१८ महिनामा गठबन्धन फेरबदलबाहेक के गरे दाहालले ?

1.6k
Shares

काठमाडौं ।

विगत १८ महिना सत्ताको बागडोर सम्हालेका निवर्तमान प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक रूपमा सत्ता छटपटाहटको पीडा पोख्न थाल्नुभएको छ।

गत असार १७ गते राति संसद्का दुई ठूला दल कांग्रेस–एमालेबीच भएको सत्ता सहकार्यको निर्णयसँगै अकस्मात् सत्ता बहिर्गमनमा पर्नुभएका दाहालले पछिल्लो समय सत्ता भोकलाई सार्वजनिक रूपमै अभिव्यक्त गर्नुभएको हो।

सरकारप्रतिको उहाँको आक्रोशपूर्ण अभिव्यक्तिले सत्ता बहिर्गमनको पीडा चरम चुलीमा पुगेको स्पष्ट संकेत गरेको छ। दाहालको अभिव्यक्ति सुन्दा लाग्ला आफ्नो कार्यकालमा मुलुकको अवस्था कायापलट नै भएको थियो। तर, उहाँले आफ्नो १८ महिने कार्यकाललाई सत्ता जोगाउने चालबाजीकै घेराभित्र राखेर दलीय गठबन्धनको काँध फेर्नेबाहेक खासै उल्लेख्य काम गर्न नसकेको राजनीतिक विश्लेषकहरू बताउँछन्।

सत्ताको नेतृत्व गर्दा भ्रष्टाचार र भ्रष्टाचारी नदेख्ने दाहालले मंगलबार प्रतिनिधिसभामा प्रतिपक्ष दलको हैसियतमा विशेष समय लिएर बोल्दै केपी ओली नेतृत्वको सरकारलाई अनैतिकता, भ्रष्टाचार, बेथिति र बेइमानीको झुण्ड भएको टिप्पणी गर्नुभयो ।

माओवादी मुलुकका बेथितिविरुद्ध खबरदारी गर्न उभिएको बताउँदै दाहालले सरकारलाई हनिमुन पिरियडसम्मै शक्तिको दुरुपयोगतिर अग्रसर भएको आरोप लगाउनुभयो । ‘प्रधानमन्त्री रोस्टममा कडा रूपमा उभिनुभयो । तर, जसका पक्षमा जसरी उभिनुभयो, त्यो देखेर सिंगो देश स्तब्ध भयो’, दाहालले भन्नुभयो– ‘यो सरकार सुशासनसँग तर्सिएर, सुशासनको वेगलाई रोक्न, आफूहरू र आफ्नाहरू जोगाउन र जोगिन बनेको पुष्टि गरेको छ ।’

उच्च घरानाका व्यापारीले लोडसेडिङको बेलाको डेडिकेटेड र ट्रंकलाइन प्रयोग गर्दा उठेको विद्युत् महसुल, सुशासन, भुटानी शरणार्थी प्रकरणसहितका विषयलाई ‘प्रचण्ड’ले मंगलबारको सदनमा मसला बनाएपछि सत्ता पक्षले त्यसको प्रतिरोध नै गरेको छ। नेकपा एमालेका सांसद रघुजी पन्तले प्रमुख प्रतिपक्ष दलको नेता दाहालले प्रधानमन्त्री पद गएको छटपटी पोखेको बताउनुभयो । प्रचण्डलाई प्रतिउत्तर फर्काउँदै उहाँले भन्नुभयो– ‘प्रचण्डजी सत्ता चाहिँदैन भन्नुहुन्छ। हिजो ३ चोटि घरि यता, घरि उता, जता सत्ता, त्यतै प्रचण्ड भनेर यो संसद्भित्र स्थापित गर्ने मान्छे को हो ? तपाईं स्वयम् होइन ? तपाईंका कारणले मुलुकमा अस्थिरता उत्पन्न भएको थियो । तपाईंका कारणले राजनीतिज्ञहरूले आफ्नो विश्वसनीयता गुमाएका थिए । बाहिर भन्न थालेका थिए– नक्कलेले नक्कली लुगा फेरेभन्दा छिटो प्रचण्डले दल फेर्दछन्। समीकरण फेर्दछन् भनेर । कसले गर्दा यो परिस्थिति उत्पन्न भयो ? के कारणले उत्पन्न भयो ? त्यसैले फर्केर हेर्नुस् ।’

१८ महिना सत्ता चलाउँदा व्यापारीसँग उठाउनुपर्ने रकम उठाउन नसकेको विषयमा पनि दाहालमाथि प्रश्न तेर्सिएको छ । आफू सत्तामा हुँदा काम नगर्ने र सत्ता बाहिर पुग्नासाथ सत्ता पक्षले सबै काम गलत मात्रै ग¥यो भन्ने भाष्य निर्माणमा नेताहरूको स्वभाव फेरिन नसकेको राजनीतिक विश्लेषक विष्णु पन्थीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘जोसुकै नेता सरकारमा आए पनि सेटिङवाला धन्दामा मस्त हुने र प्रतिपक्षमा पुग्नेबित्तिकै आफू दूधले नुहाएको चोखो छु भन्ने भ्रम छर्नेबाहेक केही गर्न खोजेकै छैनन् ।’