ईभीको सम्भावनासँगै चुनौती


अघिल्लो साता राजधानीमा नाडा अटोमोबाइल्स प्रदर्शनी भयो। उक्त प्रदर्शनीमा भाग लिएका प्रायः सबै कम्पनीले विद्युतीय गाडीलाई समावेश गरे । दुई पाङ्ग्रेदेखि ठूला सवारीसाधनसमेत विद्युतीय ऊर्जाबाट चल्ने गर्दछन्। आयोजकका अनुसार सो नाडा अटो शोमा बुकिङ भएका गाडीमध्ये ७० प्रतिशतभन्दा बढी विद्युतीय गाडी रहेको जनाइएको छ।

अवलोकनकर्तादेखि खरिदकर्तासम्मलाई विद्युतीय गाडीले आकर्षित गरेको थियो । नाडा अटो शोमा मात्रै आकर्षण बढेको छैन, पछिल्ला केही वर्षदेखि नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोग ह्वात्तै बढेको छ। गत आर्थिक वर्षमा १० हजारभन्दा बढी ईभी गाडी भित्रिएको मोटामोटी तथ्यांक छ। बाटोमा हिँड्दा पनि हिजोआज ईभी छ्यापछ्याप्ती देखिन्छन् । यसले नेपालमा ईभी उल्लेखनीय वृद्धि भएको स्पष्ट गर्दछ। बैंक तथा वित्तीय संस्थाहरूले पनि ईभी गाडीमा विभिन्न स्किम ल्याएका छन् ।

पेट्रोलियम पदार्थबाट चल्ने गाडीको व्यापार खस्किँदै गएका बेला ईभी गाडीको व्यापार भने बढ्दै गएको छ। विश्वभरि नै हरित ऊर्जा र दिगो विकासको महत्व बढ्दै गर्दा नेपालमा पनि विद्युतीय सवारीसाधनको लोकप्रियता बढिरहेको छ। यसले नेपालको अर्थतन्त्र, वातावरण र समाजमा गहिरो प्रभाव पार्दै गएको देखिन्छ। नेपालले ठूलो मात्रामा पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ। विद्युतीय सवारीसाधनको प्रयोगले पेट्रोलियम पदार्थको आयातमा कमी ल्याउन मद्दत गर्दछ, जसले गर्दा नेपालको व्यापार घाटामा सुधार आउन सक्छ । पेट्रोलियम आयात घटेपछि विदेशी मुद्रा सञ्चितिमा सकारात्मक असर पर्न सक्छ, जुन नेपालको आर्थिक स्थायित्वका लागि महत्वपूर्ण छ।

त्यस्तै विद्युतीय सवारीसाधनले धुवाँ नफाल्ने भएकाले वातावरणीय प्रदूषण कम गर्न मद्दत गर्दछ । काठमाडौं उपत्यकाजस्ता ठूला शहरहरूमा वायु प्रदूषण एक ठूलो समस्या हो, यसलाई नियन्त्रण गर्न विद्युतीय सवारीसाधनले महत्वपूर्ण योगदान दिन सक्छ।

साथै, नेपालमा जलविद्युत्को प्रशस्त स्रोत रहेको हुँदा त्यसलाई विद्युतीय सवारीसाधनका लागि प्रयोग गरियो भने यो पूर्णरूपमा हरित र दिगो ऊर्जा प्रयोगको उदाहरण बन्न सक्छ। विद्युतीय सवारीसाधनको प्रयोगले नेपालको ऊर्जा सुरक्षामा पनि योगदान पुर्‍याउन सक्छ। जलविद्युत् उत्पादनमा भर पर्ने भएकाले विदेशी पेट्रोलियम पदार्थको आयातमा निर्भरता घटाउन सकिन्छ। यसले दीर्घकालीन ऊर्जा आत्मनिर्भरता र सुरक्षा गर्न मद्दत पुर्‍याउँछ। विद्युतीय सवारीसाधनहरूको विकास र व्यवस्थापनका लागि नयाँ उद्योगहरू खुल्ने सम्भावना छ । यसले रोजगारीको सिर्जना गर्छ र देशभित्रै औद्योगिकीकरण हुन सक्छ । विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेसनहरूको विकास, सवारीसाधन मर्मत–सम्भार र पार्टपुर्जाहरूको निर्माणले ठूलो रोजगारी सिर्जना गर्न सक्छ ।

यसो भन्दै गर्दा यसका चुनौती पनि प्रशस्तै छन्। सरकारले विद्युतीय सवारीसाधनको आयातमा कर छुटको व्यवस्था गरेको छ। यसले सवारीसाधनको लागत कम गर्न सहयोग गरेको भए पनि दीर्घकालीनरूपमा यसको प्रभावलाई सन्तुलनमा राख्न उचित नीतिहरू आवश्यक छ। विद्युतीय सवारीसाधनको संख्या बढ्दै गएपछि कर राजस्वको संरचना पुनरावलोकन हुँदै गएको छ। अझै कर वृद्धिका लागि सरकारमा लबिङ भइरहेको छ।

त्यस्तै चार्जिङ स्टेसनहरूको संख्या न्यून छ, प्रयोगकर्ताले ढुक्क भएर लामो दूरीमा यात्रा गर्न सकिरहेका छैनन् । ग्रामीण क्षेत्रमा विद्युतीय सवारीसाधनको पहुँच सीमित छ। साथै यसको बनावट नेपालको भूगोल सुहाउँदो देखिएको छैन। सात–आठ वर्षपछि ब्याट्रीमा गर्नुपर्ने ठूलो लगानीका कारण प्रयोगकर्तामा दबाब सिर्जना गर्छ। प्रारम्भिक लागत अन्य सवारीसाधनको तुलनामा उच्च रहेको स्थितिमा यसलाई समयानुकूल बनाउन जरुरी छ।