बुवाको मुख हेर्दा उल्टो मायाँ नगरौं

4.14k
Shares


मौसममा निखार आउन थालेसँगै नेपालीहरुको चाडबाडले हरेकको मनमा उत्साह ल्याउन थालेको छ । तिजको नाचगान र भोजभतेर सँगै बुवाको मुख हेर्ने दिनका लागि छोराछोरीको किनमेलको लिष्ट बन्न लागेको छ भने बुवाहरु पनि पक्कै मुख मिठ्याउँदै औंला भाच्न थाल्नु भएकै होला !

तर मिठो खाने कुरासँगै आफ्ना बुवाको दीर्घायुको कामना गर्दै मुख हेर्न पर्खिरहेका छोराछोरीले झुक्किएर पनि बजारिया अस्वस्थ तथा रोगको भारी बोकाउने खानेकुरा खुवाएर बुवालाई उल्टो मायाँ भने पक्कै देखाउने छैनन् । आजभोलि चाडबाडमा धेरै किनिने खाद्य बस्तुहरुमा पाकेटबन्द जुस, इनर्जी ड्रिङ्क, कोक, फान्टा, डेऊ, दालमोट, चाउचाउ, विस्कुट, कुकिज, केक, लेजलगायतका जंकफूडहरु, रोटी, मिठाई र फलफूलहरु नै मुख्य हुन् ।

रसायन प्रयोग नगरी पकाइएका मौसमी फलफूल, ड्राइफ्रुट्स, घरमा बनाइएका रोटी तथा मिठाइहरु ठीक्क मात्रामा खादा लाभ नै हुने भएता पनि बजारिया मिठाइ, तथा कथित फ्रुट जुस, चिसो पेयहरुलगायतका जंकफूडहरु आफ्ना बुवालाई खुवाउनु वा खानु वास्तवमै हानिकरक हुन्छ, उल्टो मायाँ गरेकै सावित हुन्छ । सामान्य रुपमा भन्नु पर्दा पनि मिठाइ र रोटीहरुमा चिनी र चिल्लोको मात्रा अधिक हुने भएकाले यीनलाई स्वास्थ्यको दृष्टिले त्यती लाभदायक मानिदैन ।

त्यसमा पनि अधिकांश बजारिया मिठाइ र रोटीहरुमा अधिक चिनीका साथै बनस्पिती घिउ, पुनप्र्रयोग भएको तेल घिउ हुने भएकाले यो स्वास्थ्यका दृष्टिले अति नै हानिकारक हुन्छ । किन कि पटकपटक तताइएको तेल घिउ, बनस्पती घिउ, कारखानामा बनाइएको सस्तो खालको तेल (पार्सियल्ली हाइड्रोजेनेरेटेड तेल)मा ट्रान्सफ्याटको मात्रा धेरै हुने र यसका कारण खराव कोलेष्ट्रोल र ट्राइग्लसेराइड बढी एन्जाइना र हृदयघात समेत हुने भएकाले यस्ता बजारिया रोटी, मिठाइ र चिल्लो मिसाइएका जंकफूड (भुजिया, दालमोठ, केक, कुकिज, लेज आदि) नखानु वा नखुवाउनु नै उचित हुन्छ ।

बरिष्ठ मुटु रोग विशेष डा प्रेमराज बैद्य भन्नु हुन्छ, ‘ट्रान्सफ्याट अति खराव र स्वास्थ्यका लागि धेरै हानिकारक चिल्लो पदार्थ हो। अत्यधिक ट्रान्सफ्याट भएका खानेकुराले मुटुरोग, मस्तिष्कघात, मधुमेह र क्यान्सर जस्ता रोगका साथै मोटोपनालई बढाउँछ। ट्रान्सफ्याटले रगतमा हुने खराव कोलेस्ट्रोलको मात्रालाई झन बढाइ दिन्छ र रक्तनलीभित्र रगत जम्ने प्रकृयालाई बढाई दिन्छ। परिणास्वरुप हृदयघात तथा अन्य रोगहरु लाग्न सक्छ।

दुब्ला मानिसको तुलनामा मोटा मानिसलाई अझ बढी हानी गर्छ । मोटा मानिसलाई ट्रान्सफ्याटको असरबाट मुटु रोगका अतिरिक्त मधुमेह, बाथ आदि स्वास्थ्य समस्या उत्पन्न हुने खतरा बढ्छ। अझ बनस्पती तेललाई जति धेरै पटक ततायो त्यति नै त्यसमा ट्रान्स फ्याटको मात्रा बढ्दै जान्छ । यस्तो तेलमा पकाइएका खाने कुरा स्वादिष्ठ हुने भएता पनि स्वास्थ्यका लागि हानिकारक हुन्छन् ।’

डा बैद्य भन्नु हुन्छ, ‘बनस्पति घिउमा खाने कुरा तयार गर्दा सस्तो पर्ने हुँदा बजारमा पाइने प्याकेटका तयारी खानेकुराहरुमा अधिकांश यही घिउ प्रयोग भएको हुन्छ। फ्याक्ट्रिमा सस्तो तेललाई तताएर हाइड्रोजन मिसाई उत्पादन गरिने ट्रन्स फ्याटयुक्त तेल व्यापारको हिसावले अत्यन्तै नाफामूलक हुन्छ। किन कि यसो गर्दा चिल्लो पदार्थको मात्रा बढ्छ, स्वाद बढ्छ, धेरै दिनसम्म टिक्नुका साथै यसमा पकाएका खानेकुराको रुप र स्वाद पनि राम्रो हुन्छ। यस्तो तेल शुद्ध बनस्पती तेल भन्दा धेरै सस्तो पर्छ । तर स्वास्थ्यका दृष्टिले अति नै हानिकारक हुन्छ। नेपालमा उत्पादन हुने स्वस्तिक, शक्ति र भारतको डाल्डा बनस्पति घिउ औद्योगिक ट्रान्सफ्याटका केही उदाहरण हुन् ।’

कृत्रिम स्रोतबाट प्राप्त हुने अर्थात फ्याक्ट्रिमा उत्पादन गरिने औद्योगिक ट्रान्स फ्याटलाई पार्सियल्ली हाइड्रोजेनेरेटेड ओइल भनिन्छ जुन स्वास्थ्यका लागि अन्यन्तै हानिकारक हुन्छ। यस्तो चिल्लो पदार्थ बनस्पति तेललाई तताएर, त्यसमा आंशिक मात्रामा हाइड्रोजनको अणु मिसाएर उत्पादन गरिन्छ । यस्तो प्रकृयाबाट तरल अवस्थामा रहेको बनस्पती तेल कोठाको तापक्रममा जम्छ। यसै कारणले गर्दा बजारमा किनिएका कतिपय मिठाइ तथा रोटीहरु चिसो हुनासाथ कक्रक्क परेका हुन्छन् र खाँदाखाँदै मुखको माथिल्लो भागमा जमेर बाक्लो भएको अनुभव हुन्छ। यसले रक्तनलीको भित्री भाग बाक्लो बनाउँदै लान्छ, नलीमा चिल्लोको थुप्रो जम्न गई रक्तप्रवाहमा अवरोध हुन्छ । यसका कारण हृदय घात, मस्तिष्क घात हुनसक्छ ।

विश्व स्वास्थ्य संघले शून्य प्रतिशत वा बढीमा २ प्रतिशतसम्म ट्रान्सफ्याट भएको तेल वा खाद्य बस्तुहरुलाई मात्र स्वस्थकर मानेको छ । यसै अनुरुप विकसित मुलुकहरुमा उत्पादिन तेल तथा खाद्य बस्तुहरु २ प्रतिशत वा सो भन्दा कम ट्रान्सफ्याट मात्र समावेश गर्न र सो कुरा त्यस्ता खाद्य बस्तु तथा तेलको पाकेट वा सिसीको बाहिरी खोलमा लेख्न अनिवार्य गरिएको छ।

नेपालमा विदेशबाट आएका राम्रो कम्पनीका अधिकांस तेल तथा खाद्य बस्तुहरुमा पनि ट्रान्सफ्याटको मात्रा उल्लेख भएको हुन्छ। तर नेपालमा यस किसिमको नियम बनिनसकेको अवस्थामा उत्पादित तेलहरुमा ४५ प्रतिशतसम्म ट्रान्सफ्याट पाइएको थियो । तर हाल नेपालमा पनि यस किसिमको नियमाली बनिसकेर हाल कार्यान्वयन हुने चरण पुगिसकेको छ।

त्यसकारण नेपालमा उत्पादित तेल घिउहरुमा पनि ट्रान्सफ्याटको मात्रा २ प्रतिशत भन्दा बढी छ वा त्यसबारे उल्लेख नै गरिएको छैन भने नकिन्नु नै राम्रो हो । कुनै पनि तेल तथा तेल घिउ प्रयोग भएका खाद्यबस्तु किन्दा त्यसमा एक्सपायरी डेटका साथै ट्रान्सफ्याटको मात्रा कति छ त्यो पनि हेरेर किन्नु पर्दछ ।

यस्तै चाडबाडमा धेरै किनिने र उपभोग गरिने बस्तुमा जंकफूडहरु पनि हुन् । शरीरलाई अति आवश्यक पर्ने प्रोटिन, भिटामिन खनिज जस्ता पदार्थ नभएको वा अति कम भएको तर चिनी, चिल्लो पदार्थ जस्ता क्यालोरीयुक्त तत्वको मात्रा अत्यधिक भएको खाद्य वस्तुलाई जंक फुड भनिन्छ ।

यस्ता बस्तुहरुको उपभोगले शरीरमा पोषणको कमी हुन्छ भने शरीरमा मोटोपनको समस्या हुने, नुन, चिल्लो र चिनीको मात्रा धेरै हुने भएकाले डायविटिज, कोलेष्ट्र र रक्तचापमा बृद्धि भई मुटु रोगको खतरा धेरै हुन्छ । जंकफूडमा ट्रान्सफ्याट र स्याचुरेटेड फ्याटको मात्रा धेरै हुन्छ, जसले गर्दा कोलेस्ट्रोलको स्तर बढ्न सक्छ । जंकफूडमा फाइबरको मात्रा कम हुने भएकाले यसको उपभोगका कारण कब्जियत, ग्यास्ट्रिक र अन्य पाचन सम्बन्धी समस्या हुन्छन् । जंकफूड खाँदा शरीरको ऊर्जा स्तरमा अचानक उतारचढाव आउने हुनाले मनस्थिति पनि अस्थिर रहन्छ । यसका साथै नियमित रूपमा जंकफूड खानाले शरीरको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन सक्छ ।

यस्तै गरी चाडबाडका बेला धेरै प्रयोग हुने चिसो पेय, पाकेट बन्द फ्रुट जुस र इनर्जी ड्रिङकहरु हुन् । यस्ता बस्तुमा चिनीको मात्रा अत्यधिक हुन्छ। साथै क्याफिन, कृत्रिम रंग, घोलंक तत्व, फिज ल्याउने तत्वहरु, अम्लीयपना कायम राख्ने तत्वहरु, रंग उड्न नदिने तत्वहरु हुन्छन । यी सवै हानिकारक तत्वहरु भएकाले चाडबाडका बेला आफूहरु पनि नखानु र अरुलाई पनि नखुवाउनु नै उचित हुन्छ।