पुतलीबजारमा नगरस्तरीय तीज गीत प्रतियोगिता


स्याङ्जा ।

हरितालिका तीजको अवसर पारेर पुतलीबजार नगरपालिकाले नगरस्तरीय तीज गीत प्रतियोगिता गरेको छ। प्रतियोगितामा दुर्गानगर आमा समूह प्रथम, महिला सञ्जाल वडा नं. १ द्वितीय, एकता बुहारी समूह तृतीय र अन्नपूर्ण आमा समूह सान्त्वना भएका छन्।

विजयी प्रतियोगीलाई संघीय सांसद राजु थापा र नगर उपप्रमुख देवी अर्यालले नगदसहित प्रमाणपत्र प्रदान गरेका थिए। प्रतियोगितामा नगरपालिकाका २९ वटा समूह सहभागी थिए।

यसै गरी जिल्लाको गल्याङ नगरपालिका ३ मुड्किलामा रेड पिपर पार्टी प्यालेसद्वारा आयोजित गल्याङ नगरस्तरीय तीज गीत प्रतियोगितामा सामुदायिक महिला समूह गल्याङ नगरपालिका ४ ले प्रथम स्थान हासिल गरेको छ भने फेर्च नमखान महिला समूह भाटी ११ ले दोस्रो स्थान हासिल गरेको छ।

गल्याङ नगरपालिका ३ आधिखोला आमा समूहले तृतीय स्थान हासिल गरेको छ। प्रतियोगितामा १२ समूहको सहभागिता रहेको थियो।