आज कुशेऔँशी । यस दिन वर्षदिनका लागि पुग्ने नयाँ कुश ग्रहण गरेर ढोकामाथि राख्ने गरिन्छ । साथै बाबुआमा नहुनेले श्राद्ध, तर्पणादि कार्य गरी पितृको स्मरण गर्ने प्रचलन छ। बाबुआमा हुनेले चाहिँ सकेको अलङ्कारसहित मिष्ठान्न भोजन दिई बाबुको मुख हेर्ने परम्परा छ।
कुशको मुठो ढोकामाथि राख्ने होस् वा बाबुको मुख हेर्ने, यस्ता हाम्रा धार्मिक मान्यताहरु मानवहितका लागि सृजना भएका हुन् भन्ने कुरा वैज्ञानिक पुष्टि हुँदै गएको छ । यसै सन्दर्भमा हामीले धार्मिक एवं पितृकार्यमा प्रयोग गर्दै आएको कुशमा भएका वैज्ञानिक खोज–अनुसन्धान र यसमा निहित अद्भुत शक्तिका बारेमा यहाँ उल्लेख गर्ने जमर्को गरेको छु।
कुश हालेको पानीमा अक्सिजन वृद्धि :
पानीमा कुश डुबाएर राख्दा सो पानीमा अक्सिजनको मात्रा बढ्ने कुरा भारतमा गरिएको एक अनुसन्धानले पुष्टि गरेको छ । भारतको दापोली अर्बन ब्याङ्क सिनियर साइन्स कलेजका बोटानी विभागका सहप्राध्यापक सचिन सखाल्कर र सोही कलेजकी एमएस्सीमा अध्ययनरत नैना काम्बलेद्वारा आयुर्वेदको आधारमा कुशको बायोलोजिकल अध्ययन गरी शोधपत्र तयार गर्ने क्रममा यो अनुसन्धान गरिएको थियो ।
सन् २००१४ मा प्रकाशित एक जर्नलमा उल्लेख भएअनुसार कुश हालेको पानीमा अक्सिजनको मात्रा कति बढ्छ भन्ने पत्ता लगाउन उनीहरूले पहिलो प्रयोग गरेका थिए । ल्याब परीक्षणका क्रममा विभिन्न प्रक्रियापछि उनीहरूले कुश नराखेको पानीको टाइट्रेसन गर्दाको ब्युरेट रिडिङ टिपोट गरे । त्यसपछि १० दिनसम्म कुश राखेर सो पानीको पनि ब्युरेट रिडिङ टिपे ।
यही ब्युरेट रिडिङलाई विज्ञानको फर्मुला प्रयोग गरेर घुलेको अक्सिजनको मात्रा निश्चित गरियो । जसअनुसार कुश नहालेको पानीको घोलमा अक्सिजनको मात्रा २.६८ ग्राम प्रतिलिटर र कुश हालेपछिको घोलमा अक्सिजनको मात्रा १९.०४ ग्राम प्रतिलिटर देखियो । यसबाट के पुष्टि हुन्छ भने, कुश राखेको पानीमा बढी अक्सिजन घुल्दो रहेछ। यो भनेको कुश नहाल्दाको भन्दा कुश हाल्दा ७ सय प्रतिशतले अक्सिजन बढेको देखियो। अक्सिजनयुक्त पानीको सेवन स्वास्थ्यका लागि कति लाभदायक हुन्छ भन्ने कुरा सर्वविदित नै छ। यसैले हिन्दु परम्परामा पनि पानीसँगै कुशको प्रयोग गरिएको हो।
कुशको टुप्पोमा ध्वन्यात्मक कम्पन (फोनेटिक भाइब्रेसन) सुचालन गर्ने क्षमता हुन्छ। संस्कृत शब्दहरू फोनेटिक साउन्डमा आधारित हुने भएकाले त्यस्ता शब्द उच्चारण गर्दै कुशको टुप्पो पानीमा चोबेर सिञ्चन गर्दा मानवलाई शरीरमा सकारात्मक तरंग प्रवाह गराउँछ।
कुशमा सुचालन क्षमता :
कुश पानीमा डुबाउँदा सो पानीमा अक्सिजनको मात्रा बढ्ने कुरा प्रमाणित भएपछि माथि उल्लिखित भारतका अनुसन्धानकर्ता सहप्राध्यापक सचिन र नैनाले अर्को प्रयोग गरे । कुशमा सुचालन क्षमता कत्तिको हुन्छ भन्ने पत्ता लगाउन उनीहरूले कन्डक्टिभिटी टेस्ट भनेर दोस्रो प्रयोग गरेका थिए । उनीहरूले १ ग्राम कुशका टुक्रा पिसेर पानीमा घोले । त्यसपछि १ मिलिलिटर सो घोल ९ मिलिलिटर डिस्टिल्ड वाटर भएको अर्को टेस्ट ट्युबमा हाले । यसै गरी सिरियल डिलुसनको तरिकाबाट अरु ४ वटा टेस्ट ट्युबमा पनि सो घोल हाले । अब कन्डक्टोमिटरको सहायताले सबै टेस्ट ट्युबमा भएको घोलको सुचालन क्षमताको मापन गरियो ।
यस प्रयोगबाट कुश राखेको पानीमा बढी नै सुचालन क्षमता पाइएको थियो । सो कुश राखेको पानीमा फ्री आयोन्सहरू हुँदा रहेछन् । कुशमा सुचालन क्षमता भएकै कारण मानवस्वास्थ्यका लागि लाभदायक मानिन्छ । सुचालन क्षमता भएकै कारण कुशले शरीर शुद्धीकरण गर्ने कुरा यस अनुसन्धानले देखाएको छ ।
ती शोधकर्ताहरूले कुशमा एन्टिअक्सिडेन्ट प्रोपर्टीको पनि प्रयोग गरेका थिए । सो प्रयोग कसरी गरियो भन्नुभन्दा पनि यहाँ त्यसको निष्कर्ष उल्लेख गर्नु उचित होला । कुशको मात्रा बढाएको खण्डमा एन्टिअक्सिडेन्ट प्रोपर्टी पनि बढ्दै गएको पाइयो । एन्टिअक्सिडेन्ट प्रोपर्टी कुशको मात्रा र इन्कुबेसन अवधिमा निर्भर हुन्छ । कुशको मात्रा र अवधि बढ्दा एन्टिअक्सिडेन्ट प्रोपर्टी पनि बढ्ने अनुसन्धानबाट पुष्टि भएको थियो । यसले पनि मानवस्वास्थ्यका लागि कुश धेरै महत्वपूर्ण साबित भएको छ ।
हानिकारक विकिरणको शोषण :
कुशले हानिकारक विकिरण शोषण गर्न सक्ने कुरा भारतका डा. सदाशिव रावले गरेको प्रयोगबाट पुष्टि भएको छ । हिन्दु रीतिरिवाजमा प्रयोगमा आउने वस्तुहरूमध्ये कुशको महत्वबारे भारतकै एक जिज्ञासु व्यक्तिले आफ्ना बाबुबाट धेरै कुरा सुनेका थिए । एकदिन संयोगवश प्राक्टिसनर डा. सदाशिव राव आफ्नो घरमा आएको समयमा कुशमा विकिरण शोषण गरेर लिने क्षमता धेरै हुने कुरा उनले डा. रावलाई सुनाए । शुरुमा डा. रावले उनको कुरालाई खासै ध्यान दिएनन् । तर यसलाई प्रयोग गरेरै हेर्ने अठोट गरी उनले एक मुठो कुशसहित ती जिज्ञासु व्यक्तिलाई पनि लिएर आफ्नो क्लिनिकमा गए।
डा. रावले आफ्नो हात कुशले बेरेर उनका सहयोगीलाई सो हातको एक्सरे गराउन लगाए । तर अचम्म ! परीक्षणबाट थाहा भयो कि एक्सरेबाट आउने ६० प्रतिशत विकिरण कुशले पो शोषण गरेर लिएछ । अनि ती प्राक्टिसनर डा. रावलाई कुशमा हानिकारक विकिरण शोषण गर्न सक्ने क्षमता धेरै रहेछ भन्ने कुरा विश्वास भयो ।
ग्रहण लागेको समयमा पानीमा कुश डुबाउने र अन्य खाद्यपदार्थलाई पनि कुशले ढाक्ने गर्नुको वास्तविक कारण पनि हानिकारक अल्ट्रा भायोलेट विकिरणबाट पानी एवं खानेकुरा दूषित नहोस् भन्ने नै हो । ग्रहणको समयमा आउने हानिकारक विकिरण पानीमा घोलिन नदिई कुशले शोषण गरेर लिने भएकाले नै पानीमा कुश डुबाइएको हो । तर यसरी पानी शुद्धीकरण गर्ने प्रक्रियालाई परम्परागत संस्कृतिका रूपमा मात्र लिन थालिएकाले कुशको महत्व कम हुँदै गएको महसुस गर्न थालिएको छ।
स्वास्थ्यमा सकारात्मक प्रभाव :
कुशमा केही चुम्बकीय शक्ति पनि हुन्छ । त्यसैले यसबाट बनाइएको पवित्र (औँठी) हातमा लगाउनाले हाम्रो स्वास्थ्यमा चुम्बकीय उपचारसमेत हुने बताइन्छ । कुनै पनि धार्मिक वा पैतृक कार्यमा हातको औँलामा प्रायः सबैले पवित्र (कुशको औँठी) धारण गर्नुको पछाडि पनि यही रहस्य हुनुपर्छ । औँलामा पर्ने कुशको चुम्बकीय प्रभावले रक्तसञ्चारलाई सहजीकरण बनाइदिन्छ र मानसिक तरंगहरूमा पनि सकारात्मक प्रभाव पारी शरीर स्वच्छ बनाइदिन्छ ।
यसै गरी धार्मिक कार्य गर्दा कुशको आसनमा बस्नुपर्ने नियम पुरानै हो। सुकेको कुशको आसनमा बस्दा मानव ऊर्जा जमिनतिर जानबाट रोकिन्छ। त्यसैले कुशको आसनमा बस्दा मस्तिष्क क्षमता पनि बढ्ने बताइन्छ । साथै कुशासनमा बस्नाले मानसिक एकाग्रता बढ्छ र गर्न लागेको कार्यमा ध्यान एकत्रित हुन मद्दत पुग्छ। मानवशरीरमा कुशको स्पर्श हुँदा बुद्धि तीक्ष्ण हुन्छ भन्ने विश्वास पनि गरिन्छ। कुशले शीतलता प्रदान गर्ने हुँदा शारीरिक एवं मानसिक स्वस्थतामा समेत वृद्धि हुन्छ । भनिन्छ, बुद्ध पनि कुशबाट बनेको आसनमा बसेर नै बुद्धत्व प्राप्त गरेका थिए रे !
कुशबाट वातावरणमा सुप्रभाव :
ढोकामाथि कुश सिउरिने चलन धेरै पुरानो हो । ढोकामाथि सिउरेको कुशले ढोकाबाट प्रवेश गर्ने हानिकारक विकिरण ढोकैमा शोषण गर्ने हुनाले घरभित्रको वातावरण स्वच्छ हुन्छ। यो कुराको वैज्ञानिक पुष्टि सदाशिव रावले गरेको प्रयोगबाट नै भइसकेको छ, जुन अगाडि नै उल्लेख गरिसकिएको छ। कुशले शीतलता प्रदान गर्ने हुनाले त्यस घरभित्र शीतलताको अनुभूति पनि हुन्छ।
आजकल होटल, रेस्टुरेन्ट वा अन्य स्वागत कक्षमा तामाको भाँडोमा पानी राखी त्यस पानीमा विविध किसिमका फूल छरेर सजाइएको पाइन्छ। यसले शीतलता प्रदान गरी स्वागत कक्षको वातावरण स्वच्छ बनाउँछ। वास्तवमा भन्ने हो भने कुशसहितको पानी यस्ता भाँडामा राख्नुपर्ने हो। यसमा टुप्पोसहितको कुश डुबाएर राखेमा झनै प्रभावशाली हुन्छ। भिजेको कुशमा फोनेटिक भाइब्रेसन सुचालन क्षमता अधिक हुने भएकाले त्यहाँको वातावरण झनै स्वच्छ हुन्छ।
टुप्पोसहितको कुश नै किन ?
कुशको टुप्पोमा फोनेटिक भाइब्रेसन सुचालन क्षमता उच्च हुन्छ । संस्कृत शब्दहरू फोनेटिक साउन्डमा आधारित हुन्छन् । त्यसैले अभिमन्त्रित कलशको पानीमा कुशको टुप्पो चोबेर निश्चित संस्कृत श्लोकहरू पढ्दै सेचन गर्ने गरिएको हो । कुशको टुप्पोमा फोनेटिक भाइब्रेसन सुचालन गर्ने क्षमता हुने भएकाले यसरी सिञ्चन गरिएको पानीले मानवलाई स्वच्छ, स्वस्थ एवं पवित्र बनाउँछ।
साथै शरीरमा सकारात्मक तरंगको प्रवाह गराउँछ । यस्तो जल छर्किएको स्थान स्वच्छ हुन्छ । तर कुशको टुप्पो छैन भने सुचालन क्षमता कम हुन्छ । यसरी कुशलाई संस्कृत फोनेटिक ध्वनिसहित प्रयोेग गरेमा कुशको क्षमता अझ वृद्धि हुने भारतको मुक्कुरका स्व. श्री रामभट्टाचार्यले पनि बताएका थिए ।
कुश राखेको दूध नफाट्ने :
कोभिडका कारण लकडाउन भएको समयमा नाताले मामा पर्ने पं. हरिहर न्यौपानेले कुरैकुरामा कुशको प्रसंग निकाल्नुभयो । उहाँले भन्नुभयो, ‘हरियो कुश हालेर तताएको दूध फाट्दैन ।’ दूध तताउँदा फाट्न लागेजस्तो लाग्यो भने आफूहरूले पनि तुरुन्तै कुश चिमटेर हाल्ने गरेको उहाँले उल्लेख गर्नुभयो । उहाँको कुरा सुनेर म यस पङ्क्तिकारलाई समेत यसको प्रयोग गर्न मन लाग्यो ।
आफैँले रोपेको कुशको एक टुक्रा चिमटेर ल्याएँ । दूध तताउन बसाल्नुभन्दा पहिले त्यस दूधमा मेरी श्रीमतीले दुई थोपा कागती निचोरेर हालिदिइन् । किनकि कागतीको अमिलो (एसिड) पर्दा दूध फाट्छ । दूध फाटिहाल्यो भने बरबाद हुन्छ भनेर तुरुन्तै हरियो कुशको २–४ टुक्रा हालेर दूध तताइयो तर दूध फाटेन । यसले पुष्टि भयो कि कुश हालेको दूध नफाट्ने रहेछ । कुशमा एसिड निस्तेज गर्ने क्षमता रहेछ ।
एउटा कुरा के बुझ्नु जरुरी छ भने, कुश जति पुरानो हुँदै जान्छ, यसको महत्व पनि घट्दै जान्छ । त्यसैले हरेक वर्षको कुशेऔँसीमा नयाँ कुश ग्रहण गर्नुपरेको हो । कुश काटेको ६ महिनासम्म यसको क्षमता रहिरहन्छ, त्यसपछि बिस्तारै यसको क्षमता ह्रास हुँदै जाने र अन्त्यमा एक वर्षपछि यो निष्क्रियजस्तै हुन्छ ।
प्रतिक्रिया