नेपालमा विद्युतीय पुस्तकालयको उदीयमान अवस्था

1.22k
Shares

ज्ञान सामग्रीहरूको उचित व्यवस्थापन तथा पाठकहरूको सहज पुहँच र छिटोछरितो सेवा सम्प्रेषणका लागि पुस्तकालयमा आधुनिक प्रविधिहरूको प्रयोग हुन थालेको छ। प्रविधिको प्रयोगमार्फत पुस्तकालयहरू अटोमेसन, डिजिटाइजेसन तथा अनलाइनतर्फ उन्मुख हुँदै छन्। प्राचीन मठ, मन्दिर, चैत्य, गुम्बा, विहार आदिबाट शुरू भएको पुस्तकालयको यात्रा अहिले डिजिटल, अटोमेटेड तथा भर्चुअल पुस्तकालयको स्वरूपमा परिणत हुँदै गइरहेका छन्।

आजभोलि विद्वान्हरूले कुनै एक कुनामा बसेर विश्वको कुनै पनि शहर वा विश्वविद्यालयका ज्ञान–सामग्रीहरू थाहा पाउनुका साथै डिजिटलरुपमा प्राप्त गर्न सकिने एक सहज गन्तव्य स्थल र साधनका रूपमा पुस्तकालयलाई लिन थालेको पाइन्छ। आधुनिकताको प्रभाव नेपालका अधिकांश पुस्तकालयहरूको सेवा प्रवाहमा पनि देखिन थालेको छ।

पुस्तकालयहरूलाई समयको मागअनुुसार प्रविधिमैत्री गराउनु आजको अनिवार्य आवश्यकता पनि भएको छ । पुस्तकालयले सूचनाको उचित व्यवस्थापन र सहज वितरण कार्यका लागि प्रविधिको प्रयोग गर्नुपर्ने हुन्छ, जसले पुस्तकालयको स्वरूप र सेवामा उल्लेखनीय परिवर्तन ल्याउँछ। ई–पुस्तकालयका स्वरूपहरू नै भर्चुअल, कागजविहीन, पर्खालविहीन पुस्तकालय हुन्। पुस्तकालयमा पाठकमैत्री प्रविधिको सञ्चालनबाट पाठकहरूले आफूलाई चाहिएको पुस्तक खोज्न दराजसम्म गइरहनुको सट्टा एकै ठाउँमा बसेर किबोर्ड थिचेको भरमा नै आफूले खोजेको सूचना पाउँछन्। यसले पाठकको समय र श्रमको बचत गर्नुका साथै सेवामा गुणस्तरीयता, व्यवस्थापनमा स्तरीयता तथा सहज वितरण प्रणालीको स्थापना गरेको छ।

पुस्तकालयको बृहत् सङ्कलनलाई प्रभावकारी ढंगले व्यवस्थापन गर्नका लागि कम्प्युटरलगायत अन्य आवश्यक मेसिन तथा उपकरणहरूको प्रयोग हुन्छ। कर्मचारीहरूले दैनिक गर्ने कार्यलाई अटोमेसन सफ्टवेयरको प्रयोगबाट छिटोछरितो बनाउन थालिएको छ। पुस्तकालयमा सदस्यता कार्ड तथा पुस्तक लेनदेन कार्यका लागि बारकोड सिस्टमलाई पनि विस्थापित गर्दै आर.एफ.आई.डी. प्रविधिको प्रयोग हुन थालेको छ, जुन प्रविधिलाई त्रि.वि. केन्द्रीय पुस्तकालयले पनि प्रयोगमा ल्याउने अन्तिम तयारी प्रक्रियामा रहेको छ। पुस्तकालयका ज्ञान सामग्रीहरूको चोरी हुने सम्भावनाको रोकथामका लागि सी.सी. क्यामेरा, तथा म्याग्नेटिक डिटेक्टन सिस्टमको सेक्युरिटी गेटलगायतका प्रविधिहरूको प्रयोग गर्ने गरिन्छ।

विकसित देशहरूमा बैंकमा जस्तो लाइब्रेरीमा पनि एटीएम मेसिन प्रयोग शुरू भइसकेको छ। पाठकहरूले बैंकमा पैसा निकालेजस्तै गरी फुर्सदको समयमा चाहेको पुस्तक मेसिनको प्रयोग गरेर लैजान सक्ने अवस्था आइसकेको छ। यद्यपि यस्तो प्रविधि हाम्रो देशका पुस्तकालयहरूमा अभ्यासमा आइसकेको छैन। तथापि हाम्रा अधिकांश पुस्तकालयहरूमा सफ्टवेयरको प्रयोग गरी बारकोडबाट सेवा प्रवाह गर्न शुरू गरिसकेका छन्। त्रिभुवन विश्वविद्यालयले यस वर्ष आफ्ना आङ्गिक क्याम्पसका पुस्तकालयहरू पूर्णरूपमा अटोमेसन गर्ने नीति लिएको छ। नेपालका कतिपय शैक्षिक संस्थाहरूले ई.एम.आई.एस.मा पुस्तकालय पनि एकीकृत गरी अटोमेसन कार्य सञ्चालन गरेका छन्।

डिजिटल पुस्तकालयका लागि हार्डवेयर, सफ्टवेयर र नेटवर्किङ आधारभूत तत्वहरू हुन्, जुन पूर्वाधारहरूको व्यवस्थापनबाट मात्र डिजिटल पुस्तकालयको परिकल्पना साकार हुन सक्छ । डिजिटल पुस्तकालय निर्माणका लागि सफ्टवेयरहरू निःशुल्क वा सःशुल्करूपमा पाउन सकिन्छ । नेपालका नाम चलेका व्यवस्थित पुस्तकालयहरू त्रि.वि. केन्द्रीय पुस्तकालय, नेपाल राष्ट्रिय पुस्तकालय, मदन पुरस्कार पुस्तकालयलगायतले निःशुल्क प्राप्त हुने डि–स्पेस सफ्टवेयर प्रयोग गर्दै आइरहेका छन् । केही पुस्तकालयहरूले व्यावसायिक सफ्टवेयर पनि प्रयोग गरेका छन् । यस्ता सफ्टवेयरको प्रयोगबाट ओपन एक्सेसमार्फत फुल टेक्स्ट डाउनलोड गर्न मिल्ने गरी इन्स्टिच्युसनल रिपोजिटरीहरू विकास गरेका छन् ।

विद्युतीय अध्ययन सामग्रीप्रति पछिल्लो समय पाठकहरूको बढ्दो प्रयोगलाई मध्यनजर गरी त्रि.वि. केन्द्रीय पुस्तकालयले ई–लाइब्रेरी सेवा विस्तार गर्दै आइरहेको छ । विदेशी डाटाबेसहरू खरिद गर्नुका साथै एसियन डेभलपमेन्ट बैंक तथा नेसनल डिजिटल लाइब्रेरी अफ इन्डियासँग ई–रिसोर्सेसको प्रयोगमा सम्झौता र सहकार्य गरी पाठकहरूलाई रिमोट एक्सेस सुविधासहित अनलाइन पुस्तकालय सेवा दिँदै आइरहेको छ। नेपालका विद्वान् वर्गहरूलाई अन्तर्राष्ट्रिय जर्नलका लेख–रचना प्रयोग गर्ने सुविधालाई त्रिभुवन विश्वविद्यालयमा मात्र सीमित नराखी देशका अन्य निकायलाई संस्थागतरूपमा र पाठकको इच्छानुसार व्यक्तिगतरूपमा पनि उपलब्ध गराइरहेको छ।

त्रि.वि.केन्द्रीय पुस्तकालयसँग पाठकहरूको बढ्दो विश्वसनीयतालाई कायम राख्नका लागि पुस्तकालयको आफ्नो छुट्टै ई–लाइब्रेरीको डाटाबेस बनाउने प्रयास गरेको छ । यसमा हालसम्म स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहका २० हजारभन्दा बढी शोधपत्रहरू निःशुल्करूपमा हेर्न पाइन्छ । त्यसका साथै त्रि.वि.का ऐन नियम, पुराना प्रश्नपत्र, पाठ्यक्रमलगायतका स्रोतसामग्रीहरू अनलाइनबाट नै हेर्न र डाउनलोड गर्न सकिन्छ । नेपालबाट प्रकाशन हुने जर्नलहरूको डाटाबेस नेप्जोलको व्यवस्थापन र सञ्चालनको कार्य पनि त्रि.वि. केन्द्रीय पुस्तकालयले गर्दै आइरहेको छ । जसमा ४ सय ४० वटाभन्दा बढी जर्नलहरूका लेख–रचनाहरू निःशुल्क हेर्न र डाउनलोड गर्न सकिन्छ ।

नेपाल सरकारले आ.व. २०८०/०८१ को बजेट वक्तव्यमा आफ्ना मातहतमा रहेका केशर पुस्तकालय, नेपाल राष्ट्रिय पुस्तकालय र डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयको सुदृढीकरण तथा पुस्तकहरूको डिजिटाइजेसन गर्ने लक्ष्य लिएको घोषणा गरेको थियो । त्यसकै परिणामतः नेपाल सरकार र एडीबीबीचको सहकार्यमा माथि उल्लिखित तीनवटै संस्थामा सार्वजनिक पुस्तकालयहरूको सुदृढीकरण र डिजिटाइजेसनको लागि प्रारम्भिक कार्य हुँदै गइरहेको छ । तथापि यो परियोजना प्रारम्भिक अध्ययनकै क्रममा रहेकाले तार्किकरूपमा परिणामात्मक देखिन सकेको छैन । तर पनि यी पुस्तकालयहरूले सीमित साधन–स्रोतमा आफ्ना पुराना महत्वपूर्ण डकुमेन्टहरू डिजिटाइजेसन गर्ने कार्य निरन्तररूपमा गरिरहेको पाइन्छ ।

नेपालका ऐतिहासिक, सांस्कृतिक तथा दुर्लभ अभिलेखहरूको सङ्ग्रह गर्दै आइरहेको राष्ट्रिय अभिलेखालयले माइक्रोफिल्म तथा डिजिटाइजेसन गर्ने कार्य गरिरहेको छ। त्यसै गरी नेपाली वाङ्मयको संरक्षण र संवद्र्धनमा समर्पित मदन पुरस्कार पुस्तकालयले पनि सङ्गृहीत सामग्रीहरूलाई डिजिटाइजेसन गरी अनुसन्धानकर्ताहरूलाई सहजरूपमा उपलब्ध गराउने गरेको छ । नेपालमा विद्यालय शिक्षाका लागि आवश्यक पाठ्यपुस्तक तर्जुमा गर्न जिम्मेवार निकायका रूपमा रहेको पाठ्यक्रम विकास केन्द्रले माध्यमिक विद्यालयसम्मका पाठ्यपुस्तक, शिक्षक निर्देशिका, फोटोलगायत केही अध्ययन सामग्रीहरू डिजिटाइजेसन गरी सर्वसाधारणसम्म पहुँचयोग्य बनाएको छ।

सानेपास्थित साझा शिक्षा ई–पाटीले शिक्षक, विद्यार्थीलगायत सबै उमेर समूहका लागि उपयोगी हुने गरी पुस्तक, अडियो, भिडियो तथा अन्य विविध शैक्षिक सामग्रीहरू सजिलै पहुँच तथा छिटो र निःशुल्क डाउनलोडसमेत गर्न सकिने गरी ई–पुस्तकालय निर्माण गरेको झन्डै दुई दशक हुन लागेको छ । साझा शिक्षा ई–पाटी र नेपाल लाइब्रेरी फाउन्डेसनको सहयोगमा विद्यालय तहमा विद्युतीय पुस्तकालयहरू सञ्चालन भइरहेको देखिन्छ । नेपालमा ज्ञान सामग्रीहरूको डिजिटाइजेसन गर्ने क्रममा नेपालको पत्रकारिताको इतिहासमा १२० वर्षभन्दा पुरानो विरासत बोकेको गोरखापत्र संस्थानका पुराना प्रकाशनहरूलाई डिजिटाइजेसन गर्न शुरूवात गरेको छ।

नेपाल सरकारको कानुन निर्माण, संशोधन तथा परिमार्जन गर्नका लागि स्थापित नेपाल कानुन आयोगले नेपालको संविधान, ऐन नियम, विनियम आदि अनलाइबाट हेर्न सकिने सुविधा दिएको छ। अत्यन्त महत्वपूर्ण हस्तलिखित ग्रन्थहरूको सङ्कलन रहेको आशा सफू कुथि पुस्तकालयले पनि डिजिटाइजेसनको काम शुरूवात गरेको छ । सामाजिक अनुसन्धानमा समर्पित सोसल साइन्स वहाः होस् अथवा आमसञ्चार तथा पत्रकारिताको अनुसन्धान केन्द्र मार्टिन चौतारी, दुवैले आ–आफ्ना विधासँग सम्बन्धी केही डकुमेन्टहरू डिजिटाइजेसन गरेको पाइन्छ । नेपालको बहुलवादी र बहुसांस्कृतिक विशेषतालाई आत्मसात् गर्दै विभिन्न विधाका फोटोहरू संरक्षण गर्ने उद्देश्यका साथ सन् २०११ देखि सानेपा ललितपुरमा नेपाल पिक्चर लाइब्रेरीको शुरुवात गरिएको छ । जहाँ एक लाखभन्दा बढी फोटोहरू डिजिटाइजेसन गरिएको छ ।

नेपालमा डिजिटल पुस्तकालय सेवा प्रवाह गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूको पनि महत्वपूर्ण भूमिका रहेको देखिन्छ। द एसिया फाउन्डेसनले बालबालिकाका लागि तयार गरेका अनलाइन डिजिटल लाइब्रेरीमा ४६ भाषामा ८ हजारभन्दा बढी पुस्तकहरू उपलब्ध छन्। यसमा नेपालीलगायत अन्य स्थानीय भाषाहरू नेवारी, थारू, लिम्बु, मगर आदि भाषामा पनि अनुवाद गरी मोबाइल एप्सबाट पढ्न–सुन्न सकिने सुविधा दिएको छ। त्यसै गरी रुम टु रिड नामक संस्थाले लिटरेसी क्लाउडमार्फत विद्यालय तहका कथा, कविता, निबन्धलगायत विविध विधाका पुस्तकहरू डिजिटल ढाँचामा हेर्न सकिने व्यवस्था गरेको छ। संयुक्त राष्ट्रसंघ सूचना केन्द्र नेपालले संयुक्त राष्ट्रसंघ र यसका भ्रातृसंस्थाका प्रकाशनहरूलाई डिजिटाइजेसन गरी पाठकहरूलाई निःशुल्क अध्ययन तथा डाउनलोड सेवा दिँदै आइरहेको छ।

प्रविधिको प्रयोगले आजभोलि सूचना तथा ज्ञानका स्रोतको क्षेत्र व्यापक भएको छ । आफ्ना सूचना तथा प्रकाशनहरूलाई डाटाबेस, वेब पोर्टल, रिपोजिटरी तथा सोसल मिडियाको माध्यमबाट पनि सम्प्रेषण गर्न लागेका छन्। नेपालका पुस्तकालयहरूको विद्युतीय सेवा प्रवाहको उदीयमान अवस्थालाई सार्थकता दिन सरकार, गैरसरकारी निकाय, शैक्षिक संस्थालगायत पेसागत संघसंस्थाहरू लागिपरेका छन्।

तथापि विद्युतीय पुस्तकालय निर्माणका लागि प्रचलित प्रतिलिपि अधिकार ऐनमा आवश्यक संशोधनका साथै पुस्तकालय डिजिटाइजेसनसम्बन्धी छुट्टै ऐन नियमको तर्जुमा हुनुपर्ने देखिन्छ। डिजिटाइजेसनका लागि आवश्यक पर्ने अत्याधुनिक स्क्यानिङ मेसिन, डिजिटल सामग्रीको भण्डार गर्न सर्भरलगायत उपकरणको व्यवस्थापन गर्न सामान्य पुस्तकालयका लागि धेरै खर्चिलो हुन्छ। त्यसकारण, सरकारले त्यस्ता उपकरण खरिदका साथै वैकल्पिक व्यवस्थासहित स्वदेश तथा विदेशमा समेत भण्डारण गर्न सक्ने गरी सर्भरको व्यवस्था गर्नुपर्दछ। डिजिटाइजेसनमा शुद्धता र एकरूपता ल्याउनका लागि देशव्यापीरूपमा निश्चित मापदण्ड बनाउने तथा कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम, वर्कसपहरू सञ्चालन गर्नु आवश्यक भइसकेको छ ।

देशमा स्थापित पुस्तकालयहरूको सहकार्य र समन्वयमा एकीकृत तवरले पुस्तकालयको डिजिटाइजेसन परियोजना अगाडि बढाउन सकियो भने विद्युतीय पुस्तकालयले सार्थकता पाउँछ। डिजिटल स्रोतहरू इन्टरनेटको माध्यमबाट पाठकहरूको पहुँचमा सातै दिन, चौबीसै घण्टा निरन्तर सेवा पुर्‍याउन सकिन्छ।

जब पुस्तकालयका सङ्गृहीत ज्ञान सामग्रीमा सुविधाजनक र प्रभावकारीरूपमा समावेशी र समानुपातिक अवधारणा अनुरूप शारीरिकरूपमा अशक्त पाठकहरूको पनि सहज पहुँच भई अनवरत प्रयोग भइरहन्छ, तबमात्र सत्रौँ पुस्तकालय दिवसको आदर्श वाक्य ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ ले सार्थकता पाउँछ । जय पुस्तकालय दिवस !