कर्मचारी र जनप्रतिनिधिहरु सच्चिनुको विकल्प छैन


देशमा विकास, सुशासन र समृद्धिको बहस दिनहुँजसो हुने गरे पनि भ्रष्टाचार दिनानुदिन बढ्न पुग्दा त्यस्ता सबै खाले बहसहरु निरर्थकजस्तै हुने गरेको देखिन्छ। मुलुकको शासनसत्ता चलाउने प्रमुख राजनीतिक दलका प्रमुख नेताहरु तथा प्रधानमन्त्री, मन्त्रीहरुले हरेकजसो कार्यक्रममा जाँदा देशमा भ्रष्टाचार हुन नदिने र सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गर्ने गर्छन्। तर त्यसलाई व्यवहारमा उतार्न उनीहरु असफल हुने गरेका छन्। त्यसैले पनि दिनानुदिन भ्रष्टाचार बढिरहेको तथ्य जगजाहेर नै छ।

पछिल्लोपटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिन र मुद्दा दायरको क्रमलाई हेर्दा सरकारी सेवामा रहेका राष्ट्रसेवक र जनप्रतिनिधिहरु धमाधम भ्रष्टाचार प्रकरणमा मुछिइरहेको देखिन्छ । देश र जनताको सेवामा समर्पित हुने र सुशासन कायम गर्ने शपथसहित सरकारी सेवामा आएका राष्ट्रसेवक तथा जनप्रतिनिधिहरु एकपछि अर्को भ्रष्टाचार काण्डमा पर्ने क्रम बढ्नु आफैँमा दुःखद छ ।

भ्रष्टाचार गर्नेहरुमाथि कठोर कारबाही थाल्दै आइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत एक वर्षमा निजामती, जनप्रतिनिधि, प्रहरी, शिक्षक र व्यवसायी गरी १५ सय २० जनालाई भ्रष्टाचार मुद्दा दायर गरेसँगै सरकारी सेवामा भ्रष्टाचार बढ्दो क्रममा रहेको पाइएको हो। अख्तियारद्वारा भ्रष्टाचारविरुद्ध मुद्दा दायर गर्ने क्रम बढेसँगै मुलुकमा सुशासनको अवस्था कमजोर रहेको देखिएको छ। अख्तियारका अनुसार गतवर्ष भ्रष्टाचार गर्नेमा सबैभन्दा अग्रपंक्तिमा निजामती कर्मचारीहरु देखिएका छन्।

अख्तियारले मुद्दा दायर गरेका १५ सय २० जनामध्ये ४ सय ८२ जना निजामती क्षेत्रका कर्मचारीहरु रहेका छन्। यसै गरी निर्वाचित जनप्रतिनिधिहरु १ सय १ जनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ। यस्तै अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर भएकाहरुमा १८१ जना मनोनीत पदाधिकारी, ३२ जना शिक्षक, ८ जना नेपाल प्रहरी र १ जना सशस्त्र प्रहरी रहेका छन् । विभिन्न अवस्थामा कर्मचारीहरुसँग मिलेमतो गरी भ्रष्टाचारमा संलग्न रहेका ९१ जना व्यवसायीहरुविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ।

निजामती क्षेत्रमा विकृति, विसंगति अत्यधिक रहेको भनेर आलोचित भइरहेको अवस्थामा सबैभन्दा बढी भ्रष्टाचारमा संलग्न नै निजामती कर्मचारी देखिएका हुन् । बडो दुःखका साथ भन्नुपर्छ कि निजामती क्षेत्रमा रहेका सबै तहका कुनै न कुनै कर्मचारी भ्रष्टाचारमा परेको पाइएको छ। मुलुक बनाउने भनेकै जनप्रतिनिधि र कर्मचारीले हो। मुलुक बनाउने र जनताको मुहारमा खुशी ल्याउने जिम्मेवारीमा रहेका जनप्रतिनिधि र कर्मचारीहरु नै धमाधम भ्रष्टाचार प्रकरणमा परेपछि मुलुकको विकास प्रक्रिया अवरुद्ध हुनु स्वाभाविक हो। अहिले त्यस्तै भएको छ। केही जनप्रतिनिधि र केही कर्मचारीहरुका कारण सबै जनप्रतिनिधि र कर्मचारी भ्रष्ट भएको सन्देश जनतामा जान पुगेको छ।

यसले गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासमा नै गम्भीर धक्का पुगिरहेको छ। त्यसैले अब जनप्रतिनिधि र आम कर्मचारीहरु सच्चिएर उनीहरुले नैतिकता, सदाचारिता र पारदर्शितामा विशेष ध्यान दिनुपर्छ। यदि उनीहरु सच्चिएर मुलुकमा सुशासन कायम गर्न सके भने मात्रै देश विकास र समृद्धिको मार्गमा दौडिन सक्छन्। त्यसैले राज्यशक्तिमा रहेका सबै पक्ष सच्चिएर भ्रष्टाचारलाई उन्मूलन गर्दै मुलुकलाई थप गति दिन अब ढिलाइ गर्नुहुँदैन।