रियल जुसबारे डाबर नेपालको खण्डन र हाम्रो अडान


कामना न्युज पब्लिकेसन प्रा.लि.बाट प्रकाशित नेपाल समाचारपत्र र न्युजअफनेपाल डट कमको विभिन्न मितिमा ‘रियल जुस होइन चिनीको झोल’, ‘रियल जुसमा पेप्सीमा भन्दा दोब्बर चिनी र नुन’, ‘डाबर नेपालको झुट कसरी हुन्छ हरेक घुट्कीमा हेल्थ…’ आदि शीर्षकमा प्रकाशित समाचारप्रति यस उद्योगको ध्यानाकर्षण भएको छ।

यस उद्योगले नेपाल सरकारको खाद्यसम्बन्धी नियम, कानुन र मापदण्डको परिधिमा रहेर उत्पादन तथा बिक्री वितरण गर्दै आएको अवगत गर्दै उक्त प्रकाशित समाचारका सम्बन्धमा प्रतिक्रिया तथा स्पष्टोक्ति निम्न अनुसार पारिएको छ :

प्रत्येक उत्पादनको प्याकेट तथा लेवलको अग्रभागमा उत्पादनको सम्बन्धमा उपभोक्तालाई दिइने सम्पूर्ण सूचनामूलक सन्देश उल्लेख गरिएको छ । हाल समाचारमा उल्लेख भएको रियल फ्रुट पावर ओरेन्जमा ६.४५ प्रतिशत सुन्तलाको फ्रुट जुस कन्सन्ट्रेट प्रयोग गरिएको छ । जुन वास्तविक फ्रुट जुसको मात्रा ४० प्रतिशत हुन आउँछ । यसका अतिरिक्त खाद्य मापदण्डअनुसार चिनी अर्गेनिक एसिड, रंग फ्लेवर र अन्य खानयोग्य तत्वहरु मिसाइएको हुन्छ । उत्पादनको सेल्फ लाइफ अवधिभर वस्तुको बनावट कायम राख्नका लागि स्टेविलाइजरको प्रयोग गरिएको हुन्छ । यसमा कुनै प्रिजरभेटिभ इफेक्ट नरहेको र खाद्य मापदण्ड र प्राविधिक विश्लेषण प्रतिवेदन अनुरुप तोकिएको निश्चित अवधिसम्म आम उपभोक्ताले उपभोग गर्नु सुरक्षित रहेको
स्वस्थ आहारको लागि प्राकृतिक फलफूलको उपभोग गर्नु सबैभन्दा लाभदायक रहेको तथ्यमा दुईमत छैन । कुनै पनि खाद्यवस्तुको अत्यधिक उपभोग स्वास्थ्यका लागि हितकर नहुने हुँदा फलफूल तथा फलफूलको पेय पदार्थको उचित मात्रामा खपत गर्नुपर्ने हुन्छ ।
खाद्य मापदण्ड अनुरुपको उत्पादनमा प्रश्न उठाउनुपूर्व प्राविधिक विश्लेषणविना नै आम उपभोक्तासमक्ष गलत सन्देश प्रवाह भएकोेमा हामी सो समाचारको खण्डन गर्दै उपभोक्तामाझ सत्यतिथ्यसहितको विश्लेषण प्रवाह गर्न अनुरोध गर्दछौँ ।
– डाबर नेपाल प्रा.लि. ।

४० प्रतिशत मात्र फ्रुट जुसको प्रयोग भएको कुरा रियल जुसको बट्टामा र यस खण्डनपत्रमा पनि उल्लेख गरिएको छ । जब फ्रुट जुस आधाभन्दा कम छ भने त्यसलाई फ्रुट जुस भन्न मिल्दैन, त्यसमा चिनीसमेत थपिएकाले त्यसलाई केटाकेटीको लागि राम्रो भन्न मिल्दैन र डाबर नेपालले जसरी भ्रम उत्पन्न गर्ने गरी प्रचार गरेको छ त्यो खाद्य ऐन २०८१ अनुरुप छैन भन्ने कुरामा हाम्रो अडान कायमै छ । हामीले उक्त समाचारमा उठाएको मूल विषयको प्रमुख अंश पुनः यहाँ उद्धृत गर्दछौँ ।
‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा १७ मा झुक्याई खाद्य पदार्थ बिक्री वितरण गर्न नहुने उल्लेख छ । उक्त दफाअनुसार कुनै एक खाद्य पदार्थलाई अर्को खाद्य पदार्थ हो भनी ढाँटी वा झुक्याई, कुनै खाद्य पदार्थमा प्रयोग गरेको सम्मिश्रण वा दाबीमा झुटो जानकारी दिई वा भ्रामक दाबी गरी, न्यून गुणस्तरको खाद्य पदार्थलाई उच्च गुणस्तरको खाद्य पदार्थ हो भनी ढाँटी वा झुक्याई बिक्री वितरण गर्न नहुने उल्लेख छ ।

बट्टामा ६० प्रतिशत चिनीको झोल भएको आफैँले स्वीकार गर्दागर्दै पनि उपभोक्तालाई भ्रमित गर्न डाबर नेपालले आफ्नो उत्पादनलाई ‘नेपालको नम्बर वान फ्रुट जुस’ भनेर लिखितरुपमै दाबी गरेको छ । फलको रसको सट्टा विभिन्न रोगहरु उत्पन्न गर्ने चिनीको झोलको मात्रा अधिक हुँदाहुँदै त्यस्तो पदार्थलाई उत्पादक कम्पनीले कसरी ‘हरेक घुट्कीमा हेल्थ’, ‘फ्रुट जुस’ र ‘गुड फर चिल्ड्रेन’ भनेर दाबी गर्न सक्छ ? तर उत्पादक कम्पनी डाबर नेपालले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को बर्खिलाप हुने गरी उपभोक्ताहरुमा भ्रम छरिरहेको छ ।’

वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. प्रकाशराज रेग्मी भन्नुहुन्छ, ‘प्लास्टिकसमेत राखेर बनाइएको पाकेटमा बन्द गरेर बेचिने जुसलाई कुनै पनि हालतमा स्वस्थकर भन्न मिल्दैन । बट्टाको जुसमा अत्यधिक चिनीका साथै प्रिजरभेटिभ्स अन्य केमिकलहरु राखिने भएकाले यसका कारण दीर्घकालीन स्वास्थ्य समस्या उत्पन्न हुन्छ । कहिलेकाहीँ अलिकति खाँदैमा केही फरक नपर्ला तर यसलाई बारम्बार खान थालियो भने शरीरमा बोसो बढ्ने, मेटाबोलिक डिस अर्डरअन्तर्गतका रोगहरु हुने र क्यान्सरसमेत हुन सक्छ । अधिक चिनीको सेवनले मुटुका रोगहरु, डायबिटिज हुने, कोलेस्ट्रोल बढ्ने, उच्च रक्तचाप हुने, हृदयघात आदि रोगहरु हुने सम्भावना हुन्छ । हामी त शुद्ध फलफूलको ताजा रसभन्दा पनि फलफूल नै खानुपर्छ भन्छौँ । किनभने होल फ्रुट खाँदा फाइबर, भिटामिनलगायतका सवै कुरा प्रशस्त हुन्छ ।’
– सम्पादन विभाग ।