बाँकेमा झाडापखालाबाट एकै दिन चार जनाको मृत्यु, सात जना बिरामी


बाँके ।

बाँकेको नरैनापुरमा झाडापखालाबाट एकै दिन चार जनाको मृत्यु भएको छ। नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाका कारण सात जना बिरामी परेका छन् ।

झाडापखालाबाट गेगलका २५ वर्षीय रुसा पासी र उहाँकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको मृत्यु भएको नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राले जानकारी दिए।

भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले बताए। उनले भने, “ आफूसहित अन्य स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर बिरामीको उपचार गरिरहेका छौँ।”

झाडापखाला नियन्त्रण गर्न स्वास्थ्य कार्यालय बाँकेसँग समेत समन्वय भएको उनले बताए। गर्मी र खानेपानी दूषित भएका कारण झाडापखाला फैलिएको हुनसक्ने स्वास्थ्यकर्मीको भनाइ छ।