नृत्य निर्देशक बुढाथोकीलाई अन्तर्राष्ट्रिय अवार्ड  


काठमाडौं ।  

नृत्य निर्देशक तथा मोडेल बेदबहादुर बुढाथोकी (रोशन)लाई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मान गरिएको छ। शिव कैलाश कला मन्दिर काठमाडौं नेपाल र श्री जानकी माता कोलकताको संयुक्त आयोजनामा कोलकताको ढाकुरियामा सेप्टेम्बर १ मा भएको तीज महोत्सव तथा अवार्ड कार्यक्रममा उनलाई सम्मान गरिएको हो। 

सो कार्यक्रममा उनीसहित भारत, सिक्किम तथा नेपालबाट स्वास्थ्य, शिक्षा, साहित्य, चलचित्र, सङ्गीत ,नृत्य, सामाजिक लगायतका विधाहरूलाई समेटेर छनोट भएका विभिन्न विधाका उत्कृष्ट व्यक्तिहरूलाई सम्मान गरिएको छ । कोलकताका लागि नेपाली नायब महावाणिज्य दूत जनकराज भट्ट, विशिष्ट अतिथिका रूपमा वरिष्ठ अभिनेत्री बिपना थापासमेतको सहभागिता भएको उक्त कार्यक्रम गिता आधिकारीले संयोजन गरेकी थिइन।

अवार्ड वितरण तथा सम्मान कार्यक्रममा रोशन बुढाथोकी, रेनुका रिजाल, बिनि लिम्बु, प्रतिज्ञा भण्डारी, लगायतले सुनुवार तथा राष्ट्रियता झल्काउने नृत्य प्रस्तुति गरे भने सारिका घिमिरे, सन्तोषी सिंह र सरिता थापा मगरको गायनले स्टेज तताएका थिए। ओखलढुङ्गाको दुर्गम भूगोल खिजीदेम्बा–२ मा जन्मेका बुढाथोकी सानै उमेरदेखि गायन तथा नृत्य क्षेत्रमा क्रियाशील थिए।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा सहभागी भई थुप्रै सम्मान तथा अवार्ड प्राप्त गरेका बुढाथोकीले दर्जनौँ  नेपाली लोक तथा आधुनिक गीतहरूमा मोडलिङ गर्नुका साथै म्युजिक भिडियो निर्माण तथा निर्देशकको भूमिकाका देखिएका छन्। 

विभिन्न देशमा स्टेज कार्यक्रमहरूमा आफ्नो नृत्य प्रस्तुति गर्न सक्ने बुढाथोकी चलचित्र नृत्य सङ्घ, लोक दोहोरी प्रतिष्ठानमा समेत आबद्ध छन् । यस्तै काठमाडौंका विभिन्न विद्यालयहरूमा नृत्य शिक्षाको रूपमा कार्यरत उनले  यसै क्षेत्रबाट आफ्नो करिअरलाई उचाई दिने सोच बनाएको बताए।