दीक्षान्त समारोह रोकिएकोमा आपत्ति जनाउँदै  सुमनाले उठाइन् प्रधानमन्त्रीमाथि प्रश्न 


काठमाडौँ ।

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरुको दीक्षान्त समारोह रोकिएकोप्रति आपत्ति जनाएकी छन् । 

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले ओली शासनमा विद्यार्थीहरुले दीक्षान्त समारोहमा कहिले भाग लिन पाउँछन् भन्दै सरकारले शिक्षा क्षेत्रलाई राजनीतिकरण गरेर अस्तव्यस्त बनाएको आरोप लगाएकी छन् । 

उनले भनिन्- ‘कृषि तथा वन विज्ञान विश्व विद्यालयमा ११ दिन भयो जाँच नभएको । चलिरहेको जाँच बन्द हुँदा १४ सयभन्दा बढी विद्यार्थी प्रभावित भएका छन् । अब चार बर्षमा सकिने स्नातक तह कति बर्षमा सकिने हो ? विश्वविद्यालय पठन पाठनको क्षेत्र कम पार्टीहरुको पार्टी प्यालेस बढी हुन थालेको छ । एउटा प्रमको पार्टी र एउटा गृहमन्त्रीको पार्टी, दुईवटा विद्यार्थी संगठनको लडाईमा पढ्छु भन्ने विद्यार्थीले जाँच पनि दिन नपाउने, विद्यार्थीहरुलाई हामीले के गर्न सिकाउदै छौं । न पढ्न दिन्छौं, पढेर जेन तेन जाँच दिन पनि दिन व्यवस्था मिलाउदैनौं, त्यसपछि दीक्षान्त समारोह पनि रोकिदिन्छौं ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइतबार दीक्षान्त नै रोकियो । मलाई त प्रधानमन्त्री कार्य क्षमतामा पटक पटक प्रश्न उठिरहेको छ । विद्यार्थीको जीवनमा यस्ता जाँचमा खेलवाड नगरियोस् । बरु राणा शासनमा एउटा विद्यालय खोलियो भनेर भन्छन् तर ओली शासनमा इतिहासले कसरी लेख्छ, त्यो हेर्न बाँकी छ । यो ओली शासनमा कृषि विद्यालयका विद्यार्थीको जाँच कहिलेदेखि हुन्छ ? कर्णालीका विद्यार्थीको दीक्षान्त समारोह कहिले हुन्छ ?’