स्टार्टअप व्यवसाय : के हो र यसले कसरी काम गर्छ ?

0
Shares

सरकारले स्टार्टअप व्यवसायलाई प्रवद्र्धन गर्न विभिन्न नीति ल्याएको छ । विश्वव्यापीरूपमा स्टार्टअप व्यवसायको लहर नै चलेको स्थितिमा वास्तवमा स्टार्टअप व्यवसाय भनेको के हो भन्ने बुझ्न जरुरी छ । हिजोआज जताततै स्टार्टअपको चर्चा सुनिन्छ ।
कहिले कसैको आर्थिक सहयोगको खबर आउँछ ।

कहिले कसैको सफलताको कथा सामाजिक सञ्जालमा भाइरल हुन्छ । यद्यपि, यहाँ धेरै साना व्यवसाय छन् जसले आफूलाई स्टार्टअप भन्छन्, तर वास्तवमा स्टार्टअप होइनन् । अब प्रश्न उठ्छ स्टार्टअप भनेको के हो ? यो व्यवसायको सानो रूप अर्थात् सानो व्यवसाय हो वा यो अरू केही हो ? स्टार्टअप एक प्रकारको व्यवसाय हो जुन प्रारम्भिक चरणमा छ ।
सरल भाषामा भन्नुपर्दा, स्टार्टअप एउटा नयाँ, द्रूत रूपमा बढिरहेको व्यवसाय हो, जुन सामान्यतया नयाँ आविष्कार वा अद्वितीय व्यापार मोडेलमा आधारित हुन्छ ।

स्टार्टअपले कुनै पनि क्षेत्रको बजार समस्यालाई विशेष तरिकाले समाधान गर्छ । त्यससँग सम्बन्धित उत्पादन वा सेवा उत्पादन गरी बजारमा बेचेर पैसा कमाउँछ। स्टार्टअप एक वा धेरै व्यक्तिले शुरू गरेको व्यवसाय हो, जसलाई हामी संस्थापक वा सहसंस्थापक पनि भन्छौं । स्टार्टअप शुरू गर्न आवश्यक लगानी जुन संस्थापकले आफ्नै पैसा वा साथी र परिवारमार्फत जुटाउन सक्छन् । स्टार्टअप शुरू गर्न धेरै लगानी चाहिन्छ, तर यसले कम नाफामा काम गर्छ, किनभने स्टार्टअपको उद्देश्य भनेको मानिसको समस्या समाधान गर्नु र केही नाफा खोज्नु हो ।

स्टार्टअपमा असफल हुने सम्भावना बढी हुन्छ । तर, यदि स्टार्टअपलाई पूर्ण मिहिनेत र लगनशीलताका साथ नवप्रवर्तन र रणनीति अपनाएर शुरू गरिएको हो भने धेरै नाफा पाउने र यसमा धेरै कुरा सिक्न सकिन्छ । स्टार्टअपका संस्थापकले उत्पादन वा सेवामा काम गर्छन् र यसलाई बजारमा ल्याउने प्रयास गर्छन्। स्टार्टअप पूर्णरूपमा विकसित व्यावसायिक मोडेल होइन, यो अझै विकास भइरहेको छ र विस्तारै ठूलो व्यापारको रूप लिन सक्छ ।

स्टार्टअपका फाइदा
– आफ्नो सपना साकार बनाउने अवसर
– आफैं मालिक बन्ने मौका
– ठूलो धन आर्जनको सम्भावना
– संसारमा सकारात्मक प्रभाव पार्ने अवसर

स्टार्टअपका बेफाइदा
– उच्च जोखिम
– लामो समय कडा परिश्रम
– अनिश्चितता एवं वित्तीय चुनौती

स्टार्टअपले कसरी काम गर्छ ?
स्टार्टअप कम्पनीहरूले पनि अन्य व्यवसायजस्तै काम गर्छन्, यसमा पनि कर्मचारीले मिलेर उत्पादन बनाएर बजारमा बेच्छन् । तर, स्टार्टअपलाई व्यवसायभन्दा फरक बनाउने कुरा भनेको स्टार्टअपको अद्वितीय विधि हो । अर्थात् स्टार्टअपले कुनै पनि समस्याको समाधान गर्न अद्वितीय तरिका अपनाउँछ । उदाहरणका लागि यदि कसैले किराना पसल खोल्न चाहन्छ भने सामान्यतया एक ठाउँमा सटर लिएर पसल खोल्छन् र ग्राहक आउने प्रतीक्षा गर्छन् वा कुनै पनि व्यवसायको फ्रान्चाइज लिन्छन्, जुन पुरानो विधि हो ।

यदि कुनै स्टार्टअपले किराना पसल खोल्न चाहन्छ भने उसले किराना पसलसँग सम्बन्धित समस्यालाई विचार गर्नेछ । यदि यसले कुनै समस्या देख्यो भने त्यसलाई समाधान गर्न पूर्णरूपमा नयाँ व्यापार मोडेल सिर्जना गर्नेछ । जस्तै ग्राहकलाई अनलाइन किराना सामान डेलिभरी । त्यो पनि ग्राहकले बजारमा पाएको मूल्यमा । जसले गर्दा ग्राहकको बजार वा पसलमा जाने समस्या पनि समाधान हुनेछ र स्टार्टअपले अनलाइनमार्फत लाखौं ग्राहक सजिलै पाउन सक्नेछन् ।

स्टार्टअपका उद्देश्य
स्टार्टअपले आफ्नो विचारमा धेरै छिटो काम गर्छ र आफ्नो लक्ष्य हासिल गर्नका लागि पहिले आधारभूत उत्पादन सिर्जना गर्छ र बजारमा लन्च गर्छ । जनताको प्रतिक्रिया, सुझाव र बजारको मागअनुसार बिस्तारै आफ्नो उत्पादनमा सुधार गर्दै लैजान्छ ।
स्टार्टअपको ग्राहक आधार बढाउन चाहेमा वा स्टार्टअप मापन गर्न चाहेमा त्यतिबेला लगानी बढाउन लगानीकर्ताबाट मद्दत लिनुपर्ने हुन्छ।

स्टार्टअपमा लगानी कसरी प्राप्त गर्ने ?
स्टार्टअपले धेरै राउन्डमार्फत लगानी जुटाउनुपर्ने हुन्छ । पहिलो राउन्डमा संस्थापक र तिनीहरूका साथी र परिवारद्वारा लगानी गरिन्छ । यसलाई बुट स्ट्र्याप फन्डिङ भनिन्छ । यसपछि बाह्य लगानीकर्ताबाट लगानी जुटाइन्छ, यसलाई सिड मनी भनिन्छ । यस्तो लगानी गर्ने लगानीकर्ताले कुनै पनि कम्पनीको प्रारम्भिक चरणमा लगानी गर्छन् । त्यसपछि, स्टार्टअप कम्पनीमा ए, बी, सी र डी राउन्ड फन्डिङ हुन्छ, जसमा ठूला व्यवसाय र लगानी फर्मले करोडौं रुपियाँ लगानी गर्छन् ।
अन्त्यमा स्टार्टअप कम्पनीले सार्वजनिक लगानी प्राप्त गर्न आईपीओ जारी गरी वा एक्विजिसन गरी स्टक एक्सचेन्जमा लिस्टिङ हुन्छ ।

कसरी स्टार्टअप सफल बनाउने ?
धेरै स्टार्टअप सफल हुँदैनन् । तर, सबै स्टार्टअप असफल हुन्छन् भन्ने पनि होइन ।स्टार्टअपलाई सफल बनाउनका लागि केही महत्वपूर्ण प्रश्न दिमागमा राख्नुपर्छ । जस्तै के तपाईंको समूहका मानिस तपाईंको स्टार्टअप विचारमा सहमत छन् ? तपार्इंको स्टार्टअप विचार जतिसुकै राम्रो होस्, यदि तपाईको समूहका व्यक्तिले पूर्ण समर्पणका साथ काम गरिरहेका छैनन् भने यो असफल हुनेछ। संस्थापकलाई उनीहरूको स्टार्टअप शुरू गर्न चाहने क्षेत्रकोबारे ज्ञान हुनुपर्छ । कर्मचारीहरूले पनि धेरै कडा परिश्रम र धेरै समय लगाउन आवश्यक छ । मेटलाइफ र युएस चेम्बर अफ कमर्सले सन् २०१८ मा गरेको सर्वेक्षणले स्टार्टअप मालिकले दिनमा १४ घण्टाभन्दा बढी काम गर्ने पत्ता लगाएको छ ।