कुनै दिन अवश्य पाउनेछौं भन्दै गायनमा फर्किए योगेश्वर


काठमाडौं ।

जब सन्ध्या हुन्छ, लैजा चरी मेरो खबर, मलाई दिइसकेको दिलजस्ता गीतमार्फत नेपाली गीत संगीतप्रेमीको मनमा बस्न सफल गायक योगेश्वर अमात्य करिब एक दशकपछि गायनमा फर्किएका छन्।

कुनै दिन अवश्य पाउनेछौं बोलको गीतको साथमा संगीतमा उनको पुनरागमन भएको हो। तीन दशकअघि गायक सालमै ओम विक्रम विष्टको स्वरमा रेकर्ड भएको सो गीत सार्वजनिक भने गरिएको थिएन। सोही गीतलाई पुनः एरेञ्ज गर्दै योगेश्वरले आफ्नो स्वरमा रेकर्ड गरेर हालै म्युजिक भिडियोसहित सार्वजनिक गरेका हुन्।

गीतमा सरोज बास्तोलाको रचना र ओमविक्रम विष्टको संगीत छ। गीतमाथि निर्मित भिडियोमा सुब्रत राज आचार्यको निर्देशन र परिकल्पना रहेको छ भने गोपाल रसाईली, सञ्जिव बराईली बसन्त सुनाम, प्रविन खतिवडा,विकास लामिछाने र करुणा श्रेष्ठको अभिनय रहेको छ।

उत्सव दाहालको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन रहेको छ। भिडियो योगेश्वर अमात्य युट्युब च्यानलबाट रिलिज गरिएको छ।