कांग्रेसभित्रको बहस


नेपाली कांग्रेस संसदीय दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई आगामी प्रधानमन्त्री पदको लोभ नगर्न पार्टीभित्र दबाब बढेको छ। संसद्का दुई ठूला दल कांग्रेस–एमालेबीच गत असार १७ मा भएको सहमतिबमोजिम ०८४ को चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति तथा दलका नेता देउवाले गर्ने भन्ने छ।

यद्यपि पार्टीमा आफू पछि हटेर अरु नेतालाई नै पठाउँदा देउवाको त्याग देखिने र समकालीन नेताप्रति न्याय हुने कांग्रेसमा बहसको विषय बनेको छ । केन्द्रीय समितिको बैठकमै महामन्त्री विश्वप्रकाश शर्माले सभापति देउवालाई अब प्रधानमन्त्रीको लोभ नगर्न सुझाव दिनुभएको थियो । आगामी प्रधानमन्त्रीमा कांग्रेसले सभापतिबाहेक अरु नेता पठाउन आग्रह गर्दै शर्माले त्यसो गर्दा सभापतिको ओज बढ्ने, त्याग देखिने र समकालीन नेता–साथीलाई समेत न्याय हुने बताउनुभएको थियो ।

पार्टीमा एक्जिट पोलिसीको एजेन्डा अघि सारेका महामन्त्री शर्माले पाँचपटक प्रधानमन्त्री बनिसकेका व्यक्तिले सोही पद अरु कोही नेतालाई हस्तान्तरण गर्दा ०८४ को निर्वाचनपछि नयाँ अनुहारले अवसर पाउने कुराको सुनिश्चितता हुन सक्ने अपेक्षासमेत गर्नुभएको छ। देउवाका ज्योतिषीको भविष्यवाणी असफल बनाउने र पार्टीको पहिलो एवं दोस्रो तहका नेताहरुको व्यवस्थापन चाँडै सकिए देश र पार्टीको नेतृत्व महामन्त्रीहरुको तहमा आइपुग्ने अपेक्षाका साथ रणनीतिहरु तय भइरहेका छन् । तर हालसम्म पाँचपटक प्रधानमन्त्री बनेका देउवा पुनः देशको नेतृत्व गर्ने र आफू सक्रिय राजनीतिबाट बाहिरिँदै गर्दा पत्नी आरजु देउवा राणाको राजनीतिक व्यवस्थापनको विषयलाई समेत महत्वका साथ हेर्नुभएको छ । राणालाई शक्तिमा पुर्‍याएर मात्रै आफू बिदा हुने देउवाको चहाना देउवा निकट नेताहरुले समेत पूरा गर्ने लाइनमा उभिएको देखिन्छ ।

ज्योतिषीको भविष्यवाणीअनुसार पनि सातपटक प्रधानमन्त्री हुने अभिलासा बोकेर राजनीतिक जोड–घटाउमा निरन्तर क्रियाशील सभापति देउवाप्रति महामन्त्रीको प्रस्तावलाई संस्थापन पक्षका नेताहरुले स्वीकार गर्न सक्ने अवस्था छैन । तर संस्थापन इतर समूहकै केही पुराना नेताहरु भने देउवालाई अब एकपटक प्रधानमन्त्रीमा पठाएर पार्टी नेतृत्व आफ्नो हातमा ल्याउने योजनामा छन् ।

गत असार १७ को मध्यरातमा भएको नेपाली कांग्रेस र एमालेबीचको सत्ता सहयात्राको सहमतिअनुसार दुई वर्षपछि आफैँले सरकारको नेतृत्व गर्ने गरी एमालेलाई सहयोग गरेका देउवाको विपक्षमा आएको उक्त प्रस्तावले पार्टीभित्र तरंग उत्पन्न भएको छ। यद्यपि देउवा र उनी निकटस्थ नेताहरुले यसलाई स्वीकार गर्न सक्ने अवस्था छैन। महामन्त्री शर्माको एक्जिट पोलिसीअनुसार दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री र चारपटकभन्दा बढी सांसद बन्न नपाउने व्यवस्था पार्टीमा लागू गर्ने प्रस्ताव अघि सारिएको थियो। उक्त प्रस्ताव केन्द्रीय समितिबाट अस्वीकृत भएपछि यो विषयलाई संविधान संशोधनकै बेला फेरि छलफलमा ल्याउने गरी हटाइएको छ ।

कांग्रेस–एमालेसँगको सातबुँदे समझदारीबमोजिम ०८३ असारसम्म ओली नेतृत्वको सरकारलाई सफल बनाउन कांग्रेसले एकताबद्ध भएर साथ दिँदै सभापति देउवाले आफू प्रधानमन्त्री नबनेर आफ्नै पुस्ताका कोही नेतालाई बनाउनु देश र जनताको अपेक्षाकृत हुने पार्टीका युवानेताहरु बताउँछन्। प्रधानमन्त्री बन्न एकसे एक अग्रज नेताहरु प्रतिनिधिसभामा रहेको महामन्त्री शर्माको दाबी छ।

पार्टीमा धेरै नेता अनुभवी र दक्ष भएकाले डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, डा. शशांक कोइराला, अर्जुनरसिंह केसीमध्येबाट प्रधानमन्त्री प्रस्ताव गर्न सकिने उहाँको भनाइ थियो। महामन्त्री शर्मासहित पार्टीका अधिकांश युवाहरुको चाहना नयाँ व्यक्तिलाई प्रधानमन्त्री बनाउने छ। पार्टीका युवापङ्क्तिको चाहना बुझेर नेतृत्व अघि बढ्नुपर्ने आम कार्यकर्ताको अपेक्षा छ।