प्रजातन्त्र कि पर जा तन्त्र

752
Shares

हिजोआज सबैतिर लोकतन्त्र वा प्रजातन्त्र बाँदरको हातको लड्डु भएको छ। सार्क राष्ट्रहरुमध्ये नेपालमा त प्रजातन्त्रका नाममा लुटतन्त्रै छ । बंगलादेशकी शेख हसिना सिट छोडेर भागिन्, धेरै समय तिनले प्रजातन्त्रका नाममा आप्mनालाई पोसिन् भन्ने आरोप छ । यसअघि भाग्नेमा परेका थिए श्रीलंकेली सत्तासीनहरु। भाइ, भतिजा, नातागोतालाई भरपोषण गर्न आएको हाम्रो लोकतन्त्रलाई हाम्रा राजनीतिक कार्यकर्ताहरुले निजी पेवाका रुपमा लिएका छन्।

नेपालीहरु बालकोट, बूढानीलकण्ठ वा खुमल्टारमा विरोध होइन, ती खाडीमा जान खोज्छन्, गएका छन् । कारण हामीकहाँ नागरिक चेतना छैन । बंगलादेशमा आरक्षणले सत्तालाई धूलो चटाइराख्दा हाम्राहरु समावेशी र आरक्षणकै नाममा सत्तासीन छन् र तिनैले ढाकामा फोन गरी नेपालीहरु सुरक्षित हुनुपर्छ भनेका छन्।

बंगलादेशमा त्यो सिट आज मात्रै धरापमा परेको होइन, पटक–पटक परेको हो, तथापि हसिना र उनको दलले मोनोपोली ढंगले सत्ताको स्वाद लिइरह्यो । ढाकालगायत बंगलादेशमा रहेका हाम्रो नेपाली विद्यार्थीहरु सकी नसकी एक महिनाअघि नै फर्केका छन् । एक मित्रकी छोरी जो त्यहाँ पढ्न गएकी थिइन्, अकस्मात् नै भागेर २ दिन लगाई काठमाडौँ आइन् । पंक्तिकारले खर्चबर्च कसरी मिलायौ आउँदा ? भन्ने प्रश्नमा तिनले भनेकी थिइन्, ‘हजुर साथीहरुले हालिदिए, मसँग त पैसो थिएन । त्यस्तो होला र ज्यानकै जोखिम होला भन्ने सोचिएको पनि थिएन ।’

बंगलादेशमा सयौँ हताहत भएका र धेरै ठाउँमा आगजनी, तोडफोड भएको थियो । जनसमूहको भीडले प्रधानमन्त्रीको सरकारी निवासमै आक्रमण गर्‍यो । कति सामान लुटपाट भएको खबर पनि बाहिर आएको छ। अब सेनाले अन्तरिम सरकार बनाउने कुरो गरेको छ । हेलिकोप्टरबाट भारतमा शरण लिनुपूर्व शेख हसिनाले पदबाट राजीनामा दिइन् भनिएको छ। तुलनात्मकरुपमा श्रीलंका र बंगलादेश औद्योगिक क्षेत्रमा हामीभन्दा धेरै अगाडि छन्। बंगलादेशमा जीडीपीमा उद्योगको हिस्सा २५ प्रतिशत माथि छ, त्यहाँको तयारी पोशाकले निर्यातको काम पनि गरेको छ, जीवनस्तर पनि माथि नै छ। हाम्रो जस्तो साह्रै छिः भन्ने अवस्था त्यहाँ छैन । उद्योग, औद्योगिक प्रवद्र्धन हुँदा आर्थिक स्तर माथि नै हुन्छ र रोजगारीमा खासै धेरै समस्या छैन त्यहाँ, जति हामीकहाँ छ। हामीले श्रीलंकाबाट पाठ सिक्नुपर्छ भनिरहँदा हाम्रो सत्ताले श्रीलंकाको अवस्था हाम्रो होइन भनेको थियो। अब फेरि भन्नेछ उसले बंगलादेशको अवस्था यहाँ हुन्न भनेर। हाम्रो सत्ता विश्वस्त केमा छ भने– बोल्न सक्नेहरुलाई हामीले पर पठाइसकेका छौँ, कोही युरोप–अमेरिका पनि पुगे, खाडीमा त धेरै पुगे । त्यसैले पर–पर जा भनिसकेको अवस्थामा हामी निर्धक्क भएर सत्ताको चास्नीमा रमाउन सक्षम छौँ भनिरहेका छन् । विदेशिएकाले पठाएको विप्रेषणबाट हाम्रो ‘पर जा तन्त्र’ बाँचेको छ, धुकधुकी विदेशी सहयोग र ऋणमा छ, अनि व्यापार घाटामा पनि डर छैन र सत्तालाई बाँडिचुँडी श्री ३ हरुले साटासाट गर्दा कसैलाई चासो छैन ।

किनकि संविधान बनाएको आफैँले हो र यसलाई सही प्रयोग नगर्दा पनि केही हुन्न । त्यसको पछिल्लो ज्वलन्त उदाहरण संविधानले नचिन्ने नेसनल भनिएको आईडी कार्ड बनाउन नेपालीहरु पाँच दिनसम्म स्थानीय तहमा सुतेर बसेका छन्, सिन्दुर पुछेर, चुरा फुटाएर, दौरा–सुरुवाल झिकेर, निधारको टीका पुछेर, यति सहनशील नेपालीहरु भएपछि लोकतन्त्रका हिमायतीहरुलाई साह्रै सजिलो भएको छ । निर्धक्क उनीहरु बालेनहरुलाई तर्साइरहन्छन् । कुलमानहरुलाई आच्छु–आच्छु पार्छन् । सञ्चालक समितिमा नोट अफ डिसेन्ट लेख्नेलाई सात्तो खाइदिन्छन् र बैठक छ भनी निम्तो दिएर पदबाट अपदस्थ गरिएको पत्र भिडाउँछन् । सकी नसकी ऋणको भारमा भ्यूटावर ठडिन्छ र विदेशी ऋणदाताहरु ओइरो नै लाग्छन्, कुनै दिन वा साताको खबर हुन्न जुन दिन विदेशी ऋण सम्झौता भएको नहोस् । अब त शायद नजन्मदै ८५ हजारको ऋण बोक्न सक्ने भइसके नेपालीहरु ।

औद्योगिक क्षेत्रहरुमा ताला लागेका छन् र दलको पार्टी प्यालेस बनेका छन् धेरैतिर । युवाहरु विदेशबाट फर्किए भने हामीलाई शिक्षामा अधिक खर्च गराउने र स्वदेशमा टिक्न नदिने नेतृत्वलाई खोजेर झुन्ड्याउनुपर्छ भन्छन् होला । देशमा गरिखाने वातावरण छैन। व्यवसाय गर्ने वातावरण छैन। गएको १ वर्षमा मात्रै युवा बेचिएको रकम १४ खर्ब रहेछ, विप्रेषण मात्रै । हाम्रो ‘पर जा तन्त्र’ले युवा यहाँ राखेन र वृद्धहरुलाई घर बसी खाऊ भन्दै दिएको सामाजिक सुरक्षा खर्चमा अंकुश लगाएको छ । आईडी बनाउनै जान सकेका छैनन्, कोही बिरामी छन्, असहाय छन्, लगिदिने मान्छे छैन र एकपल्ट गएर हुन्न ।

नेपालमा दलभक्ति छ, देशभक्ति छैन । आफ्ना मान्छे हाल्नका लागि कुलमानको पृष्ठभूमि तयार भइसकेको छ । धरहरामुनि फ्रीमा पार्किङ हुन्न भनिएको छ र वाक्युद्ध मात्रै होइन आफ्ना परेनन् भने कुइनो युद्ध पनि जारी छ । वृद्धहरुले खाएको भत्ता बोझ मानिदै छ र तिनले लिन नसकून भन्दै आईडीको बहना तेस्र्याइएको छ, पेन्सनधारीलाई पनि निसेनि र संविधानले नचिनेको आईडीको नाममा आतंक गराइँदै छ । उद्योगमा राजनीति, व्यापारमा राजनीति, शिक्षामा राजनीति, धर्ममा राजनीति, स्वास्थ्यमा राजनीति, ठेक्कापट्टामा राजनीति, सबैतिर राजनीति घुसेको छ।

पूर्वाधार, सडक, पुललगायतका पूर्वाधारहरु कहिल्यै समयमा पूरा भएका छैनन् । म्याद थप भइरहने, भौतिक प्रगति नहुने, हल्का वित्तीय प्रगति देखाइने, नारायणघाट–बुटवलको सडक भत्काएर राखिरहनुपर्ने मात्रै होइन फास्ट ट्रयाकदेखि सुरुङमार्ग, मध्यपहाडीदेखि हुलाकी मार्ग वा मेलम्चीको योजना दशकौँसम्म अधुरो राखेर आफ्ना चाटुकदारहरुको भुँडी भराइरहने ‘पर जा तन्त्र’ चलिरहेको छ हामीकहाँ । हाम्रो पूर्वाधार डोजरे, असारे, र विकास केवल माटो छोप्ने गराएर बिल भुक्तानीका लागि अब्बल छ । बाटै नभएका ठाउँमा पुल बनेको देखाइने र पुल नभएका ठाउँमा बाटो देखाइने लोकतन्त्रले ग्यास पाइप लाइन, पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, मोनोरेल, मेट्रोरेल, पानीजहाज के–के मात्रै सपना देखाएको छैन र ? मल कारखानाको सपना देखाएको तीन दशक भइसकेको छ।

मोनोरेल, मेट्रोरेल, पानीजहाज के–के मात्रै सपना देखाएको छैन र ? मल कारखानाको सपना देखाएको तीन दशक भइसकेको छ । नागरिकलाई जोगी बनाइसकेको हाम्रोजस्तो लोकतन्त्र अन्यत्र कतै छैन । बर्सेनि आठ लाखसम्म मान्छे निर्यात गर्न सक्ने र इन्धन खूब आयात गर्न सक्ने लोकतन्त्रले बिजुली निर्यात गरेको भन्दै नाफाको डेटा पनि देखाएको छ । यहाँको बिजुलीको भाउभन्दा सस्तोमा बिक्री गरेको छ लोकतन्त्रले ।

नागरिकलाई जोगी बनाइसकेको हाम्रोजस्तो लोकतन्त्र अन्यत्र कतै छैन । बर्सेनि आठ लाखसम्म मान्छे निर्यात गर्न सक्ने र इन्धन खूब आयात गर्न सक्ने लोकतन्त्रले बिजुली निर्यात गरेको भन्दै नाफाको डेटा पनि देखाएको छ । यहाँको बिजुलीको भाउभन्दा सस्तोमा बिक्री गरेको छ लोकतन्त्रले । अब बंगलादेशमा हावाहुरी आएकाले यसै महिनामा हुने भनिएको बिजुली बेच्ने सम्झौता भने गर्न सकेको अवस्था छैन । देशको अर्थचक्र उल्टोमा छ, तमाम सूचकहरु नकारात्मक छन्, ब्याज नै नदिएर पैसा थुपार्ने हाम्रा बैँकहरु मात्र नाफामा छन् । पौने आठ खर्ब लगानीयोग्य रकम बैंकमा थुप्रँदा एसएलसी आसपासका अर्थमन्त्रीले यसलाई चलायमान गर्न सक्दैनन् । सहुलियत कर्जाको ब्याज अनुदान १२ अर्ब भुक्तानी भएको छैन भनिदै छ।

बैंकहरुले लगानी नै गरेका छैनन्। विदेशी पैसा पठाउनेलाई विनाधितो ऋण उपलब्ध हुने मौद्रिक नीति ल्याउने राष्ट्र बैंक छ। हामीसँग रोजगारी कतै छैन। शिक्षा, स्वास्थ्य चरम महँगो भएको छ। बजार सर्वसाधारणले धान्न नसक्ने भएको छ। तमाम वस्तुहरु आयात गरेर भन्सार राजस्वबाट ढुकुटी भर्ने हाम्रो लोकतन्त्र छ।

भान्छामा भ्याट लगाइदिन्छ र बस हरायो भने विदेशी गुहार्ने भएको छ खोज्नलाई। र, भन्छ– देश अग्रगमनमा छ। सुशासन पनि छ भनिएको छ र गृह प्रशासन हाँक्ने मात्रै होइन निजामती प्रशासनको माउ नै अख्तियारको फन्दामा छ, काण्डै काण्डहरुले मुछिएको देशमा राम्रो सुशासन पनि छ भन्छ हाम्रो लोकतन्त्र । लोकतन्त्र केवल केही सीमित दलहरुलाई छ, आफन्तलाई छ र आमजनता पूरै निराश छन् । ती त धोती न टोपी भइसकेका छन् । गाउँघर रित्तो छ। बस्ती बाँझो छ। अन्न उत्पादन छैन। भएका वस्तुभाउ रोगले मरे, किसानले बिमाको अनुदान पाएका छैनन्। अस्पातालहरुले बिमाको रकम पाएका छैनन्। ठेकेदारहरुले पनि अर्बौंअर्ब भुक्तानी नपाएको गुनासो छ। उखु, दूध किसानहरु काठमाडौँ नआई नहुने संघीयता छ देशमा। गाउँतिर गएको सिंहदरबार सिंहको नङ्ग्राले आमजनतालाई चिथोर्दै छ । उत्पादनमूलक काम नपाएर अब शहरियाहरु पनि मन्दिर–मन्दिर धाई जीवन बिताउँदै छन्। काम नै छैन । बाँधेको भैँसीले बाघ मारेको खबर दिने हाम्रो संयन्त्रलाई के भन्ने त अब ?

बंगलादेशकी प्रधानमन्त्री पनि चुनावबाट आएकी हुन्। धेरै लामो समय तिनले सत्ता लिइन् र पनि उनलाई तानाशाहको संज्ञा दिइएको छ। आरक्षणको कोटा आफ्नै दलका लागि प्रयोग भएको भनिएको छ। असन्तोषको ज्वाला ओकलिएको अवस्था छ अहिले र सिट छोडेर भाग्नुपरेको अवस्था छ। हाम्रा नोपालीहरु असह्य पीडामा छन्, दर्दमा छन्, अत्यासमा छन्।

करको भारी बोकी नसक्नु भएको छ। सेवाग्राहीले सेवा पाइरहेका छैनन्, सेवाशुल्क ज्यादै महँगो छ। निजी क्षेत्रको भन्दा बढी सेवाशुल्क तिर्नुपरेको र समयमा कुनै काम नभएको अवस्था छ। लोकतन्त्रका संयन्त्रहरुमा सुशासनको चरम अभाव छ। बेरुजुको गतिबाट पनि स्पष्ट हुन्छ। नेसनल भनिएको जबर्जस्त लादिएको आईडीका लागि पनि पंक्तिकारले स्थानीय तहको वडा कार्यालयमा बिचौलियालाई फाराम भर्न पैसा मागेकाले दिनुपरेको अवस्था छ । त्यसैले यहाँको प्रजातन्त्रलाई ‘पर जा तन्त्र’ भन्नुपरेको हो।