गएको आइतबार बेलुकातिर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा एउटा सान्दर्भिक प्रश्न राखे । प्रश्न थियो– देश कसले चलाइरहेछ ? कुनै पनि देशको प्रधानमन्त्रीले नै देश कसले चलाइरहेको छ भन्ने प्रश्न उठाउनुलाई चानचुने ठानिनुहुन्न। देशमा देखा परिरहेका वर्तमान बेथिति र भविष्यमा देखिने बेथितिसमेतको अन्त्य गर्ने बाचाबन्धन गरेर देशको प्रधानमन्त्री बन्न पुगेका प्रधानमन्त्री स्वयंमार्पmत देश कसले चलाइरहेको छ भन्ने प्रश्न तेर्सिन पुग्नुलाई जनजनले गम्भीरतापूर्वक लिएका छन् । तत्काल हेर्दा प्रधानमन्त्रीको यो प्रश्न विद्युत् महसुल बक्यौतासँग जोडिन पुगेको देखिन्छ।
वास्तवमा प्रश्न विद्युत् बक्यौतासँग मात्र होइन, हरेक क्षेत्रमा देश कसले चलाइरहेको छ भन्ने प्रश्न उठिरहेको थुप्रै समय व्यतीत भइसकेको छ। लाखौँको संख्यामा फर्जी चालक अनुमतिपत्र वितरण त्यत्तिकै भएको होइन। अर्बौंअर्बको भ्रष्टाचार त्यत्तिकै भएको होइन। अर्बौंअर्बको बेरुजु त्यत्तिकै भएको होइन। यसबाहेकका अन्य विभिन्न काण्डहरु त्यत्तिकै भएका होइनन् । किनकि बलियो सरकारको उपस्थिति भएको भए त्यसको माध्यमबाट भ्रष्ट र भ्रष्टाचारका कुनै पनि पाइला टेक्नै दिने थिएन। कथंकदाचित टेकिहाले बेलैमा सार्थक सम्बोधनमार्फत छिनोफानो भइसक्थ्यो। त्यस्तो हुन सकेको भए प्रधानमन्त्रीबाट देश कसले चलाइरहेको छ भन्ने प्रश्न आउनुको सट्टा देश मैले हाँकिरहेको छु भन्ने सन्देश प्रवाह हुन्थ्यो होला। थोरै स्वार्थ अभिप्रेरित भएर विद्युत् बक्यौताको सवालमा प्रधानमन्त्रीले यो प्रश्न उठाउनुभएको भए तापनि प्रश्न यथोचित र सान्दर्भिक छ।
२०४६ पछि सत्तामा वा सरकारमा जो पुगे तापनि देश उनीहरुले चलाएका छैनन् वा चलाउन पाएका छैनन्, यो सत्य हो। यो कुरालाई जनजनले पटक–पटक उठाइनै रहेका थिए तर पटक–पटक प्रधानमन्त्री भए तापनि पछिल्लोपटक प्रधानमन्त्री पदमा आसीन हुन सौभाग्य प्राप्त गर्न पुगेका केपी शर्मा ओलीले देश आफूले पनि चलाउन नसकेको कुरालाई स्वीकारोक्तिका माध्यमबाट सम्भवतः थोरै नै भए तापनि आफ्नो अन्तरात्माको आवाजलाई प्रस्फुरित गरी केही हलुका अनुभूति लिन सफल भएको अर्थमा यो कुरालाई अधिकांश जनजनले आत्मसात् गरेका छन् ।
वास्तवमै नेपाली जनहरु पटक–पटकको दलीय धोखाघडीबाट आजित भैसकेका छन् । सेवामुखी राजनीतिको नाममा प्रवेश गरेका राजनीतज्ञहरुको बारेमा जान्नको निमित्त सामाजिक सञ्जालमा प्रवेश गर्नासाथ आपूmले पोस्ट गरेका कुराहरुबाट कहीँ–कतै कानुनी अवज्ञा भए तापनि सजाय सहन तयार भएर दलीय नेताहरुका बारेमा उनीहरुले अपनाएका गलत नीति र गलत कामका बारेमा टीकाटिप्पणी गर्दै आइरहेका छन् । २०४६ पछि देशमा प्रायोजितरुपमा गराइने थरी–थरीको आन्दोलनलाई जनआन्दोलनको नामाकरण गरी त्यसलाई भजाएर आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने बानी परेका राजनीतिक व्यवसायीहरुले जनताको चाहना पूरा गर्छु भनेर जति गुलियो अश्वासन बाँडेर सत्तामा पुगे तापनि सत्तामा पुगेपछि आफ्नो दम्भको प्रदर्शनमा अलिकति पनि कतै कमी ल्याउने धृष्टतासम्म गर्न सकेनन् । केही सद्गुणी पात्रले त्यो धृष्टता गरिहाल्यो भने यसले मेरो खुट्टामा बन्चरो हान्न आयो कि भन्ने चिन्ता र छटपटाहटले मलजल गरी कसरी उपयुक्त पात्रलाई थाङ्नामा सुताउने भन्ने कुराले बारम्बार घर गरिरहेको कारणले देश यो अवस्थामा पुगेको हो भन्न संकोच मान्नुपर्दैन ।
पञ्चायती अवशेषहरुले यदाकदा बहुदलीय व्यवस्थामा हालिमुहाली गर्ने प्रयत्न गरेका कुरालाई क्षणिक अपवादको रुपमा राख्ने हो भने पञ्चायतकालपछि यो वा त्यो नाउँमा कांग्रेस र कम्युनिस्टहरुले नै देशको बागडोर अहिलेसम्म हाँकिरहेका छन् । वर्तमानमा त झन् कांग्रेस र कम्युनिस्टहरुकै गठबन्धन सरकार छ। राणाशासनलाई ढालेर सत्तामा पुगेको कांंग्रेस होस् या पञ्चायत व्यवस्थाविरुद्ध आन्दोलनको नाउँमा सत्तामा पुगेको कांग्रेस वा कम्युनिस्ट होस् अथवा वर्तमान गणतान्त्रिक संवाहक भनाउँदा नै किन नहुन्, ३४–३५ वर्षदेखि सत्ता यिनीहरुकै वरिपरि घुमिरहेको सत्य हो। तर सत्ता सञ्चालनमा भित्री र बाहिरी प्रत्यक्ष वा अप्रत्यक्ष हस्तक्षेपको कारण वास्तविकरुपमा सत्तामा पुगेकाहरुले सहीरुपमा शासन सञ्चालन गर्नै सकेनन्। जनहितलाई सम्बोधन गर्नुभन्दा पनि सधैँभरि विजयी उन्मादको दम्भ प्रदर्शित गर्दै आफ्ना वरिपरि रहेका आफ्ना र विश्वासपात्र भनाउँदाहरुका सही÷गलत जे सल्लाह प्राप्त हुन्छन्, आँखा चिम्लेर त्यसलाई आत्मसात् गर्नुबाहेक, अरु आवश्यक विषय र सेवाहरु जेसुकै होस् भन्ने नीतिबाहेक अरु राम्रा जनहितसम्बन्धी नीतिहरुले कहिल्यै प्राथमिकता प्राप्त गर्न सकेनन् ।
आजको दिनसम्म आइपुग्दा सत्तासीन शासकहरु र तिनका आफ्नै दौँतरी भनाउँदाले एकले अर्काको लुगा च्यात्दै लगौंटी मात्र बाँकी राखेर नाङ्गै बनाउँदा पनि दुवै थरीले हामीले कहिल्यै नच्यातिने लुगा लगाएका छौँ भन्दै थरी–थरीका अलापविलाप गर्दै सडकमा नाङ्गै नाच देखाइरहेका छन् । प्रत्येक जनजनले केलाइ भन्दा केलाई लाज भयो भनेर कुरीकुरी गर्दा पनि लाज ढाक्ने प्रयास गर्नु त परै जाओस्, थप एक–अर्काले लगाएका लुगाहरुलाई च्यात्दै अझै लुगा लगाइरहेका नै छौँ भनी नग्न प्रदर्शन गरिरहेका छन्।
आफ्नो स्वार्थ लाद्ने सवालमा अवस्थाअनुसार दलभित्र खेल्न सक्ने स्वदेशी वा विदेशी चाटुकारहरु तथा अवसरवादीहरुले आफ्नो स्वार्थको निमित्त नाङ्गिएकाहरुलाई मलजल गर्न बाँकी राख्ने कुरै भएन। सल्लाह र सुझाव दिने नाउँमा आ–आफ्नो स्वार्थको खेलोफड्को गर्न पाइन्छ भन्दै यो वा त्यो नाउँबाट दगुर्ने कामको निरन्तरता वर्तमानमा पनि जारी नै छ।
कुनै अमुक दलका व्यक्तिहरु प्रधानमन्त्री, मन्त्री र सांसद हुन सक्छन् तर प्रधानमन्त्री, मन्त्री र सांसद कुनै अमुक दलको वरिपरि घुम्नु र रमाइराख्नु अनि जनताको आवाजचाहिँ नबोल्नु भनेको जनमतलाई ठाडै नकार्नु हो । यति कुरा ज्ञात हुँदाहुँदै पनि दलीय स्वार्थभन्दा पनि निम्नस्तरको व्यक्तिगत र गुटगत स्वार्थमा अन्धो भएर देशलाई वर्तमान दुर्गतिसम्म ल्याइपु¥याउँदा दलीय नायक भनाउँदाहरुमा अझै आफूले गल्ती गरेको कुराको चेत खुलेको देखिँदैन। अरु त अरु, आन्तरिक विवाद मिलाउन सहयोग गर्ने भन्दै छिमेकीहरुबाट थरी–थरीका प्रतिनिधिहरु यो वा त्यो नाउँमा भित्रिनुलाई अफै गौरवको विषय बनाइरहेका छन्। त्यति मात्रै होइन, यो छिमेकी मुलुक वा त्यो छिमेकी मुलुकको मलाई सहयोग र समर्थन आवश्यक छ भन्दै सीधै सञ्चारमाध्यमबाट हस्तक्षेपको लागि विदेशीहरुलाई खुल्ला आह्वान गर्ने कामसमेत यी सत्ताधारीहरुले बेलाबेलामा गर्ने गर्दछन् भने देशको लागि योभन्दा विडम्बना अरु के हुन सक्छ ?
देशको प्रधानमन्त्रीले नै समय–समयमा आफ्ना कार्यकर्ताहरुलाई अरिँगालको रुपमा प्रस्तुत हुनु भनी निर्देशन पनि यदाकदा दिने गर्दछन् । आज तिनै अरिँगालहरु प्नि समूह–समूहमा विभाजित हुँदै एक–अर्कालाई सिध्याउने परिपञ्चमा उद्यत् भएर लागिपरिरहेका छन् । देशमा २०४६ सालपछिको दलीय इतिहासलाई हेर्दा कुनै पनि दलमा सामान्य विवादको जन्म हुनासाथ सो विवादलाई आपसमा मिलाउनुको साटो देशी–विदेशीको प्रभावमा परी नचाँहिदो प्रतिस्पर्धामा अल्झिन पुग्ने प्रवृत्ति सदैव हाबी भइरहेको बारे प्रत्येक जनले जानकारी राखेका छन्।
नेपाललाई आफ्नो स्वार्थ अनुकूल बनाउने सवालमा देशका कथित नेताहरुका एक–आपसमा स्वार्थ बाझिएको जानकारी हुनासाथ आफ्नो अनुकूल खेलाउन चाहने स्वदेशी वा विदेशी शक्तिहरुले दलहरुलाई टुक्र्याउन निमेषभर पनि लाग्दैन भन्ने पटक–पटक देखा परिसकेको छ। त्यसैको निरन्तरता वर्तमानमा पनि कायमै छ भन्ने कुरा प्रधानमन्त्री स्वयंको यो प्रश्नले पनि उजागर गरेको छ । कांग्रेस होस् या कम्युनिस्ट, राजावादी होस् या धर्मवादी, हरेकलाई फुटाउन र मिलाउन विदेशीको सक्रियतालाई नै अनिवार्य मानिने कुराको अन्त्य देशमा कहिल्यै हुन सकेन । अब यी अवस्थालाई प्रत्येक युवाहरुले आत्मसात् गर्दै विशेष गरी छयालीसपछिका युवाहरु जो दलीय भ्रममा परी उनीहरुको दासतालाई स्वीकार गर्दै यो वा त्यो दलको भन्दा पनि व्यक्तिको पछि लागेर जिन्दावाद र मुर्दावादको नारा घन्काउँदै हिँड्ने कामलाई अब त्याग्नै पर्दछ । देशको समुन्नतिको लागि आफैँले नेतृत्व सम्हाल्ने वातावरणको सृजना युवाहरुले गर्नै पर्दछ । यसमा अब किञ्चित पनि ढिला गरिनुहुन्न ।
पछिल्लो सरकार गठन भएको एक महिना पनि भएको छैन, दलीय रोइलो पुनः शुरु भएको आभास जनजनले गर्न थालेका छन्। हुन त कुनै पनि बेला देखा पर्न सक्ने दलीय रोइलोलाई जनजनले आश्चर्यजनकरुपमा लिएका छैनन् भन्दा अत्युक्ति हुनेछैन। किनकि प्रत्येक क्षण र अवसरमा गोहीको आँसु झार्न खप्पिस दलीय नेतृत्वहरु वर्तमानमा पनि जनजनलाई भ्रम छर्न सकिन्छ कि भन्दै पुनः गोहीको आँसु झार्ने जमर्को गर्दै छन्।
सरकारको उपस्थिति भएको भए त्यसको माध्यमबाट भ्रष्ट र भ्रष्टाचारका कुनै पनि पाइला टेक्नै दिने थिएन। कथंकदाचित टेकिहाले बेलैमा सार्थक सम्बोधनमार्पmत छिनोफानो भइसक्थ्यो। त्यस्तो हुन सकेको भए प्रधानमन्त्रीबाट देश कसले चलाइरहेको छ भन्ने प्रश्न आउनुको सट्टा देश मैले हाँकिरहेको छु भन्ने सन्देश प्रवाह हुन्थ्यो होला । थोरै स्वार्थ अभिप्रेरित भएर विद्युत् बक्यौताको सवालमा प्रधानमन्त्रीले यो प्रश्न उठाउनुभएको भए तापनि प्रश्न यथोचित र सान्दर्भिक छ।
प्रधानमन्त्रीले देश कसले चलाइरहेको छ भन्ने प्रश्न त गर्नुभयो तर उत्तर कोबाट खोज्नुभएको हो भन्ने कुराको यथेष्ट जानकारी नभए पनि यदि प्रधानमन्त्रीले त्यसको उत्तर खोज्न इमानदारीपूर्वक लाग्नुभयो भने त्यसको उत्तर थाहा पाउन धेरै समय लाग्दैन। तर उनलाई आफ्नै प्रश्नको उत्तर खोज्न त्यति सहजचाहिँ पक्कै छैन। त्यसको उत्तर पत्ता लगाउन आफन्त र आफूले विश्वास गरेका विश्वासपात्रहरुले खेलेका भूमिकाहरुबारे गहन अध्ययन गर्नु जरुरी हुन्छ।
यो विषयमा सबै पक्षको गहन अध्ययन गरी प्रधानमन्त्री पद रहे पनि नरहे पनि दोषीलाई कानुनी कठघरामा उभ्याउन सक्नुभयो भने देशलाई सही धारमा ल्याउने नायकको रुपमा शिर ठाडो गरेर उभिन सक्ने अवस्था सिर्जना हुन जाने कुरामा मतैक्य देखिँदैन। यस्तो परिवर्तन तत्काल भइहाल्ला भन्ने कुरामा जनजनले विश्वास गरिहाल्ने अवस्था त छैन तर प्रधानमन्त्रीको यो प्रश्न कुनै भ्रम सिर्जना गर्न नभई हृदयदेखि नै प्रस्फुटित भएर सार्वजनिक हुन पुगेको हो भने देश अरु कसैले चलाएको होइन, देश हामी आफैँले चलाएको हो भन्ने अवस्थामा पुग्नचाहिँ धेरै समय लाग्दैन ।
(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)
प्रतिक्रिया