महाधिवेशन मिति तोक्न कांग्रेस नेतृत्वमाथि दबाब

2.63k
Shares

काठमाडौं ।

मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसको १५औं महाधिवेशन आउन करिब डेढ वर्षअघि नै महाधिवेशनको मिति तोकेर जानेबारे पार्टी नेतृत्वमाथि दबाब बढेको छ। केन्द्रीय समितिको बैठकमा पार्टीको दोस्रो तहका नेताहरूले आगामी महाधिवेशनको मिति तय गर्नुपर्ने नेतृत्वमाथि दबाब बढाएका हुन्।

संस्थापन पक्षले महाधिवेशनको मिति तोक्न हतार नभएको बताइरहँदा संस्थापनइतर समूहका नेताहरुले २०८२ पुसमा महाधिवेशन गरिसक्नुपर्ने विषयलाई जोड तोडका साथ उठाएका छन्। पार्टी महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मालगायत नेताहरूले चलिरहेको पार्टी बैठकमै महाधिवेशनको मिति तय गरेर जानुपर्ने प्रस्ताव अघि सारेका छन्। तर, सभापति शेरबहादुर देउवा र उहाँ निकट नेताहरूले यो विषयलाई निर्णय गर्न हतार गर्नु आवश्यक नभएको जिकिर गरेका छन्।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले विधानअनुसार महाधिवेशन गर्ने भएकाले डेढ वर्षपछि हुने महाधिवेशनको मिति अहिले नै तोकेर जानुपर्छ भन्ने कुनै बाध्यता नरहेको बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पार्टीको महाधिवेशन विधानबमोजिम हुन्छ । कसैले रोकेर रोकिँदैन । तर, अहिले नै मिति तोक्नुपर्ने अवस्था छैन । महामन्त्रीजीहरूले यो विषयलाई धेरै बहसमा ल्याउनु आवश्यक छैन । महाधिवेशन विधानअनुसार नियमित हुने प्रक्रिया हो ।’

विधानतः प्रत्येक चार वर्षमा महाधिवेशन हुने र यदि विशेष परिस्थितिमा ६ महिनादेखि एक वर्षसम्म समय थप गर्न पाउने व्यवस्था छ । समयमै महाधिवेशन गर्न ०८२ पुसभित्र कांग्रेसले १५औं महाधिवेशन गरिसक्नुपर्ने हुन्छ । यही विशेष अवस्थामा पार्टी सभापतिले समय थप गर्न सक्नेछन् । कांग्रेसको शनिवार बसेको शीर्ष नेताको बैठकमा पनि यो विषयले चर्चा पाएको छ । केन्द्रीय समितिको बैठकमा गत फागुन ७–१० मा भएको महासमिति बैठकमा छलफल भएको एजेन्डा पारित गर्ने विषयमा किचलो भएपछि केन्द्रीय समितिको बैठक केही दिन स्थगन गरेर शीर्ष नेतृत्व, पदाधिकारी र पूर्वपदाधिकारीसहितको बैठक पटकपटक बसिरहेको छ । महासमिति बैठकमै महामन्त्रीद्वयले चुनावी तालमेल, महाधिवेशन तालिका, एक्जिट पोलिसीलगायत विषय आ–आफ्नो प्रतिवेदनमा समावेश गरेका थिए । सोही विषयमाथि अझै छलफल जारी छ ।

शनिवार बूढानीलकण्ठस्थित सभापति देउवा निवास बसेको सभापति महामन्त्रीको बैठक बिनानिष्कर्ष टुंगिएको छ । यद्यपि, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदन छलफलमा सहमति नजिक पुगेको नेताहरूले दाबी गरेका छन् । आइतबार ३ बजेका लागि डाकिएको केन्द्रीय समिति बैठक अगाडि नै बस्ने शीर्ष नेता बैठकमै यो विषय टुंगो लगाउने कांग्रेसको तयारी छ । ‘अब आइतबार १ बजे बैठक बसेर टुंग्याउने भन्ने कुरा भयो । विवाद भनेको महाधिवेशन तालिका र गठबन्धनको विषय हो । त्यसमा पनि माओवादीसँगको गठबन्धन टुटिसकेपछि धेरै ठूलो समस्या छैन’ –कांग्रेस ंस्थापन पक्षका एक नेताले भने ।

अबको चुनावमा एक्लै बहुमत ल्याउने गरी संगठन निर्माण अभियानमा लाग्ने विषयमा पनि छलफल भएको बैठकमा सहभागी ती नेताले जानकारी दिए । १५औं महाधिवेशन कार्यतालिका केन्द्रीय समितिको अर्को बैठकले निर्णय गर्ने गरी छलफल भइरहेको भन्दै उनले नेपाल समाचारपत्रसँग भने–‘तर, उक्त विषयमा पनि सहमति जुट्न सकेको छैन।’

महाधिवेशन कार्यतालिकाबारे महामन्त्री गगन थापाले प्रस्ताव गर्नुभएको थियो। त्यस्तै, अर्का महामन्त्री विश्वप्रकाश शर्माको प्रतिवेदनमा उल्लिखित ‘एक्जिट पोलिसी’ संविधानसँग पनि जोडिएको विषय भएकाले संविधान संशोधनको बेला यो एजेन्डालाई छलफलमा ल्याउने गरी छलफल भएको ती नेताले बताए।

कांग्रेस शेखर समूहले यसअघि नै तोकिएको मितिमा पार्टीको महाधिवेशन गर्न सभापति देउवालाई दबाब दिँदै आएको छ। यद्यपि, अहिले नै महाधिवेशनको मिति तय गर्ने निर्णयमा नपुग्ने नेताहरूले बताएका छन्।