बालबालिकालाई खेलकुदमा पनि प्रोत्साहित गरौं

0
Shares

बालबालिकाका लागि पढाइलाई नै सर्वोपरी मानिँदै आएको छ । तर, एक सर्वेक्षणका अनुसार खेलकुदमा चासो नराख्ने बच्चा खेलकुद गर्ने बच्चाभन्दा शारीरिक रूपमा कमजोर हुने देखिएको छ ।

त्यसैले बालबालिकालाई पढाइ सँगसँगै खेलकुदमा पनि प्रोत्साहन गर्नुपर्ने विशेषज्ञहरूको सुझाव छ । उनीहरूका अनुसार खेलकुदले बालबालिकाहरूलाई शारीरिक र मानसिक रूपमा स्वस्थ र तन्दुरुस्त राख्नुका साथै उनीहरू चलाख पनि बनाउँछ ।

केवल ल्यापटप, मोबाइल भुल्ने आजकलका बालबालिका एकलकाटे बन्दै गएका छन् । उनीहरूलाई अन्य कुरामा चासो हुन छाडिसकेको छ । त्यति मात्रै होइन, साथीहरूसँग खेलेर मजा लिन सकिन्छ भन्ने पनि बिर्सिएर मोबाइलमा भिडियो गेम र सोसल मिडिया चलाउनुलाई नै सबथोक मान्छन् ।

आजकलका आमाबुबा दुवै कामकाजी हुने भएकाले उनीहरूसँग पनि आफ्ना बालबच्चाहरूलाई राम्ररी रेखदेख गर्न पर्याप्त समय हुँदैन । जसले गर्दा आफ्नो बालबच्चालाई खेलकुदमा प्रोत्साहित गर्न उनीहरू पनि आवश्यक ठान्दैनन् । तर, आमाबुबाले यस्तो गल्ती गर्नबाट जोगिनुपर्छ ।

शारीरिक रूपमा निष्क्रिय रहँदा यसको नकारात्मक असर सिधै स्वास्थ्यमा पर्छ । एक अध्ययनअनुसार खेलकुदलाई बेवास्ता गर्ने बालबालिकाहरूले अनलाइन गेमिङ, सोसल मिडिया र स्क्रिनमा धेरै समय बिताउने गरेका छन् । जसले गर्दा त्यस्ता बालबालिकामा निम्न स्वास्थ्य समस्या देखिने गरेको अध्ययनले देखाएको छ ।

—मधुमेह अर्थात् डायबिटिजको सम्भावना
—मुटुरोगको सम्भावना
—हाड र मसल्स कमजोर हुने
—अल्छी र घमण्डी बनाउने
—अनुशासनहीन बनाउने,
—अटेरी हुने

स्पोर्ट्समा रुचि कसरी जगाउने ?

बालबालिकाहरूले घरमा भन्दा बढी समय स्कुलमा बिताउने हुँदा उनीहरूको खेलकुदका लागि सबैभन्दा उपयुक्त ठाउँ भनेको स्कुल नै हो । उनीहरूलाई स्कुलमा कमसेकम १ घण्टा वा ४५ मिनेट खेल्न दिनुपर्छ । स्किपिङ, पासिङ बल, डान्सिङ वा अरू केही सजिला खेल खेलाएर खेलप्रति रुचि जगाउन सकिन्छ ।
स्कुलमा पढाउँदा खेलकुदले पार्ने शारीरिक र मानसिक प्रभावका बारेमा पनि उनीहरूलाई जानकारी दिनुपर्छ । बालबालिकाहरूले आफ्ना अभिभावकका भन्दा शिक्षक शिक्षिकाका कुरा बढी मान्ने गर्छन्, त्यसैले उनीहरूलाई खेलकुदको फाइदा र बढी सोसल मिडियामा भुल्दा हुने बेफाइदाबारे कक्षाकोठामा नै सिकाउनु आवश्यक छ ।

खेलकुदका फाइदाः
—निद्रा समयमा लाग्ने, फ्रेस हुने र अल्छी नहुने ।
—पढाइमा राम्रो हुने ।
—चोटपटक छिट्टै निको हुने, रोग लाग्ने संभावना कम हुने ।
—आत्मविश्वास बढ्ने र अनुशासित बन्ने ।
—स्वार्थीपन हट्ने र सहयोगीे भावना बढ्ने ।
—नेतृत्व विकास र जिम्मेवारीको बोध हुने ।
— मिहिनेत गर्न सिकाउने ।

आमाबुबालाई केही टिप्स:
—घरमा बच्चासँग खेल्ने र समय दिने ।
—केही समय योगाको क्लास राख्ने ।
— बच्चाको अगाडि मोबाइल नचलाउने ।