तीजको मौलिक–सांस्कृतिक प्रवर्द्धनमा हाम्रो भूमिका

1.32k
Shares

नेपाल विविध सांस्कृतिक पर्वहरुको देश हो। विविधतामा एकता नेपालको विषेशता मानिन्छ । विभिन्न पर्वहरुमध्ये हरितालिका तीज पनि एक हो। नेपाली महिलाहरुको महान् चाडको रुपमा मनाइने यो पर्वको निकै ठूलो धार्मिक, सांस्कृतिक महत्व छ। यो पर्वको मौलिकता बचाउनु आजको आवश्यकता देखिन थालेको छ।

बचपनदेखि हालसम्म आइपुग्दा यो पर्वको विविध अनुभव र अनुभूति प्राप्त भएको छ । आज पनि त्यो तीज र पञ्चमीको याद आउँछ । तीजको दिन नदी वा खोलामा गएर नुहाई, शुद्ध भई, साँझमा पातीको गौरा (पार्वती) बनाई पूजा–आराधना सबैले गरिन्थ्यो। रातभरि भजन–कीर्तन गरिन्थ्यो । पञ्चमीमा आमाहरु पुजा बसेको ठाउँमा टीका लगाई प्राप्त हुने पाँच, दश र पच्चीस पैसाको कति महत्व थियो । त्यो बेलाको तीजको मज्जा नै बेग्लै थियो ।

हरितालिका तीज आफ्नो सौभाग्य र समृद्धिका निम्ति धार्मिक परम्पराअनुसार शिवपार्वतीको उपासना, पूजा र आराधना गर्दै हरेक वर्ष भाद्र शुक्ल तृतीयाको दिन मनाइन्छ। राज्य व्यवस्था, नागरिक स्वतन्त्रता, नागरिकको चेतना स्तर, सामाजिकीकरणमा आएको व्यापकताले तीज उत्सव मनाउने प्रचलन घर–परिवारमा मात्र सीमित देखिँदैन। यो एउटा सम्बन्ध विस्तारको अवसर पनि हो । पर्वको मौलिक, सांस्कृतिक पक्षलाई बेवास्ता गरेर तडकभडक गरी गहना–कपडाको बढी प्रतिस्पर्धा हुँदै जाँदा यो पर्व विकृत भयो भन्ने आलोचना पनि सुनिदै छ । यो राम्रो हुँदै होइन।

पर्व संस्कार–संस्कृति सबैका साझा हुन्। सबैले उल्लासमयरुपमा मनाउनुपर्दछ । सामाजिक, सांस्कृतिक, आर्थिक, भावनात्मकरुपमा विचलन ल्याउने गरी प्रदर्शन हुनु पनि हुँदैन। हुनेखाने र हुँदा खानेबीचको खाडल गहिरो बन्ने गरी क्रियाकलाप गर्नुहुँदैन । तीज पर्वसँग जोडिएका विभिन्न आयामहरु छन्। सामाजिक, सांस्कृतिक, धार्मिक, पौराणिक, भावनात्मकजस्ता आयाममा तीज जोडिएको छ । सबै आयामको आ–आफ्नै महत्व पनि छ।

समाजिक सद्भाव : सामूहिकतामा रमाउने, घर–परिवार, साथीसंगी जम्मा भएर सृजनात्मक एवं चेतनामूलक गीत गाउने, सामाजिक सद्भाव कायम गर्ने कुरामा तीज पर्व महत्वपूर्ण मानिन्छ । अहिले विभिन्न समूह, संघसंस्थालगायत विभिन्न कार्यालयले कामकाजी दिदीबहिनीहरुका लागि तीज मिलन कार्यक्रम आयोजना गरी तीजको मौलिकता प्रवद्र्धनमा सचेतसमेत गर्न थालेका छन् । यसले पर्वको मूल्य–मान्यता जोगाई सामाजिक अभिवृद्धिमा राम्रो भूमिका खेल्ने हुन्छ । तर पर्वको नाममा विकृति बढ्दै जानु भने कदापि राम्रो होइन । धार्मिक, सामाजिक, सांस्कृतिक महत्व बोकेको तीजको मौलिकतालाई बुद्धिजीवी वर्ग, सचेत नागरिकहरुले समृद्ध र परिमार्जित गर्दै जानुपर्दछ ।

धार्मिकता : तीज मुख्यतया देवी पार्वतीको तप, ध्यान, समर्पण र प्राप्तिमा समर्पित छ । भगवान् शिवसँग उनको मिलन भएको सन्दर्भमा नेपाली हिन्दु नारीले यो पर्व उल्लासका साथ मनाउँछन् । यो महिलाहरूले आफ्नो पतिको मात्र नभई आफू, आफ्नो परिवारको दीर्घायु र समृद्धिको लागि गरिनुपर्दछ । तीजका दिन शिव–पार्वतीको विषेश पूजा गरिन्छ । देशका विभिन्न स्थानमा रहेका शिव मन्दिरहरुमा दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ । हिन्दु धर्म–संस्कृति अपनाउने नेपाली महिलाहरुले तीज पर्व मनाउन पाउनु नै गर्वको विषय हो । यो तीजमा विवाहिता छोरीहरुले माइतीघर गई दुःख–सुख साट्ने, मीठोमसिनो खाने परम्परा थियो र छ पनि।

व्रत र अनुष्ठान : महिलाहरूले प्रायः तीजको समयमा उपवास बस्छन्, जुन धेरै कठोर हुन सक्छ । तिनीहरू खाना र पानीबाट टाढा रहन सक्छन् वा केवल फलफूलमा आफ्नो आहार सीमित गर्न सक्छन् । यो व्रतलाई आफूलाई शुद्ध पार्ने र भक्ति देखाउने माध्यमको रूपमा लिइन्छ । व्रत तथा उपवास बस्दा आफ्नो स्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी गरौँ । सकारात्मक सोच, असल कर्म गरी परिवार, समाज र राष्ट्र कल्याणको कामना गर्दै उल्लासका साथ व्रत तथा अनुष्ठान बस्ने गरौँ ।

परम्परागत पोशाक : तीजमा महिलाहरू जीवन्त रातो साडी वा परम्परागत पोशाकहरूमा सजिन्छन् । मन तथा तनमा सकारात्मक ऊर्जा ल्याउने उज्याला रंगका पोशाकहरू पनि तीज उत्सवको महत्वपूर्ण भाग हुन् । तपाईं कति महँगा पहिरनले सजिनुभएको छ भन्दा पनि तपाईं कति योग्यता, क्षमता, दक्षता र कार्यकुशलताले सुसज्जित हुनुहन्छ ? त्यो नै तपाईंको उत्तम पहिचान हो । देखासिकी र होडबाजीमा नलागौँ । शास्त्रमा नयाँ नै वस्त्र हुनुपर्छ भनेको छैन, त्यसैले समूहपिच्छे एकनासका साडी हरेक वर्ष किन्नुपर्छ भन्ने कहीँ कतै उल्लेख छैन । शुद्ध र चोखा वस्त्र भए हुन्छ । संस्कार–संस्कृति झल्काई पर्व मनाउन सकिन्छ ।

गीत र नृत्य : तीजलाई परम्परागत गीत र नृत्यहरूसहित जीवन्त उत्सवहरूद्वारा चिन्ने गरिन्छ । महिलाहरू लोकगीतहरू गाउन र परम्परागत नृत्यहरू प्रदर्शन गर्न भेला हुन्छन् । यस बेला प्रायः तालबद्ध ताली र ढोल बजाउने गरिन्छ । पछिल्लो समयमा तीजका गीतमा मौलिकता हराउँदै गएको अनुभूत हुन थालेको छ । रचनात्मक, सृजनात्मक नारी चेतनाका गीतहरु गाई राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका लागि सबै तहका महिलाहरुले सशक्त आवाज उठाउन आवश्यक छ।

पारिवारिक जमघट : चाडपर्व भनेको महिलाहरू परिवार र साथीभाइसँग भेला हुने समय हो। ठूला जमघटमा महिलाहरूले चाडपर्वको खाना खाने, कथा सुनाउने र विभिन्न सांस्कृतिक गतिविधिमा भाग लिने गरेको पाइन्छ। पारिवारिक सम्बन्ध बलियो पार्ने, सद्भाव कायम राख्दै माया–ममता दर्शाउने, भावनात्मक सम्बन्ध सुढृड गर्ने अवसरका रुपमा तीजलाई लिनु राम्रो पक्ष हो ।
यसरी पौराणिक कालदेखि चलिआएको परम्परा तीज पर्वका विविध आयामहरुलाई मध्यनजर गरी तीज पर्वको मौलिक तथा सांस्कृतिक पनलाई जोगाइराख्नुपर्दछ। यसमा हरेक क्षेत्रका सचेत वर्ग चनाखो हुनुपर्दछ।

धार्मिक, सांस्कृतिक आस्थाका केन्द्र हाम्रा संस्कार, संस्कृति, परम्परालाई मर्यादित बनाएर सामाजिक, धार्मिक मूल्य–मान्यताहरुको प्रवद्र्धन गरी, मौलिकता जोगाउने गरी पर्वलाई उल्लासमय बनाऔँ । सम्पूर्णमा तीज तथा पञ्चमी व्रतले तनमन स्वस्थ र जीवन मस्त बनोस् । सबैमा शुभकामना !
(लेखक धिताल लोकसेवा आयोगको पुस्तकालय अधिकृत हुनुहुन्छ ।)