कवयित्री सयपत्री थुलुङकृत कविता सङ्ग्रह ‘गाउँ फर्किरहेको परदेशी’ सांस्कृतिक बोधगम्य सरल कविताहरूको सङ्ग्रह हो। संखुवासभामा जन्मिएकी सयपत्री एक दशकभन्दा लामो समयदेखि निरन्तर रूपमा नेपाली साहित्य साधना गरिरहेकी छिन्।
उनको नवीन कविता सङ्ग्रह ‘गाउँ फर्किरहेको परदेशी’ परदेशी भूमिमा लेखिएको कृति हो। सरल भाषा शैलीको प्रयोगद्वारा सांस्कृतिक पक्षलाई कवितामा सजिलै उतार्नु सयपत्रीको विशेषता बनेको छ।
प्रस्तुत कविता सङ्ग्रहमा ३५ वटा कविता सङ्गृहीत छन्। जसमा ३४ वटा कविता नेपाली भाषाका छन् भने एउटा कविता थुलुङ भाषाको छ। थुलुङ भाषाको कवितालाई नेपालीमा अनुवाद गरेरसमेत राखिएको छ। यसर्थ यस कविता सङ्ग्रहमा थुलुङ भाषालाई पनि प्राथमिकता दिइएको छ। यसैबाट बुझ्न सकिन्छ कि सयपत्रीमा भाषा, संस्कृति तथा सांस्कृतिक विविधतालाई नजिक नियाल्ने क्षमता छ। उनका कविताहरूमा मूलरूपमा परदेशमा रहँदा बस्दाका बखतका अनुभूतिहरू समाविष्ट छन् । ती सबै अनुभूतिहरूमा नेपाली सामाजिक सांस्कृतिक परिवेशको मिश्रण छ।
सामाजिक यथार्थताका पक्षमा लेखिएका कविताहरूमा सरल भाषाशैली, प्रतिकात्मकता, परिष्कृत चिन्तनलगायतका पक्षहरू मजबुत बनेर आएका छन्। कविताहरूमा संस्कृतिसँगै प्रेम र राष्ट्रियताको भावनालाई पनि समेटिएको छ । त्यो न्यून मात्रामा छ। विशेष संस्कृतिका पक्षमा उनको जोड छ।
राष्ट्रियताका सवालमा कविता सङ्ग्रहभित्रको एउटा कविता ‘देशको प्राण वायु’ शीर्षकमा रचिएको छ । जसले देशको सर्वाङ्गीर्ण विकासका लागि युवाहरूमा पुनर्जागरण ल्याउन जरुरी छ भन्ने सन्देश झल्किएको छ । अहिले देशमा रोजगारी, गुणस्तरीय शिक्षा, सुविधायुक्त स्वास्थ्य नभएका बखत युवाहरूले विदेश पलायन हुनुको साटो सबैले एकजुट भएर देशको समस्याको समाधानलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने भाव पनि आएको छ । देश छोडेर जानु भनेको देश खण्डहर बन्नु हो । मानवविना अर्थात् नागरिकविना देशको अस्तित्व रहन सक्दैन । यसर्थ युवाहरूले देशमै उद्यम गर्नुको विकल्प नरहेको उक्त कविताको मूल आशय छ ।
कवितामा बढीजसो किरात संस्कृतिलाई वर्णन गरिएको छ । यसले कवयित्रीमा संस्कृतिप्रतिको रुचिलाई प्रस्तुत गर्ने प्रयास गरेको छ । संखुवासभाका गाउँहरूमा उनले बिताएको बालापनले त धेरै नेपालीको बालपनलाई प्रतिनिधित्व गरिरहेको छ । पारिवारिक व्यवस्थामा आमाको महिमालाई कवितामा विशिष्टीकृत रूपले विश्लेषण गरिएको देखिन्छ । आमा शीर्षकको कवितामा उनले भनेकी छिन्–
उही हुन् आमा ! ममताकी खानी
मेरा मदर टेरेसा फ्लोरेन्स नाइटिङ्गेल
मेरो जीवनको हार्वड विश्वविद्यालय
जोसँग मेरो जीवनको वर्णमाला छ ।
प्रस्तुत पङ्क्तिमा आमालाई हार्वड विश्वविद्यालयको संज्ञा दिइएको छ । संसारकी सबैभन्दा लोकप्रिय एवम् सक्षम आमाहरूमध्ये आफ्नी आमाको भूमिका कम नभएको उनको भनाइ छ । आमासँग हरेक सन्ततिको जीवनको वर्णमाला रहेको हुन्छ। बालबालिकाले वर्णमालामा जे देख्छन्, जे अनुभुति गर्दछन्, उनीहरूको जीवन त्यसै अनुरूप अगाडि बढ्छ। कवितामा आफू हुर्केको, बढेको भूमिलाई किरात भूमिले सम्बोधन गरिएको छ । कविमा संस्कृतिको ठूलो प्रभाव छ।
उनी संस्कृतिप्रति सचेत र सजगसमेत देखिन्छिन्। विश्वव्यापीकरणका कारण जसरी अहिले विश्वभरि नै कतिपय कला, संस्कृति एवम् भाषाहरू लोप हुँदै गएका छन्। त्यसको प्रभाव किरात संस्कृतिमाथि पनि परेको छ भनेर उनले चिन्ता व्यक्त गरेकी छिन् । उनले ‘सोल्टी कान्छा’ शीर्षकको कवितामा लेखेकी छिन्–
सोध्नु छ प्रश्न
यो माटोको चिहानबाट उठेर
कहाँ नाच्दै होला पुर्खाहरूको उभौली ?
कसले बजाइदियो होला ढोल, झ्याम्टा ?
उठ्यो कि उठेन होला पुर्खाहरूको ढलेको शिर ?
यसबाट प्रस्ट हुन्छ कि उनी आफ्नो परम्परागत संस्कृतिको जगेर्ना गरिनुपर्छ भन्ने पक्षमा उभिएकी छिन् । परदेश होस् वा स्वदेश नै किन नहोस् । अहिले जताततै माटो चिहानसमान बनेको छ। यसको मतलब संस्कृति हराउँदै गइरहेको छ। संस्कृतिविनाको जमिन केवल चिहानघर हो। यसैले फेरि पुनर्जागरण गरिनुपर्छ। हाम्रो मौलिकताको खोजी गरिनुपर्छ। पुर्खाहरूका ढलेका शालिकहरू फेरि उठाउनुपर्छ। कविताहरू पढ्दै जाँदा ‘गाउँ फर्किनुअघि’ शीर्षकको कवितामा कविले गाउँको कुमारीत्वलाई खूब सम्बोधन गरेको पनि पढ्न पाइन्छ । जहाँ गाउँप्रतिको अगाध प्रेम झल्किन्छ।
त्यस्तै स्तब्ध मन शीर्षकको कवितामा प्रकृतिलाई पनि बहुत सम्बोधन गरिएको छ । प्रकृतिप्रति अनुनय विनय गरेको छ । उक्त कविता कोभिड–१९ को महामारीका बखत लेखिएको हुनुपर्छ । प्रकृति, गाउँ तथा परदेश यी तीनै स्थितिका विषयवस्तु समेटेर कविता लेख्दासमेत कवितामा सांस्कृतिक पक्ष मज्जाले आएको छ।
यसर्थ यो कविता सङ्ग्रह सामाजिक यथार्थतावादी धारमा लेखिएको छ। यसले मानव समुदायको अस्तित्वसँग सम्बन्धित पक्षहरूलाई नजिकबाट केलाएको छ। संस्कृतिको संरक्षण गर्न तथा त्यसलाई आत्मसात् गर्नका लागि परदेशै गए पनि त्यसले कुनै असर नपार्ने उनको तर्क छ। टोपी दिवस कविता उनको बडो प्रतिकात्मक छ, जहाँ उनले परदेशिएकाहरू, देशका शासकहरू र सर्वसाधारण नागरिकलाई केन्द्रमा राखेकी छिन् । यस कवितामा शासकहरूप्रति बडो आक्रोश पोखिएको छ । जहाँ लेखिएको छ–
पी आर लिएका पी आर धारीहरू
देश बसेर देशको ढुकुटी रित्याउनेहरू भन्दा
कैयौँ गुणा बढी देशप्रतिको चिन्तन
उनीहरूको रगतमा भेटिन्छ ।
यस पङ्क्तिमा उनले भन्न खोजेकी छिन्, देशमा बसेर देशको विषयमा बोल्नेहरूभन्दा देशबाहिर बसेकाहरूले देशको विषयमा अझै बढी चिन्तन गरेका छन् । परदेशिएकाहरूमा देशप्रतिको चिन्ता विराटरूपमा रहेको छ । यो एउटा सत्य विषय हो । यति सरल ढंगले कवितामा यस्तो गम्भीर विषय लेख्न सक्नु सयपत्रीको काव्यिक क्षमता नै हो।
सांस्कृतिक पक्षहरूको विषयलाई गहिराइमा हेर्दा कविताभरि किरात संस्कृति मज्जाले छरिएको छ, जसले कवितालाई थप सशक्त बनाएको छ । किरात इतिहास, किरात ग्रन्थका कुराहरू उठाइएका छन् । मुन्दुमलाई विज्ञानपूर्ण शास्त्र भनेर उल्लेख गरिएको छ । किरातकालीन राजाहरूको योगदानको विषयले पनि कवितामा स्थान पाएको छ । यति हुँदाहुँदै पनि सुम्निमा पारुहाङको विषय भने कवितामा त्यति बलियो भएर आएको छैन । किरात संस्कृतिमा सुम्निमा र पारुहाङको जुन स्थान छ, त्यसलाई कवितामा प्रस्तुत गरिदिएको भए कविताहरू अझै सशक्त बन्ने थिए ।
प्रस्तुत कविता सङ्ग्रहमा नेपालको वर्तमान राजनीतिक अवस्थाको किचलोपन लेखिएको छ भने यससँगै तटस्थ एवम् पारदर्शी हुन नसकेको नेपालको न्याय प्रणालीलाई पनि सम्बोधन गरिएको छ। न्याय प्रणाली स्वतन्त्र हुन नसक्दा वास्तविक पीडितहरूले न्याय नपाएको दुःखदायी घटनाहरूला साङ्केतिक रूपमा उल्लेख गरिएको छ। अर्कातिर राज्यको चौथो अङ्ग (पत्रकारिता)का विषयहरू पनि यहाँ दर्शाइएका छन् । अहिले चारैतिर देशको विकास नभएको विषयमा ठूला–ठूला बहस पैरवी भएको देख्न सकिन्छ । देश किन समृद्ध बन्न सकेन ? यस विषयमा त्रिशूल छापहरू कवितामा लेखेकी छिन्–
जसलाई दिनुपर्ने हो
खरानी र भिख माग्ने कमण्डलु
तर जानी जानी दिइरहेछौँ
भान्साको डाडु, पन्यौँ
सुम्पिरहेछौँ देश र सत्ता
ओई ! भुइँ देशका मान्छेहरू…।
मथि उल्लिखित अंशबाट पनि बुझ्न सकिन्छ कि हामीले सही व्यक्ति छान्न सकेनौँ । सबैभन्दा पहिला हामीले त्यहीँनेरबाट सच्चिनुपर्छ । समग्रमा गाउँ फर्किरहेको परदेशी कविता सङ्ग्रह सरल र मीठासपूर्ण भाषाको प्रयोग गरेर सामाजिक धारमा लेखिएको छ। यसले पूर्णरूपमा नेपालीपन, नेपालका दूरदराजका गाउँहरू, यहाँको सामाजिक–सांस्कृतिक विविधतालाई सम्बोधन गरेको छ। यो कृति यसर्थ पनि पठनीय छ कि यो पूर्णरूपमा मौलिक छ । हाम्रै समाजका विषयवस्तुलाई कवितामा प्रस्तुत गरिएको छ।
परदेशिएका हजारौँ नेपाली नागरिकका चाहनाहरूलाई व्यक्त गर्ने प्रयास गरेको छ । समाजमा सांस्कृतिक विविधताको संरक्षण जरुरी रहेको कुरा उल्लेख गरिएको छ। परदेशिएका नागरिकहरू हरदिन आफ्नो गाउँ सम्झिँदै, आफ्नो घर–आँगन सम्झिँदै रुने गरेको रोचक तथ्य कविताका माध्यमबाट प्रस्तुत गरिएको छ। हरेक परदेशीहरू परदेशको रमझम बाह्यरूपमा रमाएका देखिए तापनि भित्रीरूपमा गाउँ फर्किने दिन गन्ती गर्दै बसिरहेका हुन्छन् । यही हो कवि हुनुको सफलता। सयपत्रीले कतै–कतै कविताहरूमा आफूलाई लेखेकी छिन् त कतै–कतै कवितामा आफूजस्तै नेपालबाट परदेशिएका नागरिकका मनको दर्दलाई पनि लेखेकी छिन् । संस्कृतिको महत्वलाई सबैभन्दा नजिकबाट नियालिएको छ । ‘गाउँ फर्किरहेको परदेशी’ नेपाली साहित्यमा सफल कृतिसमेत बन्न सकोस् ।
प्रतिक्रिया