जे होस्, तीज त गाउँमै रमाइलो

1.32k
Shares

विशेष गरी हरितालिका तीज भाद्र शुक्ल तृतियाका दिनमा पर्ने चाड हो । तर पनि द्वितीयादेखि पञ्चमीसम्म नै चल्ने पर्वका रुपमा लिइन्छ तीजलाई । हिन्दु नारीहरुले वर्षदिनभरि दुःख गरेर एकदिन गीतको माध्यमबाट दुखेसो पोख्दै नाचगान गरी मनाइने पर्वको रुपमा समेत तीजलाई लिइन्छ ।

तीज अर्थात् तृतियाका दिन भगवान् शिवको पूजा–आराधना, उपासना गरेर पानी पनि नखाई व्रत बस्ने चलन छ । यो व्रत श्रीमान्को आयु र सुख–शान्ति प्राप्त होस् भनेर लिने धार्मिक विश्वास पनि छ । तर हिजोआज मौलिकता हराएको भनौँ वा फेसन भनौँ, एक महिनाअघिदेखि तीज आयो भन्दै दर खाने प्रवृत्ति बढ्दो छ । तीजको दिनचाहिँ भोकै बस्न कहाँ सकिन्छ, आफ्नो शरीर मारेर व्रत बस्नुहुँदैन भनेर पानीको त कुरा छोडौँ, फलफूल, खाना नै खाने चलन पनि बढ्दो छ ।

विशेष गरेर माइतीले बोलाएर माइतीघरमा खाएको दर अति नै मीठो र स्वादिष्ट हुन्छ, चाहे त्यो सुदामाले कृष्णलाई ल्याइदिएको कनिकाजस्तै किन नहोस्, अझै मेरी आमाले पकाएको खिर र ढकनीको त कुरै नगरौँ । जे भए पनि तीजचाहिँ गाउँमै रमाइलो । हामी सानो छँदा भाले नबास्दै आमाले खिर, अचार, दही, मिठाईको दर खाओ भन्दै खान दिएको अनि वरिपरि दिदीबहिनी टुकी वा लालटिनको धिपधिप बत्तीको उज्यालोमा बसेर खाएको पो दरजस्तो लाग्छ ।

अझै पल्लो घरमा दर खान उठे कि उठेनन् भनेर बत्तीको उज्यालो हेर्ने पनि गरिन्थ्यो । उज्यालो देखेपछि त्याहाँ पनि दर खान लागेछन् भन्थौँ । भोलिपल्ट बिहानै खोलामा नुहाउन जाँदा दर खाएका कुरा गरी–गरी हाँस्थ्यौँ । पल्ला घरकी आमा अहिले गाउँ शून्य पारेर जानुभयो । खोलामा डुबुल्की मार्दा केटाकेटी हो तिमीहरु पानी नखाई व्रत बस्न सक्दैनौ, मुख धोएजसरी पानी खाओ है भन्नुहुन्थ्यो ।

त्यस्तै छिमेकी साहिँली दिदी, माहिली दिदी, कान्छी दिदीहरु आएपछि मात्र तीज आयोजस्तो लाग्थ्यो । अनि गाउँघरका आमा, दिदी, बहिनी, साथीसंगी लुगा पोको पार्दै, बिहानै कोइलीसँगै सुसेली हाल्दै, रातुखोलामा डुबुल्की माथ्र्यौं । त्यसपछि महादेवको मन्दिरमा पालभित्र ‘तीजको रहर आयो बरी लै, तीजको रहर आयो बरी लै’ भन्दै आमा, भाउजूहरुले मनका बह बिसाउने गरी तीजका भाकामा मादल ठोकेर गीत गाउँथे ।

कर्करे सासू र नन्दले गरेका बुहार्तन गीतैगीतमा दोहोरीमै चलाउँथे । त्यही सुरमा नाचिन्थ्यो पनि । कति रमाइलो थियो त्यति बेलाको तीज । खोइ कहाँ गयो त्यो तीज ?

अहिले त तीजको नाममा उच्छृङ्खल, तडकभडक, देखासिकी देखिन्छ । अझै रक्सीमा झुमेर जिब्रो लरबराउँदै अरु बेला सुकेका रेस्टुरेन्ट वा पार्टी प्यालेसमा महिलाहरु भरिभराउ हुन्छन् र डिस्को नाच नाच्छन् । हुनेखानेको तीजको दरले गर्दा गरिबीको चपेटामा छटपटिएका महिलाहरुले अर्काको देखासिकी गर्दा व्यापारीहरु मोटाउने मौका पनि प्रशस्तै दिएका छन् ।


पहिला–पहिला गाउँघरतिर बिहे गरेर गएकी छोरीलाई लिन दाजुभाइ, दाजुभाइ नभए बूढा बुबा अथवा अन्य छिमेकी दाजुभाइलाई भए पनि पठाउनै पथ्र्याे । तीजमा माइती लिन नगए घरकाले मात्र होइन छिमेकीले पनि हेप्थे । अरुका छोरी आउँदा गाउँघरका आमा–बुबा पनि आफ्ना छोरीचेली पनि आउँछन् कि भनेर आँखाका डिलमा आँसु टलपल पारेर बाटो हेरिरहन्थे । अहिले यो मोबाइल भन्ने चिजले संस्कारै हराइदियो । मोबाइलबाटै तीजको निमन्त्रणा भनेर बोलाउने, नआए सक्नेले अनलाइनबाटै अर्डर गरेर दर पठाउने, कि दर किनेर खानू भनी मोबाइलमै पैसा पठाउने चलन आइसक्यो । यसले गर्दा आउने पिँढीमा तीज भनेको कस्तो हुन्छ भन्लान् भन्ने पनि लागेको छ ।

बूढी आमा, भदाभदै, साथीसंगी तीजमा आउनु है भनेर फोन गर्छन् । अहिले न त दाउरा–घाँसमा जानुपर्ने, न तँ गाईभैँसी चराउन, यस अवस्थामा माइती जान कसलाई रहर नहुँदो हो । टाढाको माइती के गर्नु ‘भदौरे भेलले सकेन छेक्न जन्मेको माटोमा चेलीलाई टेक्न’ भनेजस्तो गाडीमा जाऊँ पहिरोले ठेलेर सिंगै बगाउला भन्ने पिर, हवाईजहाजमा जाउँ आकाशबाटै मृत्युलोकमा पुर्‍याउला भन्ने पिर ।

ती वरपीपल, ती पाटीपौवा, त्यो बडहरी खोलाले तीजमा आउँछे कि भनेर चराचुरुङ्गीसँग कुरा गर्दै आउने बाटोमा आँखा बिछ्याइरहेका थिए होलान् । यसपालिको तीजमा खुट्टामा बेडी लाउनुपर्‍यो । ‘माइती घर जान मन थ्यो, तीजको दर खान मन थ्यो’ भन्दै तल–माथि, बाहिर–भित्र गर्नुपर्‍या छ।

महिलाहरुको महान् चाड तीजमा विशेष गरी पुरुषहरुको घुइँचो बढ्न थालेको छ । अझै भन्नुपर्दा संघसंस्था, सरोकारवाला, निजामती सेवामा महिलाहरूभन्दा पुरुषको लर्को देख्दा अब आउने तीजमा महिलाले मात्र होइन पुरुषले पनि तीज व्रत बस्दा हुन्छजस्तो लाग्छ । अझै भन्नुपर्दा निजामती सेवामा तीजको दरको कार्यक्रममा प्रधानमन्त्री पो उद्घाटन गर्न पुग्छन् । यस्ता विकृतिलाई अब आउने तीजमा रोक्नुपर्छ । जे होस्, ‘ल्हासामा सुन छ कान बुच्चै’ भनेझैँ तीजमा माइतीघरमा दर खाने रहरलाई बिट मार्दै, ‘ह्यापी तीज, सेम टु यु’ भन्दै शहर कोलाहलमा जति उफ्रे पनि तीज त गाउँमै रमाइलो ।