मुख्य सचिव अर्याल, चन्द्रघण्टी र कीर्तिमानको अपेक्षा

2.16k
Shares

नेपालको पहिलो मुख्य सचिव बन्ने शौभाग्य पाएका चन्द्रबहादुर थापालाई अहिले पनि निजामती प्रशासनमा सम्झिने गरिन्छ। तर पहिलो मुख्य सचिव भएर होइन कि उनको कार्यले । उनी मुख्य सचिव भएपछि उनी सिंहदरबारभित्र कडा अनुशासन कायम गराउन सफल भएका थिए।

सरकारी समय १० बजेभित्र सबै कर्मचारीलाई अनिवार्यरुपमा सिंहदरबारका मन्त्रालयमा आएर काममा खट्न उनले विशेष उर्दी मात्रै जारी गरेनन् कि कार्यान्वयन गराएरै छोडे । समयमा नआउनेहरुलाई कडा कारबाही गरेर उनले आफ्नो नियमलाई स्थापित गराउन सफल भए । त्यसैले अहिले पनि उनको सो कार्यलाई चन्द्रघण्टी भनेर कर्मचारी वृत्तमा स्मरण गर्ने गरिन्छ । यो अनुशासन र जिम्मेवारीको विषय थियो । उनले कर्मचारीलाई अनुशासनमा राख्न सके र सफल मुख्य सचिवको रुपमा दर्ज भए ।

पहिलो मुख्य सचिव र उनको चन्द्रघण्टीलाई स्मरण गरिरहँदा हालै मात्र २८ औँ मुख्य सचिवको रुपमा गृहसचिव एकनारायण अर्याल नियुक्त भएर कार्यभार सम्हालिसकेका छन् । निजामती प्रशासन झन्डै–झन्डै कोमामा पुग्न लागिसकेको अवस्थामा त्यही प्रशासनको सर्वोच्च कमान्डरको रुपमा आएका अर्यालले कोमामा पुग्न लागेको कर्मचारीतन्त्रलाई सञ्जीवनी बुटी खुवाएर तङ्ग्य्राउन सक्लान् कि नसक्लान् ? यो त आगामी दिनमा उनले अख्तियार गर्ने कार्यनीति, रणनीति र व्यवहारले देखिँदै जाने नै छ । तर अहिले आम कर्मचारी र उनका शुभचिन्तकहरुमा भने एउटा आशा र भरोसा पक्कै पलाएको छ । त्यो हो– मुख्य सचिव अर्यालले निजामती प्रशासनलाई एउटा व्यवस्थित प्रणालीमा हिँडाएर आम कर्मचारीलाई कुशल अभिभावकत्व दिने छन् ।

सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने छन् । कर्मचारीतन्त्रभित्र उचित पुरस्कार र दण्डको व्यवस्था गर्ने छन्। सबै पक्षसँग सहअस्तित्वका साथ उचित समन्वय गर्ने छन् । टिमवर्कमा काम गर्ने छन् । कसैलाई काखा, कसैलाई पाखा गर्ने छैनन् । प्रशासनमा चरम राजनीतीकरण हुन दिने छैनन् । प्रशासन र राजनीतिमा नै सदाचारिता र इमानदारिता कायम गराउने छन् । सुशासन कायम गर्ने विषयलाई प्रमुखरुपमा ध्यान दिने छन्। वर्षौंदेखि आउन नसकेको संघीय निजामती सेवा ऐन ल्याउने छन् । प्रशासनलाई तङ्ग्य्राएर जनप्रेमी बनाउने छन्।

विद्युतीय शासन प्रवद्र्धनमा ध्यान दिने छन् । राइट म्यान इन राइट प्लेसलाई ध्यान दिने छन् । चाकडी प्रथा रोक्ने छन् । योग्यता र क्षमताको कदर गर्ने छन् । प्रशासनलाई नतिजामुखी बनाउने छन् । आम कर्मचारीको क्षमता विकासमा ध्यान दिने छन्। अनुमानयोग्य सरुवामा ध्यान दिने छन् । राजनीतिक नेतृत्वको एस म्यान बन्ने छैनन् । प्रशासनमा हुने राजनीतिक हस्तक्षेपविरुद्ध सालीन र सभ्य मुकाबिला गर्ने छन् । सिंगो प्रशासनको मोरल उच्च बनाउने छन् । सबैले आशा गरेअनुसार उनले सुधारका यस्ता दर्जनौँ योजनाहरु बुन्न र त्यसलाई कार्यान्वयन गर्न अत्यावश्यक छ ।

उनीप्रति आशा र भरोसा जति छ, कतै काम गर्न सक्दैनन कि भन्ने चिन्ता र चासो पनि त्यत्तिकै छ । कतै उनले पनि विगतकै मुख्य सचिवजस्तै ‘आयाराम गयाराम’ बन्ने र प्रशासनलाई कोमामा नै जान दिने त होइनन् ?’ भन्ने शुभचिन्तक र आम कर्मचारीको चिन्ताप्रति नवनियुक्त मु्ख्य सचिव अर्याल घोत्लिन जरुरी छ । यसअघि बनेका २७ जना मुख्य सचिवमध्ये आजसम्म सम्झनलायक काम गर्नेहरुको सूची हेर्ने हो भने औँलामा गन्ने खालका छन् । धेरै मुख्य सचिवहरु गुमनाम भए र हुँदै आए । किनकि उनीहरु अधिकांश आयाराम गयाराममा नै सीमित भए। निजामती प्रशासनको सर्वोच्च पदमा रहेर नमुनायोग्य काम गर्न सकेनन् । उल्टो निजामती प्रशासनलाई सर्वाधिक कमजोर, निम्सरो, जुम्सो र फकलट्ठुजस्तै बनाइदिए।

चौथो नम्बरमा रहेर पनि मुख्य सचिव बन्ने दुर्लभ अवसर पाएको अवस्थालाई उनले आफ्नो काँधमा ठूलो जिम्मेवारी आएको अर्थमा लिनुपर्छ । सरकारले उत्कृष्ट कार्यसम्पादनको आधारमा मुख्य सचिव बनाएको भन्ने विषयलाई उनले आगामी दिनमा कामले प्रमाणित गरेर देखाउनुपर्ने भएको छ । यसै गरी वरिष्ठलाई मुख्य सचिव नबनाएको भनेर आएका केही सानातिना गुनासालाई खण्डित गर्न पनि उनले प्रभावकारीरुपमा काम गरेर देखाउनु अत्यावश्यक छ।

आज नेपाली कर्मचारीतन्त्र जुन रुपमा अकर्मण्यताको सिकार हुँदै आइरहेको छ, त्यसको पहिलो दोष यसअघिका मुख्य सचिवहरुलाई नै जान्छ । यद्यपि राजनीतिक नेतृत्व कुन रुपमा दोषी छन् ? त्यो छुटै विश्लेषणको विषय हो। तर आफू मुख्य अभिभावकको रुपमा आउने अनि निजामती प्रशासन संक्रामक रोगले ग्रसित हुँदा आफ्नो पद मात्रै जोगाउने र उल्टो मुख्य सचिवबाट सेवानिवृत्त भएपछि विभिन्न निकायमा राजनीतिक नियुक्ति पाइने लोभले पूरै एस म्यान बनेर काम गर्ने आत्मघाती सोचका विगतका मुख्य सचिवहरु नै नेपाली प्रशासनलाई क्यान्सरजस्तै संक्रामक रोगले ग्रसित बनाउन बढी जिम्मेवार देखिएका छन् भन्दा अत्युक्ति नहोला । त्यसैले केही अपवादलाई छोडेर नेपालका धेरै मुख्य सचिवहरु प्रशासनकै लागि खलनायक साबित भएर गएका हुन् । यसबारेमा नवनियुक्त मुख्य सचिव अर्यालले थप संवेदनशीलता देखाउन जरुरी छ, नकि उनलाई त्यस्तो खलनायकको आरोप लाग्न नपाओस् ।

अब आशा गरौँ नवनियुक्त मु्ख्य सचिव अर्याल यस प्रकारको आत्मघाती बाटोमा हिँड्ने छैनन् । निजामती प्रशासन र कर्मचारीतन्त्रको आत्मलाई उच्च बनाउन उनले ठूलै जोखिम मोलेर काम गर्नुपर्ने देखिन्छ । यतिचाहिँ प्रस्ट भन्न सकिन्छ कि सानोतिनो मिहिनेतले उनले त्यो उपलब्धि हासिल गर्न सक्ने छैनन् ।

जब उनी १३ भदौमा २८ औँ मुख्य सचिवमा नियुक्त भए, त्यसपछि उनलाई शुभकामना र बधाई दिनेको ओइरो लाग्यो। हरेक कर्मचारीहरुको सपना पाएसम्म मुख्य सचिव भएर सेवानिवृत्त हुने हुन्छ । तर मुख्य सचिव हुने अवसर जोसुकैले पाउँदैनन्। हरेक कर्मचारीहरुको जीवनमा मुख्य सचिव हुनु भनेको एउटा अभूतपूर्व अवसर र उपलब्धि हो । यो एउटा भाग्यको खेल पनि हो । यस्तो अवसर प्राप्तिको बाटोमा अन्य तीनजना सचिवहरु पनि थिए । तर उनीहरु सबैलाई उछिन्दै अर्यालले बाजी मारे। वरियतामा चौथो नम्बरमा रहे पनि सरकारले उत्कृष्ट कार्यसम्पादनलाई आधार मानेर अर्याललाई मुख्य सचिव बनाइएको बतायो। सरकारको सो कार्यमा खासै विरोधका आवाजहरु सुनिएनन् । जसले गर्दा अर्यालको मुख्य सचिव नियुक्ति सर्वस्वीकार्यजस्तै भयो । चौथो नम्बरमा रहेर पनि मुख्य सचिव बन्ने दुर्लभ अवसर पाएको अवस्थालाई उनले आफ्नो काँधमा ठूलो जिम्मेवारी आएको अर्थमा लिनुपर्छ । सरकारले उत्कृष्ट कार्यसम्पादनको आधारमा मुख्य सचिव बनाएको भन्ने विषयलाई उनले आगामी दिनमा कामले प्रमाणित गरेर देखाउनुपर्ने भएको छ । यसै गरी वरिष्ठलाई मुख्य सचिव नबनाएको भनेर आएका केही सानातिना गुनासालाई खण्डित गर्न पनि उनले प्रभावकारीरुपमा काम गरेर देखाउनु अत्यावश्यक छ ।

उनी मुख्य सचिव भएपछि औधी खुशी हुनेमा यो पंक्तिकार पनि पर्छ । त्यसैले यो पंक्तिकारलाई पनि अन्य उनका शुभचिन्तकलाई जस्तै चिन्ता र चासो उत्तिकै छ कि भोलि उनले राम्ररी काम गर्न सक्दैनन् कि ? उनले राम्रो काम गरे भनेर लेख्न पाइँदैन कि ? यो पंक्तिकारले उनी मुख्य सचिव भएलगत्तै बधाई दिने क्रममा सतर्क पार्दै उनलाई कामका लागि झकझकाउने र नियमित निगरानी गर्ने कुरा पनि गरेको छ । त्यसैले हामी त वाच डग हौँ । राम्रो काममा समर्थन हुन्छ र नराम्रो र गर्न नसकेको अवस्थामा विरोध हुन्छ । आशा गरौँ, उनी सेवानिवृत्त हुँदै गर्दा अर्याल सफल मुख्य सचिव भनेर लेख्न पाइयोस्।

अर्याल मुख्य सचिव भएपछि यो पंक्तिकार १४ भदौमा उनलाई बधाई दिन गृह मन्त्रालयमा पुग्दा अर्याललाई बधाई दिनेहरुको घुइँचो थियो । अर्यालमा भने हर्ष, खुशीका साथसाथै जिम्मेवारीबोधसहितको गाम्भीर्यता पनि त्यत्तिकै देखिन्थ्यो । देश र जनताका लागि केही गरौँ भन्ने सोच उनमा प्रायः प्रस्फुटित भइरहन्छ । अहिले अब उनी निर्णायक ठाउँमा आएकाले उनले त्यो सोचलाई व्यवहारमा रिफ्लेक्ट गर्न जरुरी देखिन्छ ।

१४ गते नै उनी हामी केही सञ्चारकर्मीलाई साथमा लिएर आफू मुख्य सचिव नियुक्ति भएको पत्र लिन तत्कालीन मुख्य सचिव लीलादेवी गड्तौलासमक्ष पुगेका थिए । त्यति बेला नै उनले मसँग भनेका थिए, ‘भाइ अब साँच्चै नै केही गरेर देखाउनुपर्छ । कर्मचारीतन्त्रलाई सशक्त बनाउनुपर्छ । नागरिक तहमा देखिएका निराशाहरु बिस्तारै चिर्दै जानुपर्छ । तपाईंहरुले वाच डगको रुपमा काम गर्नुहोला । आवश्यक सुझाव दिँदै गर्नुहोला ।’ उनले स्वस्फूर्तरुपमा आफ्ना भावनाहरु उद्वेलित गरेका थिए । मैले पनि उनलाई आगामी दिनमा सशक्त किसिमले काम गर्नुपर्छ भन्दै हौस्याएको थिएँ । यसो त मैले हरेकजसो भेटमा उनलाई देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्छ भन्दै सधैँ जोस्याउने काम गर्ने गरेको छु । भूकम्पको समयमा उनी काठमाडौंको सिडिओ हुँदा काठमाडौंमा भूकम्पबाट आफन्त गुमाएका पीडितहरुको घरदैलोमा गएर राहत सामग्री वितरण गर्ने क्रममा कैयौँपटक म पनि उनीसँगै पीडितको घरदैलोमा पुगेको थिएँ । त्यति बेला उनले देखाएको सक्रियतालाई अहिले पनि म मुक्तकण्ठले प्रशंसा गर्ने गर्छु ।

त्यसपछि १६ भदौमा भएको उनको मुख्य सचिवको पद बहालीका क्रममा समेत सहभागी हुने अवसर पाइयो । पद बहालीका क्रममा मुख्य सचिव अर्यालले कार्यक्रममा सहभागी भएका सरकारका सबै सचिव, सुरक्षा निकायका प्रमुख, सहसचिव तथा उच्च पदस्थ अधिकारीहरुसमक्ष निकै संवेदनशील विषयहरु उठाउनुका साथै सचिवहरुलाई केही निर्देशन दिँदै आफ्ना महत्वपूर्ण प्रतिबद्धताहरुसमेत व्यक्त गरे । सो कार्यक्रममा अर्यालले व्यक्त गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्न सके भने उनी सफल मुख्य सचिवको रुपमा सजिलैसँग दर्ज हुन सक्ने देखिन्छ। अर्यालले आफ्नो पहिलो दायित्व संघीय निजामती सेवा ऐन जसरी पनि ल्याउने उद्घोष गरेका छन्। सो ऐन ल्याउन उनले पहलकदमी गरे र उनकै पालामा ऐन आयो भने उनले सबै कर्मचारीको स्याबासी पाउने निश्चित छ। उनले विभिन्न चुनौतीका बीच आफू मुख्य सचिव भए पनि चुनौतीलाई अवसरमा बदल्न सक्ने आत्मविश्वास व्यक्त गरेकाले सोहीअनुसार अघि बढ्नुपर्छ।

त्यसै गरी उनले आफ्नो बहालीका क्रममा उठान गरेका नैतिकता, इमानदारिता, स्वच्छता, पारदर्शितालाई मूल मन्त्र बनाएर आफ्ना कार्यहरु अगाडि बढाउनुपर्छ । उनले जनता र निजामती कर्मचारीबीच ठूलो ग्याप रहेको बताएर वास्तविकता उजागर गरेका छन् । अब सो ग्यापलाई हटाउन उनले सेवा प्रवाह प्रभावकारी बनाउने उपायहरु खोजी गरी तत्काल कार्यान्वयनमा ल्याउनुपर्छ । यसै गरी बहालीका क्रममा उनले प्रधानमन्त्री कार्यालयलाई सेन्टर अफ एक्सलेन्स बनाउने, बिचौलिया प्रथा निषेध गरिने, तीन तहको सरकारबीच उचित समन्वय गरिने, निजी क्षेत्रसँग हार्दिकतापूर्ण सम्बन्ध राखिने, सुखी नेपाली, समृद्ध नेपालको लक्ष्य पूरा गर्न प्रतिबद्ध रहने, अख्तियार, राज्यव्यवस्था समितिलगायतले दिएको निर्देशन पालना गरिने, काम नगर्नेको खोजी गरी आवश्यक कारबाही गरिने, आम निजामती कर्मचारीमा राष्ट्रियताको भावना अभिवृद्धि गराइनेलगायतका प्रतिबद्धताहरु व्यक्त गरेका छन् ।

मुख्य सचिव अर्यालले एउटा के कुरा प्रस्टसँग बुझ्न जरुरी छ भने, सिंगो मुलुक र आम कर्मचारीतन्त्रले भोग्नुपरेका समस्या समाधान गर्न सानोतिनो प्रयासले पक्कै पनि हुँदैन । यसको लागि लगातारको प्रयास र ठूलै खाले अपरेसन जरुरी छ । सो अपरेसनका लागि ब्यूरोक्र्याट्स डाक्टरहरुकै आवश्यकता छ र रातदिन काम गर्नुपर्ने अवस्था छ । सानातिना बैठक राखेर औपचारिकता पूरा गर्ने, उद्घाटन कार्यक्रममा गएर भाषण गर्ने, आफूलाई भेट्न आएकाहरुसँग घण्टौँ गफ गरेर समय खेर फाल्ने छुट अब उनलाई छैन । दिनको संकेत बिहानीले गर्छ भनेजस्तै उनको शुरुवाती कदमले आगामी दिनमा उनले प्राप्त गर्न सक्ने उपलब्धि र सफलताको सहजै आँकलन गर्न सकिनेछ ।

यसमा हामी मिडियाकर्मीहरुको वाचमा उनी १६ गतेदेखि नै परिसकेका छन् । हेरौँ, उनले बिहानीका के–कस्ता संकेतहरु दिने छन् र आगामी दिनमा चन्द्रबहादुरको चन्द्रघण्टीजस्तै आफ्ना कुनै न कुनै कामलाई चिरकालसम्म आम कर्मचारी र देशवासीले सम्झने गरी स्थापित गर्ने नै छन् । २८ औँ मुख्य सचिव अर्यालले अहोरात्र काम गरेर परिणाम निकाल्दै निजामती प्रशासनलाई सक्षम, सबल र जनप्रिय बनाउन सकून् र लामो समयपछि जबर्जस्त नयाँ कीर्तिमान राख्न सकून् , शुभकामना !