आमाको नाउँबाट नागरिकता पाउने क्रम शुरू

11.09k
Shares

काठमाडौं ।

केही प्रक्रियागत झन्झटका बाबजुद आमाको नाउँबाट नागरिकता पाउने क्रम विस्तारै शुरू भएको छ। आमाको नाउँबाट नागरिकता पाउनुपर्ने न्यायिक लडाइँसँगै नागरिकतासम्बन्धी संशोधित ऐन, २०६३ (पहिलो संशोधन २०७९) नियमावलीले गर्दा जिल्ला प्रशासन कार्यालयहरूले आमाको नाउँमा नागरिकता दिन थालेका हुन्।

बाबु बेपत्ता र बाबुको ठेगान नलागेर वर्षौंदेखि नागरिकताविहीन हुनुपरेका नेपालीहरूले नागरिकता पाउन थालेको गृह मन्त्रालयले जनाएको छ। नेपालभित्र फेला परेका तर त्यसै गरी पितृत्व र मातृत्वको ठेगान नभएकाहरूले पनि नागरिकता पाउन थालेका छन्।

कानुनी प्रावधानअनुसार आमाको नामबाट नागरिकता लिनका लागि जिल्ला प्रशासन कार्यालय ललितपुरमा विगत लामो समयदेखि अध्ययनको क्रममा रहेका निवेदनहरूलाई आवश्यक प्रक्रिया र कागजात पूरा गरी जिल्ला प्रशासन कार्यालयले नागरिकता जारी गर्दै आएको छ।

कार्यालयका अनुसार गत पुसदेखि हालसम्म बाबु/आमा दुवैको पितृत्व र मातृत्व नाम थर र ठेगाना नखुलेका २ जना पुरुषलाई नागरिकता दिइएको छ । त्यस्तै, पितृत्वको नामथर र ठेगाना नखुली मातृत्वको मात्र नाम थर र ठेगाना खुलेका साथै विभिन्न संघ÷संस्थाहरूले पालन पोषण गर्दै आएका समेत ५ महिला र ३ पुरुषले गरी १० जनाले वंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र जारी गरिएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले बताउनुभयो।

नेपालको संविधानले आमाको नाउँबाट नागरिकता दिने भनिए पनि नागरिकतासम्बन्धी कानुनको अभावले गर्दा सर्वोच्च अदालतले परमादेश जारी गरेकोमा बाहेक अरूले आमाको नाउँबाट नागरिकता पाउन व्यवहारमा सहज थिएन। नागरिकतासम्बन्धी संशोधित ऐन र नियमावली आएपछि आमाको नाउँबाट नागरिकता दिने क्रम शुरू भएको थियो।

नेपालको संविधानको धारा ११ उपधारा (४) मा नेपालभित्र फेला परेका पितृत्व र मातृत्वको ठेगान नभएका प्रत्येक नाबालकलाई निजको बाबु वा आमा फेला नपरेसम्म वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिने उल्लेख गरिएको छ। यसले गर्दा आमाको नाउँमा नागरिकता लिन अनेक प्रक्रियागत झन्झट भोग्नुपरे पनि नागरिकता नै नपाउने भन्ने स्थिति नरहेको गृह मन्त्रालयका अधिकारीहरू बताउँछन्।

आमाको नामबाट नागरिकता पाऊँ भन्ने निवेदकले माग गरेपछि बाबु कहाँ गयो वा के भयो भन्ने कुराको विषयमा सोधपुछका साथै बाबु बेपत्ता भएको वा पितृत्व ठेगान नलागेको प्रमाण जुटाउन कठिन हुने, सर्जमिन मुचुल्का बनाउनुपर्नेलगायत प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । आमाको नामबाट मात्र नागरिकता पाउन चारवटा शर्त भने ऐनले राखेको छ । नेपालको नागरिक आमाबाट नेपालमा जन्म भएको, नेपालमा नै बसोबास गरेको, बाबुको पहिचान हुन नसकेको र त्यस्तो पहिचान हुन नसकेको भन्दै स्वघोषणा गर्ने व्यक्तिले आमाको नामबाट मात्र वंशजको नागरिकता पाउने छ।

बाबुको पहिचान हुन नसकेको व्यहोराको नागरिकता लिने व्यक्ति वा उसको आमाले स्वघोषणा गर्नुपर्ने प्रावधान ऐनमा छ । अहिले पनि यो विषय राम्ररी कार्यान्वयन गरेको पाइएको छैन । कार्यविधि बनेपछि कार्यान्वयनमा तीव्रता आउने छ । यस अवस्थामा कर्मचारीहरूको अग्रसरता, स्वविवेकको आधारमा ती कानुनी प्रावधानहरू कार्यान्वयन भइरहेका छन् ।

भौतिक उपस्थिति, वात्सल्य प्रेम र हेरविचार, जिम्मेवारी आदि विषयहरूबाट बालबालिकाका लागि बाबुको पहिचान जोडिने भन्दै सर्वोच्च अदालतले भावनात्मक सम्बन्ध नै नभएको व्यक्तिलाई परिवारका सदस्यले चिनाएको भरमा बाबु स्वीकार्न बाध्य नहुने औंल्याएको छ ।