पलेशाको सफलतामा कसले के भने

1.79k
Shares

काठमाडौं ।

पलेशाका प्रशिक्षक कविराज नेगी
“पलेशाको उद्देश्य स्वर्ण जित्नु थियो। क्वार्टरफाइनलमा हारेपछि त्यो यात्रा रोकियो। तर, उनी हतोत्साहित भइनन् र तुरुन्तै कांस्य पदकको खेलको लागि केन्द्रित भइहालिन् र यो ऐतिहासिक सफलता प्राप्त गरिन्। यो जित सम्पूर्ण नेपाली र नेपाली खेलकुदको जित हो।”

पलेशाका बुवा प्रदीप गोवर्धन

“छोरीले पदक जित्दा उ जन्मेको दिन याद आयो । हात नभएको बच्चा जन्मेको देख्दा अचम्म लागेको र समाजमा पनि विभिन्न खाले कुरा काटिएको थियो । तर, आज उसले पाएको यति ठूलो सफलताले ती सबैको मुख बन्द गरिदिएको र उनीहरुले मेरो बच्चासँग उनीहरुको बच्चासँग तुलना नै गर्न नसक्ने उंचाईमा पुगेको छ । निक्कै गर्व महसूस भएको छ ।”
पलेशाकी आमा मनिता श्रेष्ठले खुसीको आँसु आँखाबाट झार्दै भावुक स्वरमा भनिन,“एकदम खुसी लागेको छ ।”

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिंग

“पलेशाले ऐतिहासिक मेडल दिलाइसकिन्, अब हामी राज्यबाट ६५ लाख रुपियाँ पुरस्कार दिलाउन लाग्दैछौं । उक्त पुरस्कार राशिमा कर नकाट्न सरकारसमक्ष प्रस्ताव राख्नेछौ । पलेशा र एरिकाको थप प्रशिक्षण र प्रतियोगिताको लागि सरकारले लगानी गर्छ।“
ओलम्पियन संगीना वैद्य
“अहिले नेपाली खेलकुद गौरान्वित गर्नेमा महिला खेलाडीहरु अगाडि देखिएका छन्। अहिले पलेशाले ऐतिहासिक उपलब्धि हासिल गरेकी छिन्। यसअघि सविता राजभण्डारीले एसियन गेम्समा पहिलो पटक सिल्भर जितेर ऐतिहासिक उपलब्धि हासिल गरेकी थिइन । मैले पनि पहिलो पटक छनोट चरण पार गरेर ओलम्पिक खेल्नुका साथै पहिलो पटक एसियन च्याम्पियनशिपमा गोल्ड जिते । करातेकी एरिका, स्विमिंगकी गौरिका यी सबै महिला खेलाडीले राम्रो नतिजा ल्याएका छन्।”

पलेशालाई राजनीतिज्ञको बधाई

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाली पारा तेक्वान्दो खेलाडी पलेशाले पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकोमा खुसी व्यक्त गर्दै बधाई दिएकी छिन् । शनिबार बिहान सामाजिक सञ्जालमार्फत मन्त्री डा.राणाले कांस्य पदक विजेता पलेशालाई बधाई दिएकी हुन् । पलेशाले कांस्य पदक जितेर नेपालको नाम राख्न सफल भएको डा.राणाले लेखेकी छिन्।

पारा ओलम्पिक विजेता पलेशालाई पूर्व प्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले पनि बधाई दिएका छन्। ‘प्रचण्ड’ ले सामाजिक सञ्जालमार्फत ‘नेपालकी पलेशा गोवर्धनले पाराओलम्पिक खेलकुदमा पदक जित्ने हिमाली एसियाली राष्ट्रबाट पहिलो खेलाडी बनेर इतिहास रचेकी छन्। पलेशालाई यस उल्लेखनीय उपलब्धिको लागि बधाई छ, जसले सम्पूर्ण नेपालीहरूलाई गौरवान्वित बनाएको छ।’

पूर्व युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले उनकोे फेसबुकमार्फत पलेशालाई बधाई दिएका छन्। श्रेष्ठले लेखेका छन्- पारा ओलम्पिकमा ऐतिहासिक कांस्य जित्न सफल पलेशा गोवर्धनलाई धेरै बधाई। नेपालको लागि अहिलेसम्मकै ठुलो पदक दिलाएकोमा पलेशा प्रति हार्दिक नमन। प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई र धन्यवाद। ओलम्पिक्समा पदक जित्न सक्छौ भन्ने सन्देश यो पदकले दिएको छ।