प्रदेश प्रमुख र मुख्यमन्त्री निवासको हविगत: आउँदा आफैं साँचो खोल्ने, जाँदा बन्द गर्ने

3.76k
Shares

ललितपुर ।

सरकारले मुख्यमन्त्री र प्रदेश प्रमुखको सम्पर्क निवासमा सफाइ र कार्यालय सहयोगी कर्मचारीको व्यवस्था गर्न नसक्दा ती दुई निकायका सचिवालयका कर्मचारीको साँचो खोल्ने र लगाउनमा हैरानी भएका छन्।

मुख्यमन्त्री र प्रदेश प्रमुख ललितपुर सैंबु, भैंसेपाटीस्थित निवासमा आउँदा दुई निकायका सचिवालयका कर्मचारीको काम प्रदेश जाँदा भवनको चाबी सँगै लिएर जाने र आउँदा आफैं खोल्ने नियति भोगिरहेका छन्।

गत वर्ष भदौ १० मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले ७ वटा डुप्लेक्स भवनको उद्घाटन गर्नुभएको थियो । ७ वटा भवनलाई १४ वटा ब्लक (डुप्लेक्स) मा विभाजन गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै कार्यकालमा २०७६ साल असोज १४ गते शिलान्यास गर्नुभएको सबै भवनको डिजाइन एकै खालको छ। प्रत्येक भवनको दुईमध्ये एउटा ब्लकमा प्रदेश प्रमुख र अर्को ब्लकमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय र निवास रहेको छ।

करिब साढे ८५ करोड खर्चिएर बनाएको आलिसान भवनमा प्रदेश प्रमुख र मुख्य मन्त्री बाहिर जाँदा बन्द गर्नुपर्ने अवस्था छ । ‘कर्मचारी छैनन्, आउँदा आफैं साँचो खोल्नुपर्छ, जाँदा बन्द गर्नुपर्छ’ –एक मुख्यमन्त्रीका सचिवालय सदस्यले नाम उल्लेख नगर्ने सर्तमा नेपाल समाचारपत्रसँग भने । उनका अनुसार कहिलेकाँही धेरै दिनपछि निवासमा आउँदा बिजोग हुन्छ, सबै कोठामा धुलैधुलो, सफा गर्न समस्या छ । साढे ३ तले दुई भवनमा मुख्यमन्त्री र प्रदेश प्रमुख आउँदा आफंैले कार्यालय सहयोगी लिएर आउनुपर्ने अवस्था छ ।

‘यति ठूलो भवनमा कर्मचारी नियुक्ति नगर्दा अचम्म लागेको छ । विशिष्ट व्यक्ति वास बस्न आउँदा न सफाइ छ, न त सफाइ कर्मचारी नै’ –अर्का एक सचिवालका सदस्यले भने । सरकारले सुरक्षा व्यवस्था गर्न प्रहरीको व्यवस्था गरेको छ । भव्य भवनको बगैंचामा सफाइ गर्ने कर्मचारी छैन । दुई निकायको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले जति देख्यो त्यही सफाइ गर्ने गरेका छन् । संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको मातहतमा रहेका ती निवासको अवस्थाबारे जानकारी लिँदा कार्यालय प्रमुख सुई चक्रवर्ती कण्ठले दुई निकायको कर्मचारी व्यवस्थापन प्रदेश सरकार आफैंले गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘अति विशिष्टहरूको भवन मर्मत सम्हार गर्ने जिम्मेवारी यो कार्यालयको हो, प्रदेश प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालयमा कर्मचारी खटाउने जिम्मा प्रदेशकै हो ।’ उहाँले बाहिरी कर्मचारी व्यवस्थापन गर्न केही कर्मचारी माग गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘कर्मचारी माग गरेर सहरी विकास मन्त्रालयमा पठाएका छौं, स्वीकृत भएपछि व्यवस्थापन गर्नेछौं ।’ मन्त्रालयले सो फाइल अर्थमा पठाएको छ ।

प्रदेश प्रमुख र मुख्यमन्त्री निवास विशेष भवन निर्माण आयोजनाले निर्माण गरेको थियो । प्रधानमन्त्रीले साँचो हस्तान्तरणलगत्तै सबै प्रदेश प्रमुख र मुख्यमन्त्री विशेष भवन कार्यालयसँग सम्झौता गर्दा दुई निकायको सम्पर्क कार्यालयको कर्मचारी राख्ने जिम्मा प्रदेशलाई दिएको थियो । तर, यो विषयमा कुनै निकायलाई स्पष्ट जानकारी छैन । मन्त्रालयलका अनुसार अब दुई निकायहरू कसरी सञ्चालन हुने ? भन्ने विषयमा कार्यविधि तयार गर्ने क्रममा रहेको छ । सहरी विकास मन्त्रालयका सचिवालयका अनुसार दुई भवन निर्माण र सञ्चालन गर्ने विषयमा कसरी सञ्चालन गर्ने ? भन्ने विषयमा छलफल गर्ने जनाएको छ ।

सैंबु आवास क्षेत्रको २७ रोपनी १२ आना जमिनमा भवन ७ वटा डुप्लेक्स भवन निर्माण गरिएको थियो । एउटा भवनको करिब साढे १२ करोड लागत छ । निर्माण शुरू भएको चारवर्षमा सम्पन्न भएको थियो । ७ रोपनी १२ आना क्षेत्रफलमा फैलिएको भीआईपी कोलोनीमा १७ रोपनी ७ आनामा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि भवन निर्माण भएका थिए । भवन परिसरमा ५ रोपनी क्षेत्रफलमा आन्तरिक सडक छ । यस्तै, ८ आनामा बगैंचा र फाउन्टेन जडित पोखरी छ ।

४ रोपनी १२ आनामा पार्किङ तथा हरियाली क्षेत्र छ । भवनहरूमा बोरिङको पानी आपूर्ति गर्ने गरी १ लाख २७ हजार लिटरको भूमिगत ट्यांकी निर्माण गरिएको छ । केयूकेएलको खानेपानीको व्यवस्था छैन । आकाशे पानी संकलन गर्न ६० हजार लिटरको अर्को ट्यांकी छ । लहरै बनेका भवनहरूमा सातवटा प्रदेशहरूको नाम लेखिएको छ । देख्दा भव्य भवन भए पनि भित्री भागमा राखेको फर्निचर बिग्रन थालेको छ ।

बगैंचा हेरचार गर्ने कर्मचारीको अभाव छ । त्यसैले जताततै फोहोर देखिन थालेको छ । स्थानीयसँग जग्गाको सिमाना विवादको कारण कर्णाली प्रदेशको सम्पर्क कार्यालयसँगै कम्पाउन्ड बनाउन सकेको छैन । झाडी बढेका कारण असुरक्षित बनेको छ । कसले सफा गर्ने ? जानकारी छैन ।

केही दिनअघि ललितपुर महानगरपालिका वडा नं १८ को अध्यक्ष दामोदर खड्काको निर्देशनमा मुख्यमन्त्री र संघीय मन्त्रीको निवासको प्रवेशद्धारमा झाडी सफा भएको थियो । तैपनि अहिले हतारको काम लतरपतर भनेझैं भवन बने पनि धेरै समस्या देखिएको छ । मन्त्री, मुख्यमन्त्री, प्रदेश प्रमुख र मन्त्री निवास ललितपुर–१८ सैंबुमा पर्छ ।