धुलिखेल अस्पतालको सराहनीय कार्य


धुलिखेल अस्पतालमा जेनोप्लान र मिर्गौलाको पत्थरीलगायतको समस्याका लागि अत्याधुनिक थुलियम लेजर प्रविधि भित्र्याई कामको थालनी गरिएको छ। यो समयसापेक्ष कामको थालनी गर्नु अत्यन्तै प्रशंसनीय कार्य हो।

धेरै मानिसमा मिर्गौलाको पत्थरी भएको र उपचारमा ढिलाइ हुँदा मिर्गौलाको जोखिम हुने गरेको अवस्थामा धुलिखेल अस्पतालले शुरु गरेको थुलियम लेजर प्रविधिलाई अत्यन्तै राम्रो स्वास्थ्य उपचार विधिका रुपमा लिइएको छ। यो प्रविधिबाट उपचार गर्दा बिरामीले लामो समय अस्पताल बस्नुपर्दैन । घाउचोट लगाउनुपर्ने पनि हुँदैन। साथै पिसाबनलीबाटै उच्च गुणस्तरीय प्रविधिमार्फत क्यामरासहितको उपकरण प्रयोग गरेर पत्थरी फुटाई पिसाबमार्फत बाहिर निकाल्न सकिन्छ। त्यसैले धुलिखेल अस्पतालको यस कार्यलाई स्वागत गर्नै पर्छ।

सो अस्पतालका युरो सर्जन डा. सुजन माकजु भन्नुहुन्छ, ‘अत्याधुनिक अप्टिकल फाइबरयुक्त दूरबिन पिसाबनलीमार्फत भित्र पठाएर मिर्गौलाको पत्थरी पत्ता लगाई लेजर प्रविधिबाट सो पत्थर फुटाएर बाहिर निकालिन्छ। यो इन्डोस्कोप पिसाब खुल्ने प्वालबाट छिराई मिर्गौलासम्म पुर्‍याउन सकिने भएकाले पेटमा कुनै घाउ बनाइराख्नुपर्दैन।’

उहाँका अनुसार मिर्गौलाको पत्थरीको अलावा पिसाबथैलीमा मासु (ट्युमर) पलाउने होस् वा प्रोस्टेट ग्रन्थि सुन्निने समस्यामा समेत यो प्रविधि निकै उपयोगी छ। यसअघिका अन्य लेजर प्रविधिभन्दा थुलियम लेजर प्रविधिले छिट्टै काम गर्न सकिने भएकोले अस्पतालको बसाइ पनि छोटो हुन्छ। यसका साथै फुटाइएको पत्थरी पनि मसिनो बालुवाजस्तै हुने हुँदा पिसाबका माध्यमबाट भित्र राखिएको पाइपबाट बाहिर निस्कन्छ।

यो प्रविधिले पिसाबमा रगत देखिने, पिसाब रोकिने, पिसाब सङ्क्रमण हुने जोखिम पनि निकै कम हुने जानकारी अस्पतालले दिएको छ । त्यसैले यो सेवाबाट नागरिकको स्वास्थ्य उपचार सहज र सुलभ हुने देखिन्छ ।

धुलिखेल अस्पतालले अर्को नयाँ जेनोप्लानमार्फत मानिसको मुखभित्रको स्वाब ( र्‍याल) निकालेर त्यसलाई जेनोप्लान परीक्षण गरी व्यक्ति विशेषमा वंशाणुगतरुपमा सर्ने रोग, क्यान्सर वा अन्य मेटाबोलिक रोगहरु (मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल आदि) लाग्न सक्ने जोखिमको आँकलन गर्न सकिने प्रविधिसमेत भित्र्याई प्रयोगमा ल्याएको छ।

अस्पतालका अनुसार अबको केही वर्ष वा दशकमा के रोग लाग्न सक्छ भन्ने जान्न र कुनै जोखिम छ भने त्यसको रोकथामका उपायहरु अपनाउन यो परीक्षण उपयोगी हुनेछ। समस्या पहिचानपछि जीवनशैलीमा परिवर्तन ल्याएको खण्डमा निश्चय पनि घातक वा दीर्घरोग लाग्न पाउँदैन र स्वस्थ जीवन जिउन सकिन्छ। यस्ता प्रविधि भित्र्याई आमनागरिकले लामो समय उपचारका लागि पालो कुर्नुपर्ने बाध्यतालाई कमी गर्नेतर्फ हरेक अस्पतालले अघि बढ्न सक्ने वातावरण सृजना गर्न सरकारको ध्यान पुगोस्।