फुटबल खुट्टाले मात्रै होइन, हातले पनि खेलिन्थ्यो

94
Shares

फुटबल, बच्चादेखि पाका उमेरसम्मलाई मनपर्ने खेल हो । कुनै देश विशेषको होइन, फुटबल सबै देशको साझा खेल बनेको छ । शुरूमा फुटबल खेलको कुनै नियम थिएन, जथाभावी तरिकाले खेलिन्थ्यो ।

खेलाडीले हात खुट्टा चलाउने, बल हातले समाएर पास दिने जस्ता क्रियाकलापले यो खेललाई अभद्र र असभ्य बनाएको थियो । तर, सन् १८६६ देखि बललाई हातले छुन प्रतिबन्ध लगाइयो । त्यसपछि विस्तारै नियम बन्दै गएपछि यो खेलको लोकप्रियता पनि बढ्दै गयो ।

फुटबलका नियमबारे केही जानकारी :

-प्रारम्भमा फुटबल खेलमा हातले बल रोक्न पाउने र विरोधी पक्षलाई हात खुट्टाले समेत हान्न सक्ने चलन थियो । सन् १८६६ देखि बललाई हातले छुन प्रतिबन्ध लगाइयो ।

-सन् १८७० देखि गोलकिपर राख्ने व्यवस्था मिलाइयो ।

-सन् १८७२ मा पहिलो पटक फ्री किकको व्यवस्था भयो । यही वर्ष कर्नर किकको विकास भए पनि १८७३ देखि भने पूर्ण रूपमा लागु गरियो ।

-सन् १८७५ देखि गोल पोस्टमाथि क्रसबार राख्न शुरू भयो । सन् १८८२ देखि क्रसबार अनिवार्य गरियो । यसअघि दुईवटा पोल दायाँबायाँ राखिन्थ्यो तर, माथि क्रसबार थिएन ।

-सन् १८९० मा पेनाल्टी किकको व्यवस्था गरियो । खेलाडीले हातले गोल बचाएपछि पेनाल्टी किकको नियम बनेको हो ।

-सन् १८९० मा लिभरपुलका जे ए ब्रोडीले गोलपोस्टमा जाली राख्ने पत्ता लगाए । अर्को वर्षदेखि गोलपोस्टमा जाली राख्ने व्यवस्था गरियो ।

-सन् १९१२ देखि गोल किपरले जताततै हातले बल समाउन नपाउने नियम बनायो । यस वर्षदेखि गोल किपरले पेनाल्टी बक्सभित्र मात्रै बल समाउन पाउने नियम बनाइयो ।

-रेड कार्डको व्यवस्था सन् १९३० को पहिलो विश्वकपदेखि नै थियो । पहिलो रातो कार्ड देखाउने रेफ्री चिलीका अल्बर्टो बाकेन थिए ।

-रेफ्री बाकेनले सन् १९३० मा पेरुका दे लास कासासलाई रातो कार्ड देखाएर मैदान बाहिर पठाएका थिए । जसअनुसार कासास रातो कार्ड आत्मसात गर्ने पहिलो खेलाडी बने ।

-सन् १९५४ मा पहिलो पटक विश्वकप फुटबललाई टेलिभिजनबाट प्रसारण गरिएको थियो ।

-सन् १९७० देखि वैकल्पिक (सब्सिच्युट) खेलाडी खेलाउने नियम बन्यो । जसअनुसार तत्कालीन सोभियत संघका पुसात्च पहिलो वैकल्पिक खेलाडी बने ।

-सन् १९९४ देखि विजयी टिमलाई ३ अंक दिइने व्यवस्था गरिएको हो । यसअघि विजयी टिमका लागि २ अंक प्रदान गरिन्थ्यो ।