बागमतीमा राजस्व वृद्धि 


काठमाडौँ। 

बागमती प्रेदश सरकारमा राजस्व संकलनमा वृद्धि भएको छ । गत आर्थिक वर्ष ०७९/८० को भन्दा आर्थिक वर्ष ०८०/८१ मा ४ दशमलव ७२ प्रतिशतले राजस्व संकलन वृद्धि भएको हो । 

आर्थिक मामिला तथा योजना मन्त्रालयका तथ्याङ्क अनुसार आर्थिक वर्ष ०८०/८१ मा २५ अर्ब ५० करोड ४२ लाख संकलन भएको हो । 

आर्थिक वर्ष ०७९/८० मा २४ अर्ब ३५ करोड ४२ लाख राजस्व संकलन गरेको बागमती प्रदेश सरकारले आर्थिक वर्ष ०८०/८१ मा एक अर्ब १५ करोडभन्दा बढी राजस्व संकलन गर्न सफल भएको हो । 

बागमती प्रदेश सरकार अन्तरगत कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख हरि प्रसाद उपाध्यायले लक्ष्य अनुसार नै राजस्व संकलन भएको जानकारी दिए । 

उनले भने, घरजग्गा रजिष्ट्रेशन ‘मालपोत’ र सवारीसाधन करमा केहि कमी आएको छ । आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद बिक्री कारोबारमा सोचे जस्तो राजस्व सङ्कलन नभएता पनि तुलनात्मक रुपमा गत आर्थिक वर्ष भन्दा ४ दशमलव ७२ प्रतिशत वृद्धि हुनुभनेको सन्तोषजनक नै हो ।’

विशेषत प्रेदशमा घरजग्गा रजिष्ट्रेशन ‘मालपोत’ र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीको रुपमा कुन्दनराज काफ्लेले जिम्मेवारी सम्हालेपछि प्रदेशको अर्थतन्त्र थप सकारात्मक रुपमा चलायमान भएको उपाध्यायको भनाई छ । 

मन्त्रालयको तथ्याङ्क अनुसार दुवै शीर्षकबाट आर्थिक वर्ष २०८०/८१ मा रु १४ अर्ब राजस्व सङ्कलन हुने अनुमान गरिएकामा रु ११ अर्ब ६० करोड ७६ लाख ५० हजार मात्र राजस्व सङ्कलन भएको जनाएको छ ।

त्यस्तै, घरजग्गा रजिष्ट्रेशन शीर्षकबाट ६ अर्ब ७५ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा त्यसको करिब ८१ दशमलव ३२ प्रतिशत अर्थात् रु पाँच अर्ब ४८ करोड ९३ लाख ३८ हजार राजस्व सङ्कलन भएको छ ।