मेला फ्रान्स र स्पेनको मन जित्यो नेपालको नृत्यले


काठमाडौं ।

विभिन्न देशमा पुगेर सांस्कृतिक आदान–प्रदान गर्दै नेपाललाई विश्वसामु परिचित गराउँदै आइरहेको एभरेष्ट नेपाल कल्चरल ग्रुप यस पटक फ्रान्स र स्पनेका विभिन्न शहरमा नेपालको गौरवमय सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेर फर्केको छ।

ग्रुपका कलाकारहरूले फ्रान्सको क्यासत्रेस, सैन्त गिरोन्स, सैन्त जुलिएन, विक सुर केरे र डक्स तथा स्पेनको लेस प्रेसेस र वार्सिलोनामा आयोजित अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपालको तर्फबाट शानदार प्रस्तुति प्रस्तुत गरेर विश्वका संस्कृतिप्रेमीहरूलाई मोहित तुल्याए।

फ्रान्स र स्पेनका विभिन्न शहरमा आयोजित अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपालसहित विश्वका ४५ देशका २ हजारभन्दा बढी कलाकार सहभागी थिए। मेला फ्रान्सका विभिन्न शहरमा अगस्ट ३ देखि १८ तारिकसम्म र स्पेनमा अगस्ट १९ देखि ३१ तारिकसम्म चलेको थियो।

एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख आरसी कोइराला ‘रामचन्द्र’ को नेतृत्व तथा निर्देशक सीतल आचार्य ‘सिता’ को निर्देशनमा सहभागी नेपाली टोलीका कलाकारलाई नृत्य निर्देशक जोगेन्द्र केसीले नृत्य निर्देशन गरेका थिए। सबै शहरमा आयोजित मेलामा नेपाली कलाकारको टोलीले नेपालको परम्परागत लोक संस्कृति झल्काउने नृत्य प्रस्तुत गरेको थियो। मेलामा नेपालको तर्फबाट झ्याउरे, तामाङ, मारुनि, थाली, सतार, धिमाल, शेब्रु, काल भैरब, वज्रपानी, लाखे, यती, सोरठीका साथै दर्जनौ नृत्यहरू प्रदर्शन गरिएको थियो।

मेलामा वाद्यवादक धनेश्वर तिवारी, गायक रामप्रसाद पाण्डे, सपना महर्जन, उत्तम शर्मा, प्रमिला रिजाल, सुदनमान मुनिकार, कृष्ण रसाल, चुडामणी फुया“ल, शर्मिला तमाङ, चाहना राना मगर, अनिशा श्रेष्ठ, रमेश प्रशाद पौडेल, डिपि कोइराला, ग्रुका प्रवक्ता प्रदीप तिमिल्सिना तथा बाल कलाकार सिराज कोइराला सहभागी थिए।

करिब एक महिनासम्म चलेको मेलामा विभिन्न देशबाट सहभागी ३ देखि ७० वर्षसम्मका कलाकारलाई नृत्य निर्देशक तथा नृत्य कलाकार जोगेन्द्र केसीले नेपाली नृत्य सिकाएका थिए। फ्रान्सको डक्स शहरमा सम्पन्न सांस्कृतिक झाँकीमा ४० हजारभन्दा बढी दर्शकले नेपालको झाँकीलाई उत्कृष्ट भनेका थिए र झांकीमा यती र लाखेसँग तस्विर लिन तछाड मछाड नै चलेको गु्रपका अध्यक्ष कोइरालाले जानकारी गराए।

सो अवसरमा ग्रुपका निर्देशक सितल आचार्यले दुवै देशका सम्बन्धित नगरपालिका प्रमुख, सहभागी तथा आयोजकलाई भेटी नेपालमा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न सकिनेबारे जानकारी गराएका थिए। ग्रुपका अध्यक्ष रामचन्द्रले नेपालीको प्रतिनिधित्व गर्दै नेपाली संस्कृतिमार्फत विश्वभर राजदूतको काम गर्ने कलाकार तथा संस्थालाई राज्यले बेवस्ता गरेकोमा दुःख व्यक्त गरे।

‘कतिपय राष्ट्रका नागरिकलाई नेपाल कहाँ पर्छ, सगरमाथा (एभरेष्ट) को नाम सुनेका छन् तर कहाँ छ थाहा छैन, गौतम बुद्ध कहाँ जन्मेका हुन् भन्नेसम्म थाहा छैन। नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै नेपाली संस्कृतिमार्फत विश्वभर राजदूतको काम गर्ने कलाकार तथा संस्थालाई राज्यले बेवस्ता गर्दा दुःख लाग्छ। कला संस्कृतिको प्रवर्द्धन तथा सम्वर्द्धन गर्ने कलाकार राष्ट्रको सम्पत्ति हुन भन्ने कुरा राज्यले बुझ्नु जरुर छ’ कोइराला भन्छन्।