पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा नेपालगन्ज रङ्गशालाको अवलोकन


नेपालगन्ज ।

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान नेपालगन्ज रङ्गशालाको अवलोकन गरेका छन्। सो क्रममा उनले नेपालगन्ज रङ्गशाला पश्चिम नेपालको खेलकुद क्षेत्रको विकासका लागि महत्त्वपूर्ण हुने बताए।

हिजो मात्रै सुर्खेतस्थित कर्णाली प्रादेशिक रङ्गशालाको अवलोकन गरेका अध्यक्ष प्रचण्डले पश्चिम नेपालमा खेलकुद संरचनाको विकास हुँदै जानु खुसीको कुरा भएको बताए। ‘माओवादी नेतृत्वको सरकार भएको बेलामा खास गरी हाम्रो नेता महेश्वर गहतराज सङ्घीय खेलकुद मन्त्री भएको बेलामा नेपालगन्ज रङ्गशालाको पूर्वाधार निर्माणले गति लिएको हो’, उनले भने, ‘त्यसैले पनि यो हाम्रा लागि विशेष महत्वको छ।’

यही वर्ष कर्णालीमा दसौँ राष्ट्रिय खेलकुद हुने भएकाले नजिकको नेपालगन्जका खेल पूर्वाधारहरू पनि आवश्यक पर्ने उल्लेख गर्दै नेपालगन्ज रङ्गशालाको उपयोग गरेर फाइदा लिन अध्यक्ष प्रचण्डले खेलाडीहरूलाई आग्रह गरे। उन ले दसौँ राष्ट्रिय खेलकुदको सफलताको शुभकामना पनि व्यक्त गरे । खेलकुद व्यक्तिको स्वास्थ्य र देशको गौरवसँग जोडिएकाले आफ्नो पार्टीले सरकारमा हुँदा वा नहुँदा खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर अघि बढेको उनले स्पष्ट गरे।

सो क्रममा विभिन्न खेलको अभ्यासमा जुटेका खेलाडीहरूले अध्यक्ष प्रचण्डलाई स्वागत गरेका थिए। उनीसँगै नेता शक्ति बस्नेत, चक्रपाणि खनाल, महेश्वर गहतराजलगायतको सहभागिता रहेको थियो।