डिज्नी र रिलायन्सको मर्जर: भारतमा मनोरञ्जन क्षेत्रमा अम्बानीको एकाधिकार !


काठमाडौँ ।

डिज्नी र रिलायन्स इन्टरटेनमेन्ट मर्ज हुने भएपछि भारतीय मनोरञ्जन क्षेत्र तरंगित बनेको छ ।

भारतीय प्रतिस्पर्धा आयोग अर्थात् सीसीआईबाट स्वीकृति प्राप्त गरेसँगै अब डिज्नी र रिलायन्सको मर्जरले भारतीय मनोरन्जन उद्योगमा आफ्नो प्रभाव देखाउने विश्लेषण हुन थालेको छ । यो भारतको सबैभन्दा ठूलो मनोरञ्जन कम्पनी बन्नेछ । यो खेलकुदको पावरहाउस पनि बन्नेछ । कम्पनीका भारतभर ७५ करोड दर्शक हुनेछन् । 

यो मेगा मर्जरमा डिज्नी स्टारका ८० च्यानल र रिलायन्स भायाकम १८ का ४० च्यानल थपिनेछन् । अर्थात् त्यहाँ जम्मा १२० च्यानल हुनेछन् । यद्यपि, यी मध्ये केही च्यानलहरू बन्द हुन सक्ने पनि बताइएको छ । दुबैसँग अ-आफ्ना ओटीटी एपहरू छन् । डिज्नी हटस्टार र जियो सिनेमा । मर्जरपछि बनेको नयाँ कम्पनीमा २ लाख घण्टा डिजिटल कन्टेन्ट हुनेछ ।

भायकम १८ सँग बिसिसीआई प्रबन्धित क्रिकेट खेलहरूको टिभी अधिकारहरू पनि छन्, जबकि डिज्नी स्टारसँग २०२७ सम्म आईपीएल प्रसारण गर्ने टिभी अधिकारहरू छन् । त्यस्तै रिलायन्ससँग आफ्नो ओटीटी प्लेटफर्म जियो सिनेमामा आइपिएल देखाउने अधिकार छ । रिलायन्सका समाचार च्यानलहरू यस सम्झौताको हिस्सा हुने छैनन्, किनकि तिनीहरू नेटवर्क १८ समूह अन्तर्गत पर्दछन् ।

संयुक्त उद्यमलाई ३० हजार भन्दा बढी डिज्नी सामग्री सम्पत्तिहरूको इजाजतपत्र सहित भारतमा डिज्नी फिल्महरू र निर्माणहरू वितरण गर्ने विशेष अधिकारहरू पनि दिइनेछ । वाल्ट डिज्नीका सीईओ बब इगरले मर्जरका बारेमा हालै भनेका छन्- ‘बजारमा धेरै प्रतिस्पर्धा छ, त्यसैले मर्जरले ठूलो कम्पनी बनाउँछ, जसले यसलाई बजारमा शीर्षमा रहन मद्दत गर्नेछ ।’

नयाँ कम्पनीसँग सबैभन्दा ठूलो ओटीटी ग्राहक आधार हुनेछ । डिज्नी हटस्टरका करिब ३.६ करोड भुक्तान गरेका ग्राहक छन् र रिलायन्ससँग १.५ करोड भुक्तान गरेका ग्राहकहरू छन् । अर्थात् दुवैका कुल ५.१ करोड सब्सक्राइबर छन् ।

रिलायन्ससँगको साझेदारीले डिज्नीलाई आफ्नो व्यवसाय बढाउन र जोखिम कम गर्ने अवसर दिनेछ । साथै, यसले मुकेश अम्बानीलाई २८ बिलियन डलरको मनोरञ्जन क्षेत्रमा बलियो पकड दिनेछ । नयाँ कम्पनीले सोनी र नेटफ्लिक्स जस्ता कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न सक्नेछ ।

मर्जरबाट बनेको नयाँ कम्पनीको टिभी र स्ट्रिमिङ क्षेत्रहरूमा भारतीय विज्ञापन बजारको ४० प्रतिशत हिस्सा हुनेछ । नयाँ कम्पनीको क्रिकेट विज्ञापन राजस्वमा एकाधिकार नै हुनेछ । क्रिकेटका अलावा विम्बल्डन टेनिस च्याम्पियनसिप, मोटो जीपी र इङ्लिस प्रिमियर लिगको पनि प्रसारण अधिकार हुनेछ ।

भारत मनोरञ्जन सेवाहरूको लागि ठूलो बजार हो । यस्तो अवस्थामा नेटफ्लिक्स, अमेजन जस्ता अमेरिकी स्ट्रिमिङ कम्पनीहरू भारतीय बजारतर्फ आकर्षित भएका छन् । डिज्नी र रिलायन्स पनि ओटीटीमा छन्, जसले नेटफ्लिक्स र अमेजनबाट प्रतिस्पर्धाको सामना गरिरहेको छन् । 

यी दुवै कम्पनीले प्रयोगकर्ताको संख्या बढाउन सस्तो योजनाहरू लन्च गर्न सक्छन् । यसको प्रत्यक्ष लाभ दर्शकले पाउनेछन् । एकै साथ, डिज्नीका दर्शकहरूले रिलायन्सको सामग्रीमा पहुँच पाउनेछन् र रिलायन्सका दर्शकहरूले डिज्नीको सामग्रीमा पहुँच पाउनेछन् । 

यो सम्झौता ८.५ बिलियन डलर को छ । मर्जरपछि बनेको कम्पनीमा रिलायन्सको ६३.१६ प्रतिशत र डिज्नीको ३६.८४ प्रतिशत सेयर रहनेछ । नीता अम्बानी यसको अध्यक्ष हुनेछिन् । यो सम्झौता ६ महिनाभित्र पूर्ण रुपमा लागु हुने अपेक्षा गरिएको छ । सम्झौता पूरा गर्न, यसलाई भारतीय कम्पनी न्यायाधिकरणको स्वीकृति पनि आवश्यक हुनेछ ।