नेपाल प्रहरी र सशस्त्रमा १ सय ६ जनाको अवकाश

असोजमा थप अवकाशमा जाँदै, नयाँलाई बढुवाको अवसर खुल्यो

3.1k
Shares

काठमाडौं ।

नेपाल प्रहरी र सशस्त्र बलमा ३० वर्षे सेवा अवधि नहट्ने भएपछि भदौ महिनामा मात्र नेपाल प्रहरी र सशस्त्रको गरी १ सय ६ जनाले प्रहरी अधिकारीले अवकाश पाएका छन्। बाँकी ३ जनाको भदौ २६ बाट अवकाश हुँदै छ। तीमध्ये आइतबारबाट नेपाल प्रहरीका ८७ र सशस्त्रका १६ प्रहरी अधिकृत अवकाशमा गएका हुन्।

१६ भदौबाट अवकाशमा जान लागेका एसएसपी जीवनकुमार श्रेष्ठसहित २१ जनाले ३० वर्षे सेवा अवधि हटाउनुपर्ने भन्दै रिट निवेदन दिएका थिए । सरकारको तर्फबाट पुनरावलोकन (भ्याकेट) मा गएपछि उक्त रिट खारेज भएको थियो । रिट खारेज भएसँगै १ सय ६ जनाले अवकाश पाएका हुन । प्रहरी ऐन तयारी नभएका कारण ३० वर्षे सेवा हट्न नसकेको हो । सेवा नहटेका कारण यतिधेरै संख्यामा प्रहरीले अवकाश पाएका हुन् ।

आइतबारबाट डीआईजी विष्णुकुमार केसीसहित ११ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) ले अवकाश पाएका छन् । अवकाश पाउनेमा एसएसपी रेवती ढकाल, दिनेशराज मैनाली, किसनसिंह थापा, जीवनकुमार श्रेष्ठ, डिल्लीराज विष्ट, बेलबहादुर पाण्डे, नवीनराज राई, रविकुमार पौडेल, वीरबहादुर ओली, चन्द्रदेव राई र रवीन्द्र रहेका छन् । ११ एसएसपीसँगै ११ एसपी पनि अवकाशमा गएका छन् ।

अवकाश पाउनेहरूमा कृष्ण प्रसाईं, प्रेमबहादुर बस्नेत, राजेन्द्रबाबु रेग्मी, लक्ष्मीराज अधिकारी, देवेन्द्रबहादुर पाल, विष्णुहरि कोइराला, अवधेश विष्ट, नरेन्द्रकुमार कार्की, टेकुनन्द ईवा लिम्बू, चित्रबहादुर गुरुङ, हीरा पाण्डे र नवीनकिशोर प्रधान रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, एसएसपी र एसपीसँगै ३१ जना डीएसपी र ३४ प्रहरी निरीक्षक पनि अवकाश भएका छन् । नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवाली पनि २६ भदौमा अवकाश पाउने भएका छन् । त्यस्तै, आगामी असोजमा एआईजी रामदत्त जोशी र डीआईजी यज्ञविनोद पोखरेललगायत केही उच्च अधिकारीले पनि अवकाश पाउने भएका छन् ।

यति धेरै संख्यामा प्रहरीहरू अवकाश भएपछि अन्यले अवसर पाउनेछन् । प्रहरी सेवामा अवकाशका लागि उमेर हद, सेवा अवधि र पदावधि गरी तीन किसिमको व्यवस्था छ । पदावधिको आधारमा अवकाशको प्रावधानविरुद्ध रिट लिएर अदालत गएका एआईजी श्यामलाल ज्ञवालीले भदौ २६ मा अवकाश पाउने हुनुभएको छ । सशस्त्र प्रहरी बलमा पनि ३० वर्षे सेवा अवधिकै आधारमा दुई डीआईजीसहित १६ जनाले अवकाश पाएका छन् ।

अवकास पाउनेमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) अभिकुमार खत्री र दुर्गाप्रसाद भट्टराई छन् । त्यस्तै, एसएसपी विश्वकुमार भट्टराईसहित ११ जना एसपीले अवकाश पाएका छन् । डीआईजी खत्री खत्री सशस्त्र प्रहरी बलको विन्ध्यवासिनी बाहिनी मुख्यालय रूपन्देही र भट्टराई महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा प्रमुख हुनुहन्थ्यो ।

यसअघि ३० वर्षे सेवा अवधिका कारण नेपाल प्रहरीका डीआईजीसहित ३० प्रहरी अधिकृत यही १६ भदौमा अवकाशमा जाँदै थिए । उनीहरूमध्ये एसएसपी जीवनकुमार श्रेष्ठसहित २१ प्रहरी अधिकृतले ५ भदौमा सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए।

६ भदौमा सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले ३० वर्षे नहटाउन माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिएको थियो । सर्वोच्चको यो आदेशसँगै १६ भदौमा अवकाश हुन लागेकाहरूको जागिर लम्बिएको थियो । ३० वर्षे सेवा अवधिका कारण अवकाश हुनेहरूको हकमा समेत अवकाशको पत्र नपठाउन भन्दै प्रहरी किताबखानालाई निर्देशनसमेत दिएको थियो ।