पलेशाको कांस्य : नेपाली खेलकुद इतिहासकै ठूलो सफलता


काठमाडौं ।

नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्घनले पेरिस पारालिम्पिक– २०२४ को के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि ऐतिहासिक कांस्य पदक जितेकी छन् ।

पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार अबेर राती सम्पन्न रिपेचेजको कांस्य पदक भिडन्तमा पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक पदक दिलाइन्। रिपेचेजको पहिलो खेलमा पलेशाले फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले हराएकी थिइन्।

रिपेचेजअघि पहिलो चरणमा पलेशाले भेनुजुएलाकी भलेरिया मोराल्सलाई एक पक्षीय खेलमा ३१–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन्। क्वार्टरफाइनलमा पलेशा आफूले अधिकांश समय अग्रता लिएको खेलमा अन्तिम समयमा विश्व वरीयतामा शीर्ष स्थानकी ब्राजिलकी सिल्भाना मायारा कार्डोसो फर्नान्डेजसँग ८–१० ले पछि परिन्।

पराजित भएपनि पलेशाले रिपेचज खेल्ने अवसर पाइन्। क्वार्टरफाइनलदेखि पराजित हुनेलाई मात्र रिपेचेज खेल्ने अवसर दिइएको थियो। पहिलो चरणमै हार व्यहोर्नेलाई यो सुविधा थिएन।

कांस्य जितेपछि पलेशाले मेहनतको फल प्राप्त भएको र आफूले जितेको पदक आफ्नो मात्र नभइ सिंगो राष्ट्रका लागि भएको प्रतिक्रिया दिइन्। ‘मेहनतको फल पाएको अनुभूति भइरहेको छ। यो पदक मेरो मात्र होइन । सिंगो नेपाल र सम्पूर्ण नेपालीहरुको हो।’ पलेशाले भनिन्– ‘अब हामी गर्वका साथ भन्न सक्छौं। ओलम्पिकमा हाम्रो पनि पदक छ भनेर ।’

यसअघि पलेशाले पहिलो पारालिम्पिकको रुपमा टोकियोमा सहभागी जनाएकी थिइन्। टोकियोमा सोही तौलसमूहको रिपेचेजमा मरिजालाई नै हराउँदैं कांस्य पदक भिडन्त पक्का गरेकी थिइन्। चीनकी लि युजीसंग १२–९ ले हारेर कांस्य पदक जित्न सकिनन्।

पलेशाले पाएको उपलब्धी नेपाली खेलकुदकै अहिलेसम्मको ठूलो हो। कुनैपनि ओलम्पिकमा नेपाली खेलाडीले हालसम्म पदक जित्न सकेका छैनन्। नेपालले पारालिम्पिकमा सन् २००४ को एथेन्स तथा गृष्मकालीन ओलम्पिकमा सन् १९६४ को टोकियो ओलम्पिकदेखि भाग लिन थालेको हो।

गृष्मकालीन ओलम्पिकमा नेपालले तेक्वान्दोमै प्रदर्शनी खेलमा कांस्य जितेको इतिहास छ। सन् १९८८ मा दक्षिण कोरियामा भएको २४ औं संस्करणको सिओल ओलम्पिकमा विधान लामाले त्यो उपलब्धी हासिल गरेका थिए। प्रदर्शनी खेल भएकोले पदक तालिकामा भने उक्त पदकको गणना गरिएको थिएन।

१० वर्षदेखि खेल्न शुरु

जावलाखेलस्थित डिएभी स्कुलमा अध्ययनरत रहँदा १० वर्षको कलिलो उमेरदेखि तेक्वान्दो खेल्न शुरु गरेकी पलेशा सन् २०१६ मा राष्ट्रिय पारा तेक्वान्दो टिममा आबद्ध भइन्। सन् २०१७ मा दक्षिण कोरियाको छुन्चियोनमा भएको एसियाली खुला पारा तेक्वान्दो च्याम्पियनसिप पलेशाको ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता थियो। जसमा, उनी पाँचौं स्थानमा रहिन्।

पिता प्रदीप र आमा मनिताका ३ छोरी मध्ये माइली सन्तान २१ वर्षीया पलेशाले पेरिस पारालिम्पिकसहित करियरमा ६ अन्तर्राष्ट्रिय पदक जितेकी छन्। त्यसमा ३ स्वर्ण र ३ कांस्ये छन्।

पलेशाले नेपालमा भएको दोश्रो काठमाडौं ग्योरोगी तथा पुम्से अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०१८, बहराइनको मानामामा भएको एसियाली युथ पारा गेम्स २०२१ तथा चीनको ताइयानमा पेरिस पाराओलम्पिककै लागि भएको एसियाली छनोट २०२४ मा पलेशाले स्वर्ण जितेकी थिइन्।

छनोट चरण पार गरेर पारालिम्पिकमा खेल्ने पलेशा एक्लो नेपाली खेलाडी हुन्। टोकियो पारालिम्पिकमा भने पलेशा वाइल्ड कार्डमार्फत सहभागी भएकी थिइन्। त्यस्तै पलेशाले सन् २०१८ मा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दो तथा चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुद– २०२२ मा कांस्य जितेकी थिइन्। एसियाली पारा खेलकुदमा पलेशाले जितेको कांस्य नेपालले पाएको हालसम्मकै एक मात्र पदक हो।

पलेशासँग लन्डन र टर्कीमा भएको २ विश्व च्याम्पियनसिप, जोर्डनमा भएको पाँचौं एसियाली खुला पारा तेक्वान्दो च्याम्पियनसिप, टोकियो पारालिम्पिकको छनोट, टोकियो पारालिम्पिक, साउदी अरेबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्स तथा भियतनाममा भएको नवौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप खेलेको अनुभव छ।

पलेशाले राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, नेपाल खेलकुद पत्रकार मञ्च, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले प्रदान गर्ने वर्षको उत्कृष्ट पारा एथलिट अवार्ड जितिसकेकी छन्। काठमाडौं महानगरपालिका वडा २८, बागबजारकी पलेशा नेपाल सरकारबाट जनसेवाश्री पञ्चम श्रेणीबाट पनि विभूषित भइसकेकी छन्।

प्रशिक्षक लामाको ११ औं पदक

पलेशाका प्रशिक्षक कविराज नेगी लामाको भने प्रशिक्षकका रुपमा यो ११ औं अन्तर्राष्ट्रिय पदक हो। अन्तर्राष्ट्रिय लेभल टू प्रशिक्षक लामाको प्रशिक्षणमा नेपाली खेलाडीले हालसम्म ३ स्वर्ण, २ रजत र ६ कांस्य जितेका छन्। प्रशिक्षक लामाले टोकियो पारालिम्पिकमा जित्न नसकेको पदक पेरिसमा आएर जित्न सकेकोमा खुशी व्यक्त गर्दै पलेशाले जितेको पदक सम्पूर्ण देशवासीका लागि उपहार भएको बताए।

राखेपका, नेपाल पारालिम्पिक कमिटी एवं नेपाल तेक्वान्दो संघका सदस्य समेत रहेका टोलीका व्यवस्थापक रामचन्द्र श्रेष्ठले लामो समयदेखि राष्ट्रले चाहेको पदक जित्न सफल भएकोमा पलेशालाई बधाइ र धन्यवाद दिदै अझ लगानी बृद्धि गर्ने हो भने स्वर्ण पदक पनि टाढाको विषय नभएको बताए।

पलेशाले ६५ लाख पुरस्कार पाउने

पेरिस पारालिम्पिक– २०२४ की ऐतिहासिक कांस्य विजेता तेक्वान्दोकी पलेशा गोबर्धनले ६५ लाख रुपैयाँ नगद पुरस्कार पाउने छिन्। राष्ट्रिय खेलकुद विकास नियमावली– २०७९ मा भएको पुरस्कार सम्बन्धी व्यवस्थाअनुसार पलेशाले उक्त रकम पाउने भएकी हुन्।

सोही नियमावलीमा भएको पुरस्कार अनुसार चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदमा कांस्य जितेकी पलेशाले १३ लाख नगद पुरस्कार पाइसकेकी छन् । त्यस्तै, प्रशिक्षकले ५ लाख ८५ हजार, व्यवस्थापकले २ लाख ९२ हजार र सम्बन्धित खेल संघले ११ लाख ७० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।