स्याबास सरकार !


पारा खेलाडी पलेशा गोवर्धन नेपालको लागि इतिहास बनाउने पहिलो खेलाडी बनेकी छिन्। उनले नेपालको लागि कास्य ओलम्पिक पदक भित्र्याएछि उनको नाम विश्वमै चुलिएको छ। उनलाई हौसला दिन सरकारले ६५ लाख रुपियाँ दिने तयारी गरेको छ।

विश्वस्तरको खेलकुदमा स्वर्ण, रजत र कास्य पदक पाउने खेलाडीलाई नगद पुरस्कार दिने कानुन बनेको छ । सोही आधारमा उनले ६५ लाख रुपियाँ पाउने भएकी हुन् । पलेशाको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कारको रकममा कर नकाट्ने घोषणा गरेका छन्। यसले उनको करिब साढे ८ लाख रुपियाँ जोगिएको छ। त्यसको लागि सरकारलाई धन्यवाद दिनै पर्छ। उनीसँग भेट गर्दै प्रम ओलीले चाँडै पुरस्कार दिने बताएका थिए।

खासै तामझाम नगरी पारा तेक्वान्दोको ओलम्पिकमा सहभागी पलेशाले कास्यपदक पाएपछि नेपालको इतिहासमा पदक पाउनेको दर्जमा पहिलो नाम लेखिएको छ। पारा ओलम्पिक अपांगता भएका खेलाडीहरूको विश्वस्तरीय खेलकुद प्रतियोगिता हो। पलेशाले पदक पाएपछि देशभर खुशीयाली छाएको छ। उनले कास्यपदक दिलाएपछि उनको भव्य स्वागत गरिएको छ। उनलाई विमानस्थलदेखि शहर परिक्रमा गराइएको थियो। त्यस बेला उनले यो पदक सबै नेपालीको भएको बताएकी थिइन्। उनले महिलातर्फको ५७ केजीमुनिको प्रतियोगितामा कास्यपदक हात पारेकी हुन्। पलेशालाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले विमानस्थलमै स्वागत गरेका थिए।

पलेशाको विजय निश्चय पनि राष्ट्रिय हर्ष र गौरवको विषय हो । पलेशाले भनेजस्तै यो सफलताको अपनत्व सबै नेपालीले लिन सक्छन्। राज्यको साथ र सहयोग पाउने हो भने अझै अगाडि बढ्ने उनको सपना पनि पक्कै पूरा हुनेछ। उनको जीतमा प्रशिक्षकको पनि ठूलो हात रहेको छ । खेलाडीलाई मात्र होइन, प्रशिक्षकलाई समेत राज्यले सम्मान गर्नुपर्ने आवाज उठ्न थालेको छ। हुन त राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री केपी ओली, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, काठमाडौं महानगरपालिका लगायतका निकायले उनको सम्मान गरिसकेका छन्। काठमाडौं महानगरपालिकाले ५ लाख नगद दिएर सम्मान गरेको छ।

नेपालको लागि पहिलो पदक दिलाउने पलेशाले पदक पाएको विषयलाई सरकारले गम्भीररुपमा हेर्नुपर्छ । अर्थात् उनीजस्तै अन्य खेलाडीलाई खेलकुदमा अवसर दिनुपर्छ । उनी त एक अपांगता भएकी खेलाडी हुन् । सरकारले अपांगले पनि खेलकुदमा सफलता हासिल गर्न सक्छ भन्ने हेक्का राख्नुपर्छ। पलेशाजस्ता धेरै खेलाडीको सम्मान गर्नुपर्छ। अपांगताका भएका व्यक्तिहरूलाई समान अवसर उपलब्ध गराउन कन्जुस्याइँ गर्नुहुँदैन। अपांगता भएकाहरु पनि नेपाली नागरिक नै हुन् भन्ने भावना देखाउनु सरकारको कर्तव्य हो। तर हालसम्म सरकारले अपांगता भएका नागरिकको बारेमा खासै चासो देखाएको छैन।

पलेशाले नेपालको लागि विश्वस्तरको पहिलो पदक दिलाएपछि सरकारले अपांगता भएका नागरिकको लागि अवसर दिनुपर्छ भन्ने भावना बढाउनुपर्छ। त्यसो भए मात्र पलेसाजस्ता खेलाडीको उचित सम्मान हुन सक्छ।