फुटबलको विकास कसरी भयो होला ?

0
Shares

प्राचीनकालदेखि चलन चल्तीमा रहेको फुटबल खेलको आधुनिक रूप १९ औं शताब्दीमा ब्रिटेनका स्कुलहरूमा देखा परेको हो । विश्वमा सबैभन्दा लोकप्रिय यो खेल विश्वका गाउँघरदेखि सडक गल्ली र रंगशालामा खेलिने गरिएको छ । मान्छेहरूले गोलो वस्तुलाई खुट्टाले हान्दै खेल्ने गर्दागर्दै फुटबल खेलको विकास भएको हो । खुट्टाले खेल्ने भएकाले पछि यस खेललाई फुटबल नामकरण गरिएको हो ।
अहिलेसम्म विश्वमा सबैभन्दा बढी संख्यामा दर्शक तान्न सक्ने खेल नै फुटबल हो । एक तथ्यांकअनुसार यसका दर्शक ३ अर्बभन्दा बढी रहेका छन् ।
हाल फुटबल निकै सभ्य तरिकाले खेलिन्छ । तर, प्राचीन समयमा फुटबल खेल्ने तरिका बेग्लै थियो । फुटबलको नियम पनि अचम्मको थियो ।
फुटबलबारे केही रोचक तथ्य:
—प्राचीन समयमा चीनमा युद्धमा हारेका राजाको टाउको जितेका राजाको खुट्टामा राख्ने नियम थियो । त्यसपछि जितेका राजाले त्यो टाउकोलाई खुट्टाले हान्थे । यस्तै, घटनाबाट फुटबल खेलको विकास भएको हो ।
—प्राचीन मेसोअमेरिकन संस्कृतिहरूमा ३००० वर्ष पहिले नै फुटबलको विकास भएको मानिन्छ । त्यतिबेला चट्टानबाट बनेको बल प्रयोग गरिन्थ्यो ।


—केही स्थानमा धार्मिक प्रचलनअनुसार बललाई सूर्यको प्रतीक मान्थ्यो र हार्ने टिमका कप्तानलाई देवतासामु वलि दिने चलन थियो ।
—चीनमा ईसापूर्व तेस्रो र दोस्रो शताब्दीमा हान डाइनेस्टीमा फुटबल खेललाई कुजु नाम दिइएको थियो । कुजुको अर्थ किक बल हो ।
—कुजुलाई एक वर्गको क्षेत्रफलमा गोलो बलमा भुँवा वा प्वाँखसहितको छालाले सिलाएर खेलाइने गरिन्थ्यो ।
—यस खेलको परिमार्जित रूप पछि जापानमा फैलियो र केमारी नामले औपचारिक रूपमा अभ्यास शुरू भयो ।
— कुजुभन्दा पनि पुरानो मार्न गुक थियो, जुन आदिवासी अस्ट्रेलियालीहरूले खेल्ने गर्थे । बल पात वा जराद्वारा घेरिएर बनाइएको हुन्थ्यो ।
—८०० बिसीतिर ग्रीसमा फुटबल खेल इपिस काइरोसको नाममा खेलिन्थ्यो । जसमा १२–१४ जना खेलाडी हुन्थे र गोल लाइन माथिबाट स्कोर गर्न खेल्थे । ग्रीसमा यो खेल धार्मिक पर्वमा मात्र खेलिन्थ्यो ।