चितवनको रत्ननगर नगरपालिकाका अनुशरणीय कार्यहरु

846
Shares

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा हालै सार्वजनिक भएको नतिजाअनुसार मुलुकका २९३ वटा नगरपालिकामध्ये नीलकण्ठ नगरपालिका प्रथम, तिलोत्तमा नगरपालिका द्वितीय र रत्ननगर नगरपालिका तृतीय भएका छन् । यसअनुसार रत्ननगर नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुलाई यसै पंक्तिकारले क्षमता विकासको प्रशिक्षण प्रदान गर्दा सो पालिकाले सम्पादन गरेका अन्य असल अभ्यासहरुको जानकारी भयो । यी कार्यहरु अन्य पालिकाका लागि पनि उदाहरणीय हुने महसुस गरी यो आलेख तयार गरेको छु ।

‘व्यावसायिक कृषि पर्यटकीय शहर स्वच्छ समृद्ध हाम्रो रत्ननगर’ नारा रहेको यो पालिका २०५३ सालमा स्थापना भएको हो । यस पालिकाको क्षेत्रफल ६८.६७ वर्ग किमि रहेको छ, जुन व्यवस्थापनयोग्य छ । यस पालिकामा कुल १६ वटा वडा रहेका छन् र भविष्यमा उपमहानगरपालिकामा स्तरोन्नतिको सम्भावना रहेको पाइन्छ । यस पालिकाभित्र रहेको सौराहलाई विश्वकै नामुद पर्यटकीय स्थलको रुपमा लिइन्छ । यस पालिकामा प्रलाद सापकोटा, जो एक युवक नगरप्रमुख हुनुहुन्छ ।

साथै, नगर उपप्रमुखमा परिपक्व यादवप्रसाद पाठक हुनुहुन्छ भने प्रमुख प्रशासकीय अधिकृतमा अनुभवी शुकदेव लम्साल रहनुभएको छ । यस पालिकाले आफूलाई सफाइमा उत्कृष्ट पालिकाको पहिचान बनाउने ध्येय लिएको छ । क्लिन दि सिटी भन्ने मूल मर्मलाई आत्मसात् गरी यस पालिकाले सफा ऊर्जा उत्पादन प्रा.लि. नामक संस्थासँग फोहोरमैला व्यस्थापनको सम्झौता गरेको छ । यसरी एकातिर पालिका सफा हुँदै गएको छ भने अर्कोतिर पालिकाले फोहोरलाई आयआर्जनको माध्यम बनाएको छ। यो पालिका आफ्नो नगरको गुरुयोजनासहित आवधिक योजना जारी गर्ने हतारोमा कुदिरहेको छ। यसले कृष्णसार व्यवस्थापनलाई नगर गौरवको योजनाको रुपमा अघि सारेको छ। यसका लागि आवश्यक पूर्वाधार निर्माण भैसकेको छ । यस पालिकाले बागमती प्रदेशकै लागि नमुना हरियाली पार्क (रिक्रिएसन पार्क) निर्माणको काम आरम्भ गरेको छ ।

रत्ननगर नगरपालिकाले वर्षौंदेखि अतिक्रमणको जोखिममा रहेको लौरीघोल ताल संरक्षणमा उत्साहजनक प्रगति हासिल गरेको छ । यसै गरी, यस पालिकाले पञ्चनदी संरक्षणको कामलाई पनि अघि बढाएको छ । यस पालिकाले एक वडा एक खुल्ला व्यायामशालाको अवधारणालाई अघि बढाएको छ । जनप्रतिनिधिहरुको क्षमता विकासको कार्यक्रमका दौरान नगरप्रमुखले प्रतिवडा १५ लाखसम्मको लागतमा गुणस्तरीय एवं आकर्षक व्यायामशाला निर्माण गरिने प्रतिबद्धता जनाउनुभएको छ। यस पालिकाले शिक्षाका क्षेत्रमा सुधारका लागि निकै मिहिनेत गरेको छ। यसको पुष्टि कक्षा ८ को नतिजाले गरेको छ। यस पालिकामा दिवाखाजाको व्यवस्था गरिएको छ । स्कुलको अनुगमनलाई तीव्रता दिइएको छ । स्वयंसेवक दरबन्दी सृजना गरी शिक्षकको माग पूर्ति गरिएको छ । यस पालिकाले निजी क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई समेत छात्रवृत्ति प्रदान गरेको छ।

रत्ननगर नगरपालिकाले आमा र गर्भभित्रको भ्रूणको संरक्षणका लागि वडा–वडामा भिडियो एक्सरे र ईसीजी सेवा निःशुल्करुपमा उपलब्ध गराइरहेको छ । हालसम्म यस्तो सेवा करिब ६ सयले पाइसकेका छन् । यो पालिका पूर्ण खोपयुक्त घोषित पालिका हो। यस कामलाई पालिकाले निरन्तरतासहित दिगोपना प्रदान गरेको छ । रत्ननगर बकुल्लर अस्पतालमा यस पालिकाको पहलमा शववाहन सेवा र एम्बुलेन्सको सेवा सञ्चालनमा रहेको छ । यी सेवाहरु निःशुल्क रहेका छन् । यस पालिकाले विपन्न नागरिक स्वास्थ्य सहायता कोष खडा गरी सबैलाई स्वास्थ्य सेवाको सुनिश्चितता प्रदान गरेको छ । यस कोषबाट हालसम्म करिब सवा सय मानिसले प्रत्यक्ष लाभ हासिल गरिसकेका छन् ।

रत्ननगर नगरपालिकाले विपन्न नागरिकका पक्षमा हृदय खोलेर काम गरिरहेको छ । जसअनुसार अति विपन्नका लागि शत प्रतिशत र विपन्न नागरिकका लागि ५० प्रतिशत अनुदानमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा रहेको छ । यसबाट हालसम्म अति विपन्न साढे दुई सयजना र विपन्न करिब दुई हजारजना लाभान्वित भैसकेका छन् । यस पालिकाले ६८ वर्षमाथिका मासिक सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक र फरक क्षमता भएकाहरुका लागि बर्सेनि नसर्ने रोगको स्किनिङ गर्ने गरेको छ । यसबाट हालसम्म करिब नौ हजारजना लाभान्वित भैसकेका छन् । यो पालिकाले आफूलाई क्षयरोगमुक्त पालिका घोषणा गरेको छ।

रत्ननगर नगरपालिकाले रेडक्रससँगको सहकार्यमा निःशुल्क ब्लड बैंक सेवा सञ्चालनमा ल्याएको छ । यसबाट करिब चार सयजना लाभान्वित भैसकेका छन् । साथै, यस ब्लड बैंकमा ज्येष्ठ नागरिक र गर्भवती महिलालाई निःशुल्क प्रयोगशालाको सेवा–सुविधा उपलब्ध गराइएको छ । यस पालिकाले हरेक क्यान्सरपीडितलाई कम्तीमा २५ हजारको अनुदान प्रदान गरेको छ । साथै, यस पालिकाले निजी अस्पतालहरुमा पनि नागरिकले उपचार गर्दा २० देखि ४० प्रतिशतसम्म उपचारमा छुट हुने प्रबन्ध मिलाएको छ ।

रत्ननगर नगरपालिकाले स्टार्टअप कर्यक्रम आरम्भ गरेको छ । यसअनुसार बैंकबाट उद्यमीले लिएको ऋणको ब्याज पालिकाले तिरिदिने गरेको छ । यस पालिकाले सिलाइ–बुनाइ, चप्पल बनाउने, चुरा–पोते बनाउने, अचार बनाउने, अटो चलाउने, इलेक्ट्रिक, मोबाइल मर्मत, मकैको खोस्टाबाट फूलमाला, चकटी बनाउने, सेक्युरिटी गार्ड, पञ्चेबाजा बजाउने, झोला बनाउने र ड्राइभिङ तालिम दिनेजस्ता क्षमता विकासको कार्यक्रम सञ्चालन गरेको छ। यसबाट करिब एक हजारजना लाभान्वित भएका छन्।
रत्ननगर नगरपालिकाले व्यवसायीको सुविधाका लागि वडाबाटै व्यवसाय दर्ता नवीकरण गर्न र कर बुझाउन सकिने प्रबन्ध गरेको छ। यस पालिकाले अनलाइन प्रविधिबाट करिब साढे २२ हजार घरमा जडित खानेपानी स्रोत तथा सरसफाइको अवस्थाको म्यापिङ गरेको छ । यस पालिकाले सुकुम्बासीको नाममा लालपुर्जा वितरणका लागि करिब १८ सयजनाको नापी नक्सा सम्पन्न गरेको छ। यसमध्ये करिब दुई सय पुर्जा तयार पनि भएको छ। यससम्बन्धमा पालिकाले अन्य आवश्यक कानुनी प्रबन्ध मिलाइरहेको छ।

यस पालिकाले गोठ सुधारमा भेटरिनरी र खेतमा कृषि सेवा कार्यक्रम सञ्चालन गरी करिब साढे ६ हजार किसानलाई लाभ पु¥याएको छ । यस पालिकाले मौरी आहार व्यवस्थापन र सुपर घाँस वितरण कार्यक्रम पनि सञ्चालन गरेको छ । यो पालिकाले सामूहिक तरकारी खेती कार्यक्रम अघि सारेको छ। यस पालिकाले बंगुरपालक किसानलाई बंगुरको दाना बनाउने मेसिनका लागि १० लाख सहयोग गरेको छ। यस पालिकाले महिलाहरुलाई सामूहिक बेसार, अदुवा खेतीका लागि प्राविधिक र आर्थिक सहयोग गरेको छ। साथै, मकै र धान प्रवद्र्धनका लागि मिनी ट्याक्टर, रिपर र नर्सरी ट्रेमा किसानहरुलाई अनुदान दिएको छ। साथै, यस पालिकाले सिंचाइ सुविधा विस्तारमा पनि विशेष पहल गरेको छ। यसरी राजनीतिकरुपमा युवा नेतृत्व रहेको रत्ननगर नगरपालिकाले स्थानीय सरकारको महत्व दर्शाइरहेको छ।

रत्ननगर नगरपालिकाले चालू आ.व. २०८१।८२ को आफ्नो नीति कार्यक्रममा पर्यटकीय शहर, समुन्नत रत्ननगरको नारा उद्घोष गरेको छ। चालू आ.व.मा पालिकालाई अझ सुन्दर, सफा बनाउने योजनासहित अघि बढेको यस पालिकाले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने ध्येय लिएको छ। यसका लागि राजमार्गमा रहेका सार्वजनिक शौचालयहरुको सुधारका साथै विविध गतिविधि सञ्चालन हुने भएका छन्। कृषकको बाहुल्यता रहेको यस पालिकाले किसानको हितमा विविध सेवाहरु उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। यो पालिका खाली जग्गालाई भाडामा लगाई सामूहिक खेती गर्ने कार्यक्रमसहित अघि बढेको छ। साथै, कोसेली घरहरु स्थापना गर्ने पालिकाको लक्ष्य रहेको छ। किसान केन्द्रित आईपीएम पाठशाला सञ्चालन गर्ने पालिकाको लक्ष्य छ । यो पालिका बीउ उत्पादनमा आत्मनिर्भर हुन चाहन्छ । यसले एक वडा एक नमुना कृषि फर्म निर्माण गर्ने लक्ष्य लिएको छ।

रत्ननगर नगरपालिकाले आमा र गर्भभित्रको भ्रूणको संरक्षणका लागि वडा–वडामा भिडियो एक्सरे र ईसीजी सेवा निःशुल्करुपमा उपलब्ध गराइरहेको छ । हालसम्म यस्तो सेवा करिब ६ सयले पाइसकेका छन् । यो पालिका पूर्ण खोपयुक्त घोषित पालिका हो। यस कामलाई पालिकाले निरन्तरतासहित दिगोपना प्रदान गरेको छ ।

रत्ननगर नगरपालिकाले सौराह क्षेत्रलाई नेपालकै आकर्षक, रमणीय र सुरक्षित गन्तव्य स्थलको रुपमा विकास गर्ने प्रतिबद्धता जाहेर गरेको छ । यसका लागि सौराहमा पर्यटन सूचना केन्द्रको स्थापना गरिनेछ । यो पालिकाले बालमैत्री र अपांगतामैत्री पूर्वाधार निर्माण गर्ने र छात्रवृत्ति प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । यसले प्रधान अध्यापकहरुसँग कार्यसम्पादन करार सम्झौता गर्नुका साथै निःशुल्क स्यानिटरी प्याड वितरणको कार्यक्रम अघि सारेको छ । यसै गरी, एक वडा एक नमुना विद्यालय कार्यक्रम सञ्चालन हुनेछ । यस नगरलाई पोषणमैत्री नगर बनाउनुका साथै एक घर एक धाराको कार्यक्रमलाई साकार तुल्याइनेछ।

सांस्कृतिक प्रवद्र्धन, लैंगिक समानता र समावेशीकरण, गैरसरकारी संस्थाहरुको समन्वय, सुरक्षित आप्रवासन कार्यकम र लागूऔषध नियन्त्रणमा यो पालिका सजग रहेको पाइन्छ। यस पालिकाले सबै योजनामा १० प्रतिशत जनसहभागिता जुटाउने लक्ष्य लिएको छ। यस पालिकालाई प्लास्टिकको झोलामुक्त पालिका बनाइनेछ । एक घर दुई बिरुवाको नीतिलाई साकार तुल्याइनेछ। नगर प्रहरीलाई आमजनताको हितमा परिचालन गरिनेछ। सुशासन अभिवृद्धि गर्ने, राजस्व असुली गर्ने, बेरुजु फछ्र्यौट गर्ने र भ्रष्टाचाररहित पालिकाको पहिचान बनाउन रत्ननगर नगरपालिका तल्लीन छ । यी सबै सत् कार्य र सोचमा पालिकालाई पूर्ण कार्यान्वयनमा सफलता मिलोस् भनी शुभकामना दिन चाहन्छु।