउने समूह सक्रिय रहेको छ । पछिल्लो समय युरोप, मध्यपूर्व, अफ्रिका, दक्षिण अमेरिकी देश तथा एसियालीका कतिपय देशमा देखिएका अस्थिरताका कारण आतंकवादी समूह आफ्नो शक्ति एकत्रित गर्न सक्रिय भएर लागेको देखिन्छ ।

ती समूहले विभिन्न देशलाई निशाना बनाउने, ती देशमा अस्थिरता फैलाउने काम गर्दै आएको भन्दै शक्तिशाली मुलुकहरुले सामूहिक चिन्ता व्यक्त गर्न थालेको पाइन्छ । आज आतंकवादका नाममा भएको लडाइँ, झगडा र एउटै मुलुकमा पनि एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्दा त्यसबाट उत्पन्न भएको हिंसा तथा अस्थिरताबाट विश्वभर १४ करोडभन्दा बढी मान्छे प्रभावित भएको पाइन्छ ।

कतिपय आफ्नै देशभित्र शरणार्थी भएर बसेका छन् भने कतिपय आफ्नो मुलुक छाडेर छिमेकी मुलुकहरुमा शरणार्थी बनेको उदाहरण पनि विश्वसामु छर्लंगजस्तै छ । रसिया–युक्रेन युद्धका कारण विश्व दुई ध्रुवमा विभाजित भएको छ । एउटा पक्षको नेतृत्व रसियाले गरेको छ भने अर्को पक्षको नेतृत्व अमेरिकाले गरेको छ । जसका कारण विश्व विभाजित अवस्थामा पुगेको फाइदा आतंकवादमा विश्वास गर्नेहरुका लागि स्वर्णयुगको अवस्था सिर्जना भएको छ ।

बेलायत र अमेरिकी खुफिया एजेन्सीले पछिल्लो समय सार्वजनिक गरेको रिपोर्टमा रसिया, चीन र मध्यपूर्वका कारण युरोप र अमेरिकी सुरक्षामा गम्भीर चुनौती थपिएको भन्दै त्यसको मुकाबिला गर्नुपर्ने उल्लेख भएपछि अहिले विश्व तरंगित भएको छ । सन् १९९० को दशकअघि विश्व नेटो र वार्सा दुई समूहमा विभाजित रहेकोमा सोभियत युनियनको पतनपछि एकछत्ररुपमा आफ्नो आधिपत्य फैलाइरहेको नेटोका लागि अहिले चीन, रसिया, ब्राजिल, मध्यपूर्वका अधिकांश देश एकठाउँमा उभिएपछि युरोप र अमेरिकाका लागि टाउको दुखाइ भएको छ ।

विश्वका उदीयमान राष्ट्रले अमेरिकी डलर र युरोको विकल्पमा नयाँ मुद्रासमेत ल्याउने तयारी गरेपछि झस्किएका शक्तिशाली मुलुकहरुका लागि ती देशको सुरक्षा खतरा बन्दै जानुले पनि विश्वमा शान्तिको परिकल्पना, परिकल्पनामा नै सीमित हुने त होइन भन्ने प्रश्न उठेको छ । विश्वबजारमा अहिले चीन, ब्राजिल, जापान, दक्षिण कोरिया, मध्यपूर्वका देशहरुको वर्चश्व कायम हुन थालेपछि परम्परावादी शक्तिराष्ट्रहरुमा छटपटाहट शुरु भएको छ ।

यसले गर्दा शक्तिराष्ट्रबीच मतभेद बढ्दै जाने र विश्वमा नयाँ–नयाँ आतंकवादी संगठनहरु जन्मदै जाने हो भने विश्वले आउँदा दिनमा ठूलो युद्धको सामना गर्नुपर्ने अवस्था सिर्जना नहोला भन्न सकिन्न । त्यसैले सबै शक्तिराष्ट्रहरुले आफ्नो अहंता त्यागेर आतंकवादसँग लड्न संयुक्त मोर्चा बनाउनुको विकल्प छैन । त्यसतर्फ सबैको ध्यान जानुपर्ने देखिन्छ ।