विज्ञानको क्षेत्रमा सशक्त महिला हस्ताक्षर, २ नोबेल पुरस्कार जित्ने एकमात्र व्यक्ति म्याडम क्युरी

1.97k
Shares

सन् १९०३ मा भौतिकशास्त्रमा नोबेल पुरस्कार प्राप्त गरेकी म्याडम क्युरी अर्थात् मेरी क्युरीले सन् १९११ मा विज्ञानकै अर्को क्षेत्र रसायनशास्त्रमा नोबेल पुरस्कार जितेकी थिइन् । सन् १८६७ को नोभेम्बर ७ मा पोल्यान्डको वार्सामा जन्मेर फ्रान्समा प्रवासी जीवन बिताएकी क्युरी ( वास्तविक नाम मान्या स्क्लोदोव्स्का) लाई आफ्ना पति पियरे क्युरी र हेनरी बेक्करेलसँग मिलेर रेडियोधर्मितामा गरेको अनुसन्धानका लागि भौतिकशास्त्रमा नोबेल पुरस्कार प्रदान गरिएको हो । दोस्रोपटक उनलाई रेडियम र पोलोनियम तत्वको खोजका लागि रसायनशास्त्रमा नोबेल पुरस्कार दिइएको हो ।

नोबेल पुरस्कार पाउने पहिलो महिला भए पनि महिला भएकै कारण वैज्ञानिक समुदायमै भेदभावको सिकार बनेकी क्युरीले प्राप्त गरेको नोबेल पुरस्कार र वैज्ञानिक उपलब्धि पनि पतिकै कारण प्राप्त भएको, त्यसमा उनको खासै योगदान थिएनसम्म भनिएको थियो । यद्यपि विज्ञानको क्षेत्रमा महिलाहरूको सहभागिता र योगदानका लागि मार्गप्रशस्त गरेकी म्याडम क्युरीले दोस्रोपटक पनि नोबेल पुरस्कार जितेर आफ्नो योग्यता साबित गरिन् ।


सन् १९१४ मा प्रथम विश्वयुद्धताका जर्मनीले पेरिसमा आक्रमण गर्दा क्युरीले एक्सरे उपकरण गाडीमा राखेर युद्धभूमिका लगि युद्धमा गोली लागेर घाइते भएकाहरूको उपचारमा महत्वपूर्ण योगदान दिएकी थिइन् । उनको यही योगदानले औषधि विज्ञानमा रेडियोलोजी शाखाको जन्म भएको हो । उनको मानवतावादी योगदानको कदर गर्दै संयुक्त राष्ट्रसंघले सन् १९२२ मे १५ मा सर्वसम्मतिबाट उनलाई अन्तर्राष्ट्रिय बौद्धिक सहयोग समितिको सदस्यमा मनोनयन गरेको थियो ।

विज्ञान, चिकित्सा र शिक्षामा अद्वितीय योगदान दिएकी म्याडम क्युरीलाई रेडियोधर्मी किरणको सम्पर्कमा लामो समयसम्म काम गरेका कारण एप्लास्टिक एनिमियानामक रक्त रोगले गाँज्यो । सोही रोगका कारण सन् १९३४ को जुलाई ४ मा उनको निधन भएको थियो ।

म्याडम क्युरीका केही महत्वपूर्ण उपलब्धि :

-आफ्ना पति पियरे क्युरीसँग मिलेर नयाँ किरणको अस्तित्व प्रमाणित गरी त्यसको नाम रेडियोधर्मी किरण राखिन् ।

-क्युरी दम्पतिले दुई नयाँ तत्व, रेडियम र पोलोनियम पत्ता लगाएका थिए । उनले पोलोनियमको नाम आफ्नो मातृभूमि पोल्यान्डको सम्मानमा राखेकी थिइन् ।

-१९औं शताब्दीको अन्त्य र २० औं शताब्दीको सुरुवातमा विज्ञानमा महिलाको योगदानलाई मान्यता नदिइएका बेलामा पनि भौतिकशास्त्रमा डक्टरको उपाधि हासिल गरी फ्रान्सको पहिलो महिला डक्टर बन्न सफल भइन् ।

-सन् १९०६ मा पति पियरेको दुःखद् मृत्युपछि पेरिस विश्वविद्यालयमा पियरेको शिक्षण पद ग्रहण गरेर सोरबोन विश्वविद्यालयमा पढाउने पहिलो महिला बनिन् ।

-पेरिस र वार्सामा रेडियम संस्थान (पछि क्युरी संस्थान नामाकरण) स्थापना गरिन् । जुन वैज्ञानिक अनुसन्धान र क्यान्सर उपचारको प्रमुख केन्द्रका रूपमा रहेका छन् ।

-प्रथम विश्वयुद्धमा ‘लिटल क्युरी’ नामक मोबाइल रेडियोग्राफी युनिटको विकास गरी युद्ध मैदानमा सर्जनहरूलाई घाइते सैनिकको शरीरमा रहेका गोला र छर्रा पत्ता लगाउन मद्दत गर्नुका साथै यी मेसिन चलाउन १५० भन्दा बढी महिलालाई प्रशिक्षण पनि दिइन् ।