जनस्वास्थ्यका सवालमा कानुन नमिचियोस्


मानव स्वास्थ्यको ठूलो शत्रु अर्थात् हानिकारक पदार्थको कानुन बनाएर कार्यान्वयन गर्नेतर्फ सरकारले ध्यान नदिएकै कारण सुर्तीजन्य पदार्थ उत्पादक कम्पनीहरुले कानुनको बर्खिलाप गरिरहेका छन्। यति बेला साहित्यकारहरु एवं सरकारका उच्च पदस्थ पदमा आसीन व्यक्तित्वहरुले सुर्ती उत्पादकलाई साथ दिनु दुर्भाग्यपूर्ण विषय हो।

यस्ता विषयमा सरकारले टुलुटुलु हेरेर समर्थन गर्नु भनेको सरकार नै कानुनको बर्खिलापमा हुनु हो । साहित्य केन्द्रित कार्यक्रम भनेर सात महिनाअगाडि पोखरामा गरिएको नेपाल लिटरेचर फेस्टिवल र काठमाडौँमा गरिन लागेको कलिंगा लिटेररी फेस्टिवलका आयोजक एउटै हुन्। यस्ता कार्यक्रममा जनस्वास्थ्यलाई गम्भीर हानि पुर्‍याउने सुर्तीजन्य पदार्थ उत्पादक कम्पनीको प्रमोसनका लागि स्पोन्सर बनाउनु आपत्तिजनक विषय हो। यस्ता विषयलाई निरुत्साहित गर्न सरकारले कानुनको पालन गर्ने र गराउनेतर्फ समयमै सचेत हुनुपर्ने देखिन्छ ।

सुर्तीजन्य पदार्थविरुद्धको अभियानमा सक्रिय संस्था एक्सन नेपालले कलिंगा लिटरेरी फेस्टिवलमा नेपाली साहित्यकार, पत्रकार, बुद्धिजीवी, उच्च पदस्थ व्यक्तिहरुलाई नजान र कानुनको पूर्णरुपमा पालना गरी कानुनी राज्य स्थापित गर्दै नेपाल र नेपालीलाई नीति–नियममा बाँध्न आग्रह गरेको छ। एक्सन नेपालले विज्ञप्ति नै जारी गरी भनेको छ, ‘हजारौँ मानिसको ज्यान बचाउने उद्देश्यले ल्याइएको सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने कानुनको कार्यान्वयनमा सरकार कमजोर देखिएको छ। यिनै कमजोरीलाई पछ्याई सुर्ती उद्योगहरुलाई आफ्ना गतिविधिलाई तीव्र बनाउन थप मद्दत पुगेको छ।’

कलिंगा लिटेररी फेस्टिवललाई सूर्य नेपालको प्रायोजकत्व गरी आफ्नो वैधानिकतालाई छाप लागाउने रणनीतिले प्रेरित गरेको स्पष्ट देखिन्छ । सुर्ती उत्पादकको ब्यानरमुनि बसेर वा बसाएर साहित्यका बहुआयामिक विषयमा छलफल गराउनु वा गरिनुहुन्न। राजनीति डगमगाउँदा देश र बृहत्तर लोककल्याणका लागि कलम र आवाज उठाउने साहित्यकारलाई काठमाडौँ कलिंगा लिटेररी फेस्टिवलका आयोजकले जनस्वास्थ्यमा गम्भीर हानि पुर्‍याउने सुर्तीजन्य पदार्थका उत्पादकसामु घुँडा टेकाउँदै छन्। यसतर्फ सबै पक्ष चनाखो हुनु जरुरी छ।

देशका नागरिक, चिकित्सक, पत्रकार, सामाजिक संस्था र विभिन्न सरोकारवालाहरुको ठूलो दबाबपछि बनेको कानुनको मजाक हुने गरी र आफ्नो सामाजिक उत्तरदायित्वको समेत परवाह नगरी सुर्तीजन्य पदार्थ उत्पादकको प्रचारका लागि लोगोसहित कार्यक्रम गरिनु हास्यास्पद हुनेछ । यस्तो सुर्ती उद्योगको ब्यानरमुनि कुनै कार्यक्रम आयोजना नगर्न र त्यसमा सामेल नहुनसमेत आयोजक तथा सार्वजनिक निकायका व्यक्तित्व, लेखक, पत्रकार र सरोकारवालाको ध्यानाकर्षण गराइएको छ । यस विषयमा सरकारको ध्यान पुग्नु जरुरी छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार सुर्तीजन्य पदार्थको सेवनबाट विश्वमा हरेक वर्ष ८० लाखभन्दा बढी व्यक्तिहरुको ज्यान जाने गरेको छ। नेपालमा मात्रै यसको प्रयोगका कारण बर्सेनि ३७ हजार बढी मानिसले ज्यान गुमाउने गरेका छन्। नेपालमा पनि सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने कानुन र नियमावली तथा निर्देशिकाले यस्तो कार्य गर्न प्रतिबन्ध गरेको छ। नेपालको कमजोर राजनीतिको फाइदा उठाउँदै कानुन विपरीत कार्य गर्न सक्रिय सूर्य नेपालले पटक–पटक यस्ता कार्यक्रममा आर्थिक सहयोग गर्दै नेपाली युवा तथा विद्वत् वर्गलाई कुलतको सिकार मात्र बनाएको छैन कानुनको बर्खिलाप गरिरहेको छ।

कानुनको उल्लंघन हुने काम गर्ने/गराउने दुवै पक्ष दोषी हुन्छन्। कानुनको पालना गर्ने/गराउने निकाय सरकारसमेत यसको जवाफदेही हुनुपर्छ। त्यसैले सरकारले यस्ता कानुन विपरीतका काम कसैले गर्दै छ भने समयमै रोक लगाई कानुनी कारबाही गरोस्।