अपर मुस्ताङमा एक्लो


काठमाडौं ।

साइन्स फिक्सनमा आधारित रहेर निर्माणाधिन फिल्म एक्लोको अपर मुस्ताङमा करिब ४० लाखको सेट तयार गरेर छायांकन सुरू गरिएको छ।

राजधानीको भद्रकालीमा शुभ मुहूर्त गरेर ललितपुरको च्यासलमा केही दृश्य छायांकन गरी यसको निर्माण समूह मुस्ताङतिर लागेको थियो। फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी क्षितिजका अनुसार मुस्ताङमा ३० देखि ३५ दिनसम्म यसको छायांकन हुनेछ।

हाल अपर मुस्ताङको लोमान्थाङमा छायांकन भइरहेको फिल्म छुसेल, छुसाङ, कागवेनी, जोमसोमलगायतका स्थानमा पनि छयांकन गरिने छ। मुस्ताङपछि काठमाडौंमा छायांकन सेड्युल राखिएको छ।

प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिङ ठकुरी, त्रुचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री, विनोदकुमार सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ, स्योन सविक सिङ, बेलायती अभिनेता जेमी बेकनलगायतले अभिनय गर्ने फिल्म प्रदीप साहीले निर्देशन गरिरहेका छन्। कलाकार जेमी बेकम यो फिल्मको बेलायतको निर्माण साझेदारसमेत रहेका छन्।

राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा र बागवीर पुनको लगानीमा निर्माणाधिन फिल्ममा राजु तामाङको द्वन्द्व निर्देशन, राजु पेन्टरको सेट डिजाइनर, सन्तोष लामाको कला निर्देशन र बाबु श्रेष्ठको छायांकन रहेको छ।