गाईजात्रा महोत्सव भर्खरै सकिएको छ। देशमा बिस्तारै तीजको लहर शुरु भएको छ। चाड–पर्वको सघन उपस्थिति बढ्दो छ। साथमा राजनीतिक परिवर्तनको पनि प्रसंग छ, तर तयारी देखिन्न। राजनीतिक सत्ता परिवर्तन त निकै ठूलो कुरो होला, माओवादीले एक दशकसम्म हतियार उठाउँदा र १७ हजार नेपालीले अकालमा ज्यान गुमाउँदा पनि पूर्णरुपमा परिवर्तन हुन नसकेको सत्ता सामान्य चेतनामूलक गतिविधिका कारण परिवर्तन भइहाल्ने सम्भावना देखिन्न, तर आजैदेखि बुद्धि पुर्याउने हो भने तीन वर्षपछि हुने आमचुनावले सरकार परिवर्तन गर्न सक्छ। सत्ताधारी बन्दै आएका एमाले, नेका र माओवादी केन्द्रलगायतका पुराना राजनीतिक दलको व्यवहार हेर्दा उनीहरुको विकल्पमा नयाँ राजनीतिक शक्ति सरकारमा आउनु आवश्यक पनि देखिएको छ । तर तयारी देखिन्न।
लोकतान्त्रिक भनिएका र मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि भूमिका खेलेका यी राजनीतिक दलको व्यवहार धेरै ठाउँमा अधिनायकवादी देखिएको छ। यी दलका नेताहरु भ्रष्टाचार गर्छन्, तर भ्रष्टाचारी भनेर कसैले आलोचना गर्यो भने आलोचकलाई धूलीसात बनाउँछन्। कुनै महिला अघि सरेर नेताले यौन दुव्र्यवहार गर्यो भनी भने पनि नेताविरुद्ध कारबाही हुन्न, बरु उजुरीकर्ता जेलमा पर्छे । होटेलमा भात खाने ग्राहकले कुनै लहडमा नेताको आलोचना गर्यो, संयोगले ऊ सरकारी कार्यालयको कर्मचारी पर्यो भने आलोचना सुन्ने नेताले उसलाई अत्यन्त दुर्गम अनकन्टारमा सरुवा गराउँछ र त्यहाँ पनि आफ्ना कार्यकर्ता लगाएर भ्रष्टाचारी साबित गराउँदै पीडा दिन्छ। निर्वाचनका बेला दिएका वचन पूरा नगर्नु त कुनै ठूलो कुरा भएन, तस्करीको नाइके भएका नेतालाई पनि आफ्नो बढी दुर्दशा नहोस् भन्ने जनताले धनुषटंकार नमस्कार गरिरहनुपर्छ । नत्र जनताले ‘म यो प्यारो मातृभूमि छोडेर विदेश पलायन हुन्छु, यहाँ मेरो केही सीप लागेन, सानो सिफारिस पत्रसम्म बनाइदेऊ’ भन्दा पनि नेताहरुले कृपा गर्दैनन्, उल्टो दुःख दिन्छन्।
नीतिमा मात्र भ्रष्टाचार विरोधी भएर पुग्दैन, व्यवहारमा भ्रष्टाचारमुक्त पहिचान चाहिन्छ । पछिल्लो समय बालेन शाह, हर्क साम्पाङलगायतले यस प्रकारको छवि बनाएका छन् । पुराना नेतामा डा. बाबुराम भट्टराई स्वच्छ छविका विचारवान् नेता हुन् । डा. भट्टराईलाई संरक्षक बनाएर बालेन, हर्कहरु एक मोर्चामा आबद्ध भई आए भने जनताले पत्याउने सम्भावना छ । त्यसलाई जनताले नयाँ वैकल्पिक शक्तिका रुपमा सम्मान दिन सक्छन् ।
निष्कर्ष हो, पुराना राजनीतिक दल र यसका नेताहरु अराजक र अधिनायकवादी भए । जति सुन्दर सिद्धान्त देखाउँदै उनीहरु सरकारमा पुगेका भए पनि, उनीहरुको दैनिक अभ्यास लोकतान्त्रिक भएन । पारदर्शिता, सुशासन, इमानदारी, जनताका लागि त्याग आदि लोकतान्त्रिक मन्त्रहरु चिहानघारीमा दबाइए । त्यसैले नयाँ शक्ति आउनुपर्छ । नीति र व्यवहार दुवैमा भ्रष्टाचारविरोधी चरित्र देखाउन सक्ने उम्मेदवारलाई जनताले मतदान गर्न पाउनुपर्छ । यसका लागि आफूलाई नयाँ शक्ति ठान्ने राजनीतिक दल र पात्रहरुले एकीकृतरुपमा जनतासामु प्रस्ताव लिएर जानु आवश्यक देखिन्छ ।
अहिले सम्भाव्य नयाँ वैकल्पिक शक्तिप्रति एमाले, नेका र माओवादी केन्द्र र यसका नेताहरु असहिष्णु भएका उदाहरण यत्रतन्त्र देखिन्छन् । हालै सकिएको गाईजात्रा महोत्सवमा पुराना राजनीतिक दलका नेताहरुले कलाकारलाई नै प्रभावमा पारेर वा दुरुपयोग गरेर भ्रष्टाचारविरोधी नयाँ शक्तिलाई गाली गरेको देखियो । बालेन शाह, हर्क साम्पाङजस्ता आमजनताका आशाका किरणहरुलाई गाली गर्ने दुस्प्रयास भयो । सत्ताधारी दलहरुको प्रशंसा र आमजनताको मन जित्दै उदीयमान अवस्थामा रहेका शक्तिहरुलाई जबरजस्ती गाली गरेर दर्शक हँसाउने प्रयास गरियो । यद्यपि यस्ता प्रायोजित कार्यक्रम नामका मात्र प्रहसन साबित भए, कोही हाँसेको देखिएन ।
नयाँ शक्तिप्रति सत्ताधारी राजनीतिक दल कति अनुदार र अधिनायकवादी व्यवहार देखाउँछन्, उदाहरण हेर्न गाईजात्रापछि तीजतिर लाग्नु आवश्यक छ । पोखराकी गायिका एवं साहित्यकार चन्द्रावती वाग्ले नामका सामान्य व्यक्तिमाथि पुरानो सत्ताले गरेको कारबाही एक उदाहरण साबित भएको छ । आफ्नै युट्युब च्यानल ‘चन्द्रावती वाग्ले’ बाट उनले काठमाडौँका मेयर बालेन शाहको कामको प्रशंसा गर्दै तीज गीत निकालिन् । तर, पोखरा महानगरपालिकामा सानो पदमा काम गर्दै आएकी चन्द्रावतीलाई गीतकै कारण अपायक ठाउँमा सरुवा गरेर दुःख दिएको उनको दाबी छ । ‘चारैतिर बालेनको चर्चा चुलियो’ जस्ता शब्दावलीको प्रयोग भएको यो गीतकी रचनाकार पोखरा महानगरपालिका सामाजिक विकास शाखामा कार्यरत सातौं तहकी कर्मचारी हुन् । सहायक सूचना अधिकारीको समेत जिम्मेवारी सम्हालेकी उनले नै सरुवाको कारण थाहा पाउने सूचनाको हकबाट वञ्चित हुनुपरेको छ । गत १८ साउनको सरुवापत्र आएको बताउने वाग्लेको पोखराकै दुर्गम मानिने वडा २३ मा सरुवा भएको छ । सरुवा नियमित प्रक्रिया हो भनेर घटनालाई सामान्य बनाउन खोज्ने पुराना राजनीतिक दलका कार्यकर्ताहरुले बुझ्नुपर्ने सत्य के छ भने, उनी महानगरपालिकामा सरुवा भएको केही महिना मात्र भएको थियो । उनले बालेनको गीत गाएपछि पूर्वाग्रही ढंगले सरुवा भएको दाबी मात्र गरेकी छैनन्, पोखराकै सुगम वडा छैटौं तहको कर्मचारीको भरमा चलेको छ, दुर्गममा किन सातौं तहको कर्मचारी वडासचिव हुनुपर्ने भनेर प्रश्न गरेकी छन् । खासमा महानगरको कर्मचारी कार्यविधिमा सरुवा भई आएको एक वर्षभित्र अर्को सरुवा नहुने भनिएको छ । यहाँ चन्द्रावतीको तीन महिनामै सरुवा भएको देखिन्छ ।
नेपालको राजनीतिमा नयाँ शक्ति को हो, कुनै दलले नयाँ शक्ति भनेर आफूलाई दाबी गर्न के आधारभूत पक्ष पूरा गर्नुपर्छ भन्ने सवाल महत्वपूर्ण हुन आउँछ । वास्तवमा कसैले ‘नयाँ शक्ति’ भन्ने ‘ट्याग’ जोड्दैमा ऊ वैकल्पिक शक्ति हुन सक्तैन । रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी जुन नयाँ तरिकाले प्रकट भयो, तरिका हेर्दा ऊ नयाँ देखियो । लोकप्रिय र स्वच्छ छविका नेताका रुपमा परिचित डा. बाबुराम भट्टराईको नेतृत्वमा २०७३ सालमा गठित नयाँ शक्ति पार्टी पुराना राजनीतिक दलको व्यवहार मन नपराएर फराकिलो र स्वच्छ आकाश खोज्दै आएका विभिन्न दलका नेता तथा कार्यकर्ताबाट बनेको दल नयाँ शक्तिका रुपमा प्रकट भएको थियो । यसले भ्रष्टाचारमुक्त नेपाल निर्माणमा योगदान दिने आश पनि पलाएको थियो । तर उनासीको निर्वाचनमा पुग्नुअघि नै सत्तामा जसरी पनि पुगिहाल्ने हतारोका कारण नामका बाबजुद ‘नयाँ शक्ति’ पुरानो शक्ति बन्न पुग्यो । अहिले ‘भिजनरी’ नेता भट्राईकै नेतृत्वमा नेपाल समाजवादी पार्टीले नयाँ राजनीतिक शक्तिको अभ्यास गर्दै छ । नेतृत्वको विशाल टाउको तर शरीर स्याप्पै सुकेको अवस्था छ । नेसपाको पार्टी संगठन विस्तार हुन सकेको छैन । भ्रष्टाचार र कमिसनको जगमा नेपालमा दल बन्ने र नेतृत्वमा पुग्ने अभ्यासले जरा गाडेका कारण डा. भट्टराईको स्वच्छ छवि नै समस्याको विषय बनेको छ। स्वच्छ छविकै कारण पार्टीको शरीर सुकेनास लागेजस्तो भएको छ। गौंडागौंडामा भ्रष्टाचारी छन्, यही कारणले डा. भट्टराई चौतर्फी घेराबन्दीमा परेका देखिन्छन् ।
पुराना पार्टीको अवस्था भने ठीक विपरीत छ– शरीर ठूलो टाउको सानो । एमाले पार्टी, संगठन र मत संख्या दुवैको हिसाबले जेठो पार्टी हो । तर, विनासंवैधानिका आधार दुई–दुईपटक संसद् विघटन गरेपछि अध्यक्ष केपी शर्मा ओलीको व्यक्तित्व सुकेको छ । त्यसै गरी नेपाली कांग्रेस पनि मत संख्या र सांसदको हिसाबले र सत्ताधारी भएको हिसाबले प्रभावशाली देखिन्छ । तर, पार्टीभित्रकै महामन्त्रीहरुको जत्तिको व्यक्तित्व पनि पार्टी सभापति शेरबहादुर देउवाको छैन। त्यसै गरी, अर्को शक्तिशाली दल माओवादी केन्द्रको नेतृत्वलाई पार्टीभित्रकै जनार्दन शर्माले भुत्ल्याइसकेका छन्।
नेकामा नेतृत्वको आलोचना सामान्य भए पनि कम्युनिस्ट पार्टीमा यस प्रकारको अभ्यास खतरनाक मानिन्छ । खतरनाक अभ्यास पनि कम्युनिस्ट पार्टीमा हुन्छ भने नेतृत्वको कमजोरी प्रमाणित हुन्छ नै । त्यस्तै, रास्वपा जति तीव्र गतिले उम्रियो उस्तै गतिले पतन हुने क्रममा छ । राप्रपा जो गणतन्त्रको स्थानमा राजतन्त्र स्थापनाको विचार राख्छ, उसले झन् नयाँ शक्तिको वकालत गर्ने कुरै भएन । गणतन्त्रका पक्षधरको कार्यशैली, व्यवहार र गलत नेतृत्वका कारण देशको सामाजिक, राजनीतिक र आर्थिक व्यवस्था जुन तहसनहस हुन पुग्यो र गणतान्त्रिक शक्तिहरु जसरी बदनाम भए, त्यसले अझ नयाँ शक्तिको खोजतिर जनतालाई आकर्षित त गर्छ तर पुरानो सामन्ती चिन्तनतिर लान सक्तैन ।
निष्कर्ष के हो भने, राजनीतिक नयाँ वैकल्पिक शक्तिको पहिलो पहिचान भ्रष्टाचारमुक्त व्यवहार हुनुपर्छ । नीतिमा मात्र भ्रष्टाचार विरोधी भएर पुग्दैन, व्यवहारमा भ्रष्टाचारमुक्त पहिचान चाहिन्छ । पछिल्लो समय बालेन शाह, हर्क साम्पाङलगायतले यस प्रकारको छवि बनाएका छन् । पुराना नेतामा डा. बाबुराम भट्टराई स्वच्छ छविका विचारवान् नेता हुन् । डा. भट्टराईलाई संरक्षक बनाएर बालेन, हर्कहरु एक मोर्चामा आबद्ध भई आए भने जनताले पत्याउने सम्भावना छ । त्यसलाई जनताले नयाँ वैकल्पिक शक्तिका रुपमा सम्मान दिन सक्छन् । रास्वपाभित्र त्यसका अध्यक्ष रवि लामिछानेमाथि मात्र भ्रष्टाचारको छिटा परेको हो, स्वर्णिम वाग्लेसहितको ठूलो संख्या त्यहाँ पनि स्वच्छ छ । यस्ता स्वच्छ छविका व्यक्तिहरु एकीकृत बनेर नआएसम्म पुराना शक्तिलाई सत्ताबाट तल झार्न सकिन्न । ढिला नगरी मसक्क आँट गर्नु आजको आवश्यकता मात्र होइन, हतारो पनि हो।
बाबुरामदेखि विप्लवसम्मका सबै शक्ति वैकल्पिक मोर्चाबन्दीका लागि उपयुक्त सदस्य हुन सक्छन् । बालेनदेखि स्वर्णिमसम्मका युवा शक्तिलाई यसका सदस्य बनाउनु आवश्यक देखिन्छ।
त्यस्तो मोर्चाको नेतृत्व, कार्यसञ्चालन शैली, सदस्यहरुको व्यवहार सबै नयाँ हुनु भने आवश्यक छ। नाम नयाँ शक्ति भन्ने तर कार्यशैली पुरानै अपनाउने गर्दा जनविश्वास प्राप्त हुने सम्भावना रहन्न। यस मोर्चामा माधव नेपाल, उपेन्द्र यादव, सिपी मैनाली, नारायणमान बिजुक्छेजस्ता शक्तिलाई नेतृत्वमा आउन दिनुहुन्न। परिस्थिति यति धेरै गम्भीर बनिसकेको छ कि अब पुरानै तरिकाबाट नयाँ परिणाम खोज्नु असम्भवजस्तै बनिसकेको छ।
मिसन चौरासीको मार्गचित्र तयार पारेर अघि नबढ्ने हो भने देशव्यापीरुपमा बलियो गरी संगठन बनाएका एमाले, नेका र माओवादीको विकल्पमा खडा हुन सम्भव देखिन्न । यतिखेर मिसन चौरासीका लागि कोही प्रभावशाली व्यक्ति संयोजक बनेर प्रस्तावित मार्गचित्रका साथ वैकल्पिक शक्ति र व्यक्तित्वको घर–घरमा परामर्शका लागि यात्रा थाल्नु आवश्यक छ। अन्यथा एमाले, नेका, माओवादी केन्द्रजस्ता पुराना शक्तिका नेता तथा कार्यकर्तालाई हँसाउने काम मात्र हुनेछ। उनीहरु नयाँ शक्तिसँग दुई कारणले डराएका छन्, एक बाबुराम, बालेन, हर्कजस्ता व्यक्तिहरु भ्रष्टाचार गर्दैनन्, घूस खाँदैनन्, दोस्रो पुराना शक्तिहरु विनाभ्रष्टाचार बाँच्न सक्तैनन्।
यस चुनौतीको समाधान गर्न उनीहरुले कि त नयाँ शक्तिलाई घूस खान लगाउनुपर्छ, कि त आफैँ भ्रष्टाचारको दल–दलबाट बाहिर निस्कन सक्नुपर्छ । दोस्रो काम होस् वा नहोस्, पहिलो काम भने कदापि हुनुहुन्न । किनभने नयाँ शक्ति नै आम नेपालीका लागि सम्भावनाको अन्तिम आधार हो । उही भ्रष्टाचारी भयो भने निराशाले सगरमाथा छुनेछ ।
प्रतिक्रिया