पर्यटन विकासमा सबै संस्थाहरु एकजुट हुन जरुरी

470
Shares

अहिले पयर्टन क्षेत्रबाट कसरी आत्मनिर्भरता बन्ने भन्ने विषय राष्ट्रिय बहसको विषय बनेको छ । हामी पर्यटन भन्नेबित्तिकै ‘होलेस्टिक’ रुपमा बुझ्छौं । अब यसलाई पर्वतीय, माउन्टेरिङ, इभेन्ट पर्यटनका रुपमा छुट्याउनुपर्छ । नेपाल आफैँमा प्राकृतिक रुपमा भरिपूर्ण छ । हाम्रा डाडाँकाँडामा रिसोर्ट बनाउन सक्यौं भने दिल्लीबाट प्लेन चार्टर गरेर पर्यटक आउँछन् । त्यहाँ जान्छन्, पाँच दिनको कन्फ्रेन्स गरेर फर्किन्छन् । कर्पोरेटहरु, मल्टी नेसनल कम्पनीहरुसँग यति पैसा छ कि हामीकहाँ आएर खर्च गर्ने भनेको त्यो ‘पिनट’ हो । हामीले त्यसलाई टार्गेट नै गर्न सकेका छैनौं ।

पर्यटकहरु सबै ट्रेकिङ मात्रै जान चाहन्छन् भन्ने पनि छैन । अब हामीले पर्यटनको क्षेत्रलाई छुट्याउनुपर्छ । हामीले ट्रेकिङ मात्र जाने पर्यटकलाई लक्षित नगरी समग्र नेपालको डाइभर्सिटी अनुसार पर्यटन पूर्वाधारको विकास गर्नुपर्छ । त्यसकारण पर्यटनलाई डिफाइन गर्न आवश्यक छ । कुन सेग्मेन्टमा कति प्रतिशतले पर्यटन विकास गर्ने र यसको सम्भावनाहरुलाई खोजी गर्नुपर्ने देखिन्छ । सम्भावनाहरुलाई हेरेर हामीले ‘आर्टिफिसियल’ टुरिजमहरुलाई विकास गर्न आवश्यक छ । टुरिजमलाई बहुआयमिक रुपमा परिभाषा गर्न जरुरी छ । टे«किङ र माउन्टेरिङ मेजर सेग्मेन्ट हो । तर समग्र पर्यटनको कुरा गर्दा अरु आयामहरुलाई पनि भुल्नुहुँदैन ।

पर्वतीय पर्यटन र ट्रेकिङ क्षेत्रमा टानको भूमिका :
टानलाई अगाडि बढाउन विगतदेखि अहिलेसम्म प्रत्येक कार्यसमितिले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । जे–जे काम भएको छ, त्यो एक हदसम्म राम्रो काम भएको छ । म महासचिव हुँदा टान राष्ट्रिय रुपमा परिचित थिएन । हामीले ‘क्राइसिस’ को समय भनौं वा टुरिजम बोर्डको बेथितिका विरुद्ध आवाज उठाउन भूमिका खेल्दै आयौं । जसले राष्ट्रिय रुपमा टानको पहिचान बढायो । अहिले अन्तर्राष्ट्रिय रुपमै टानको महत्व बढ्दै गएको छ ।

अहिलेसम्मको अनुभव प्रयोग गर्दै अब फरक ढंगले अगाडि बढ्ने मेरो योजना हो । अर्को राज्य र व्यवसायीहरुलाई बेनिफिट हुने हिसाबले कसरी पहल गर्ने भन्ने मुख्य चुनौती हो । त्यसमा टानले प्रमुख भूमिका खेल्न जरुरी छ । टान, हान, नाटालगायतका पर्यटनसँग सम्बन्धित जति पनि संघसंस्थाहरु छन्, सबै एकै ठाउँमा आउन जरुरी छ। हामीले एउटै आवाज लिएर अगाडि बढ्दा समग्र पर्यटनलाई प्रभाव पार्दछ ।

नेपालमा पर्यटनको कुरा गर्दा सरकार एकातिर, पर्यटनसँग सम्बन्धित संघसंस्थाहरु अलग–अलग बाटोतिर हिँड्दा समस्या भएको हो । हामीमा समग्र पर्यटन विकासको अवस्था कहाँ छ ?, त्यसलाई प्राप्ति गर्न हामी कहाँ उभिनुपर्छ ? र त्यसका लागि एक ढिक्का भएर राज्यसँग कसरी ‘लबिङ’ गर्ने भन्ने नै अहिलेको मूल कुरा हो । त्यसकारण हामी एक ठाउँमा उभिन र एउटा ‘युनिटी क्रिएट’ गर्न जरुरी छ। त्यसैको आधारमा हाम्रा पर्यटन विकासका राष्ट्रिय समस्या के–के छन् ? भन्ने कुरा निष्कर्षमा आउँछ। हामी हाम्रो जिम्मेवारीबाट पन्छिनुहुँदैन। दिगो पर्यटन विकासका लागि सबैको साथ, सहयोग र पहलकदमीको आवश्यक छ।

यसका लागि हामीले एफएनसीसीआई, चेम्बर अफ कमर्सलगायत सबै उद्योगी संस्थाहरुसँग मिलेर काम गर्नुपर्छ। पर्यटन देशकै महत्वपूर्ण आर्थिक आय हुने क्षेत्र भएकोले सरकारसँग पनि साझेदारी गरेर यसका कार्यक्रमहरु तय गर्न जरुरी छ। अबको जल्दोबल्दो समस्याको रुपमा रहेको जलवायु परिवर्तनको इस्यु हो। यसलाई टानले उठाउन जरुरी छ। हाम्रो हिमाललाई जलवायु परिवर्तनले ठूलो असर पारेको छ । यस विषयमा अन्तर्राष्ट्रिय स्तरसम्म सामूहिक आवाज उठाउन आवश्यक छ।

आगामी दिनमा गर्नुपर्ने कामहरु :
टान व्यवसायीहरुको छाता संगठन हो । मेरो पहिलो सर्त नै व्यवसायलाई संरक्षण गर्ने हो । व्यवसायसँग जोडिएका कम्पोनेन्टहरु, गाइड, सहयोगी, क्लाइमरहरुको संरक्षण गर्ने हो । जति उहाँहरु संरक्षित हुनुहन्छ, त्यति हामी संरक्षित हुन्छौं । समग्रमा व्यवसायीहरुकै हकहितमा बोल्ने, लड्ने र कार्यान्वयन गर्ने मेरो प्राथमिकताको विषय हो ।

जलवायु परिवर्तन, जुन हाम्रो पेसासँग जोडिएको छ। हिमाल पग्लियो, हाम्रा डाँडाहरु नाङ्गा भए, नदीनालाहरु सुके। यो हाम्रो जीवनसम्म प्राप्ति होला, तर भोलिका पुस्तामा यो पेसा हस्तान्तरण गर्दै गर्दा के होला ? भन्ने चिन्ताको विषय बनेको छ।
हाम्रो सानो प्रयासले जागरुकता बढेर जाओस् भन्ने हो। त्यससँगसँगै पर्यटन व्यवसायलाई मर्यादित, राम्रो व्यवसायको रुपमा लैजान राज्यले लिने नीति निर्माणमा टानले लबिङ गर्न जरुरी छ।

जस्तो उदाहरणका रुपमा अहिले ट्याक्सको विषय छ। पोलिसी एकातिर छ, हाम्रो खातामा पैसा आयो, हामीले भ्याट तिर्नुपर्छ, तर हाम्रो खर्चको भ्याट आउँदैन । हामीले खर्च देखाउन नपाउने अवस्था छ । अर्को हाम्रा पेसामा जोडिएका श्रमिकहरुहरु ‘वर्किङ फ्रेमवर्क’ मा हुनुहुन्न । समग्रमा यही विषयलाई लिड गर्ने हो । यसभित्र धेरै कुराहरु छन् ।

मैले जुन कोषको कुरा उठाइरहेको छु । यो व्यवसाय र श्रमिकको हितमा छ । कोषबाट थप क्षतिपूर्ति दिएर राहतको महसुस गर्ने बनाउने भन्ने हो । जोखिममा परेका, बिचल्लीमा परेका उनीहरुका बालबालिकालाई आधारभूत शिक्षा दिने भन्ने हो । नयाँ व्यवसायीको दुर्घटना भयो, दीर्घरोग लाग्यो, त्यहाँ टान पुग्नेछ । उक्त कोषलाई मैले पहिलो वर्षमा एक करोड पु¥याउने योजना बनाएको छु । हामी टानलाई आशाको केन्द्रको रुपमा विकास गर्नेछौं । टानमा मेम्बर बन्न बोलाउने छैनौं । व्यवसायी नै आफैँ टानलाई खोज्दै आउनेछन् । त्यसै गरी अन्नपूर्ण पदमार्ग जुन छुट्टिएको छ, अस्तव्यस्त छ, यसलाई पुनर्जीवित बनाउन पाइलट प्रोजेक्ट गरिनेछ । यसमा सर्भे गर्ने र सम्भावित पदमार्गको रुपमा विकास गरिनेछ ।

अर्को सरकारसँग जोडिएका ट्याक्सका विषयहरु पनि छन् । डलरमा हवाई प्याकेज टिकटहरु हुने हुँदा १३ प्रतिशत भ्याट वाञ्छनीय छैन भन्ने हो । यसलाई शून्यमा ल्याउन राज्यसँग लबिङ गर्नेछौं । एभरेस्ट एरियामा मात्र सेन्टरलाइज भएको टुरिजम मार्केटलाई डाइभरसिटी गर्नुपर्ने अवस्था छ । त्यहाँ हुने ओभर क्राउड, होटलको समस्या, स्यानिटेसनको समस्या, फ्लाइटको समस्या म्यानेज गर्नेछौं । पर्यटकलाई सर्वसुलभरुपमा राम्रो फ्लाइट कनेक्सन अहिलेको चुनौती छ, यसलाई समाधान गर्नेर्छौं ।

अब प्राइभेट टुरिजम सेक्टरले नेपाल एयरलाइन्सको ओभरल रिफमको लागि दबाब दिन आवश्यक छ । किनकि नेपाली एयरलाइन्सले ल्याएको टुरिस्टले नेपालको जीडीपीमा कति योगदान दिएको छ, त्यो प्रमुख कुरा हो । नेपाल एयरलाइन्सलाई रिफम गराउन सरकारलाई दबाब दिनु आवश्यक छ ।

(लेखक पाण्डे वरिष्ठ पर्यटन व्यवसायी हुनुहुन्छ ।)