युवाहरुले कृषि र पर्यटन व्यवसाय गर्नुपर्छ

अखिलकुमार चापागाईं अध्यक्ष, नेपाल अस्ट्रेलिया उद्योग वाणिज्य संघ
1.6k
Shares

कुनैबेला तिब्बतसँगको व्यापार अनि छिमेकका लागि व्यापारको एउटा नाकासमेत बनेको नेपाल अहिले व्यापारमा टिक्न नसक्ने हालतमा छ । भूपरिवेष्ठित भइकन पनि प्राचीनकालमा यो क्षेत्र व्यापारको केन्द्र थियो । तर, आधुनिककाल तथा पछिल्ला दशकमा नेपालको व्यापार कहालीलाग्दो बन्दै गएको छ । नेपाली सामान विदेश निर्यात कसरी गर्न सकिन्छ, नेपालमा कस्ता वस्तुको सम्भावना छ, युवा पलायन रोक्न के कस्ता कार्य गर्न सकिन्छ भन्नेजस्ता विषयमा नेपाल अस्ट्रेलिया उद्योग वाणिज्य संघका अध्यक्ष अखिलकुमार चापागाईंसँग नेपाल समाचारपत्रका भवनाथ प्याकुरेलले गरेको कुराकानी।

व्यापारको अवस्था कस्तो पाउनु भएको छ ?

विश्वमा नै आर्थिक मन्दी आएका बेलामा नेपालमा पनि त्यसको प्रभाव पर्नु स्वाभाविक हो । उपभोक्तासँग क्रयशक्ति कम हुँदै गएको छ । त्यसैले पनि व्यापार कम हुँदैछ । तर, विदेशमा सामान पठाउन सक्यौँ भने व्यापार बढ्छ ।

फास्ट मुभिङ कन्जुमर गुड्स व्यापारको अवस्था कस्तो छ ?

यस्तो वस्तुभित्र चाँडै सड्ने खाद्यान्न पर्दछन् । जसमा तयारी खाद्यान्न बढी रहन्छ । दाल, चामल पनि यसमा पर्ने हुनाले यसको व्यापार बढ्दो अवस्थामा छ । पहिलेको तुलनामा आयात बढेको छ । १० वर्ष अगाडिसम्म देशले निर्यात गर्दथ्यो भने अहिले भारतबाट आयात गर्नुपर्ने अवस्था आएको छ । यसको अन्त्यका लागि सरकारले नै स्वदेशी उत्पादन बढाउने नीति अवलम्बन गर्नुपर्दछ ।

तेस्रो मुलुकबाट ल्याएको सामानमा म्याद सकिए कम्पनीले फिर्ता लिने वा नष्ट गर्ने कस्तो प्रावधान रहेको छ ?

नेपालमा रहेका इम्पोटरले होलसेल व्यापारीलाई कन्टेनरै सामान दिन्छन् भने त्यो सामान होलसेलरकै जिम्मा हुन्छ । इम्पोटरले फिर्ता गर्ने प्रावधान छैन । तर, इम्पोटरले थोरैथोरै सामान होलसेललाई दिन्छ भने त्यो सामान भने इम्पोटरले फिर्ता लिने र सडाएर फाल्नुपर्छ । नष्ट गर्दा ब्राण्डको नाम खराब हुने, स्वाद कम आउने र मिति केरमेट गर्ने भएको हुनाले फिर्ता लिएर नष्ट गर्नुपर्छ । तेस्रो मुलुकबाट ल्याएको सामान फिर्ता जान सक्दैन । भारतबाट ल्याएको सामान भने कम्पनीको मानिसले हेरेर नष्ट गर्न सक्छ । म्याद गुज्रेको सामान नष्ट गर्नुपर्दा वडा कार्यालय, प्रहरी तथा कर कार्यालयको प्रतिनिधि राखेर सरजिमिन गरी नष्ट गर्नुपर्छ । यस्तो झन्झट गर्न व्यापारी तयार हुँदैनन् । त्यसैले बाहिरबाट सामान ल्याएर नेपालमा बेच्नु जोखिमपूर्णनै छ।

कस्तो अवस्थामा व्यापारीले रिलेभलिङ गर्दछन् ?

कहिलेकाहीँ व्यापारीले रिलेभलिङ र म्याद नाघेका सामानमा स्टिकर पुनः टाँस गरेको विषय आउने गरेको छ । यसमा केही व्यापारमा चाँडै पैसा कमाउने लत लागेजस्तो देखिन्छ । यसमा नाम चलेकै कम्पनीले पनि रिलेभलिङ गरेको सुनिन्छ । म्याद नाघेको सामानमा रिलेभलिङ गर्दा स्वाद खट्ने र ब्रान्डभ्यालु कम हुने देखिन्छ । यस्ता व्यापारी भनेको चाँडो पैसा कमाउने लालसा बोकेका हुन्छन् । यसरी रिलेभलिङ हुने भनेको महँगो खालका चकलेटमा बढी देखिन्छ ।

अर्काको देशको सामान ल्याएर बेच्नेको पनि ब्राण्ड भ्यालु सकिन्छ र ?

तेस्रो मुलुकबाट सामान ल्याउन एजेन्सी लिनुपर्छ । कुनै एजेन्सीले ल्याएको सामान रिलेभलिङ गरेको भेटेमा विदेशीले खाएर नमिठो लागेमा उद्योगीलाई इमेलबाट जानकारी गराउन सक्छ । जसले गर्दा कम्पनीले एजेन्सी अरूलाई नै दिन्छ । कुनैकुनै सामान म्याद सकिएर पनि ६ महिनासम्म खान मिल्ने हुन्छ । त्यस्तो सामानमा रिलेभलिङ गरेको भन्ने थाहा नहुनसक्छ । तामक्रम मिलाएर राखेमा लामो समयसम्म पनि उपभोग गर्न सकिन्छ । सरकारले पनि रिलेभलिङ गरेको भेट्न सक्तैन ।

रिलेभलिङबाट बच्न उपभोक्ताले कस्ता विषय अवलम्बन गर्नुपर्छ ?

महँगो सामानमा रिलेभलिङको मात्र बढी हुने भएको उपभोक्ताले त्यस्तो वस्तु किन्दा ध्यान दिनुपर्दछ । रिलेभलिङ गरेको वस्तुमा पहिला टाँसेको स्टिकरभन्दा फरक हुन सक्छ । स्टिकर टाँस्दा पहिला टाँसेको भन्दा सामान्य तलमाथि हुनसक्छ । त्यसमा उपभोक्ता सचेत बन्नुपर्छ । सरकारको परीक्षण गर्ने निकाय सक्रिय हुनुपर्छ । उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले दसैंमा मात्र अनुगमनको नाममा पैसा उठाउने काम बन्द गर्नुपर्छ । सधैं अनुगमन गर्नुपर्छ । उपभोक्ता संरक्षण गर्ने नाममा रहेको उपभोक्तावादी पनि दसैं, तिहारमा मात्र सक्रिय हुने गरेका छन् । सामाजिक सञ्जाल, सञ्चार माध्यमबाट पनि जनचेतना जगाउनुपर्दछ ।

कस्ता सामानमा रिलेभलिङ हुन सक्छ ?

चकलेट, वाइन, बिस्कुट, हर्लिक्सजस्ता वस्तुमा रिलेभलिङ हुने गरेको छ। नेपाल चाँडो बिग्रिने खालका वाइन खपत हुने गरेको छ । यस्ता वस्तुमा पनि रिलेभलिङ हुने गरेको छ। यस्तो रिलेभलिङ गर्ने व्यापारीले ठुलो मात्रामा नै गर्ने गरेको छ।

पछिल्लो २ महिनायता खाद्यन्नको मूल्य आकासिनुको कारण के हुन सक्छ ?

खाद्यान्नमा हाम्रो मुख्य आयातकर्ता मुलुक भारत हो । अहिले भारतमा नै सामान महँगो भएको छ । डलरको भाउ महँगो भएको हुनाले तेस्रो मुलुकबाट आयात गरिने सामान महँगो पर्छ । यसैगरी यातायात लागत पनि बढेको छ । विश्वमा नै खाद्यान्नको मूल्य बढेको छ । नेपालीहरूको बानी पनि बढी मुनाफा लिने खालको छ । हुन त २० प्रतिशतभन्दा बढी मुनाफा लियो भने कारबाही हुने प्रावधान रहे पनि कार्यान्वयन भने हुन सकेको देखिँदैन । यसको उदाहरण भनेको सवारीसाधनमा ४० देखि ६० प्रतिशतसम्म नाफा लिएका प्रसस्त उदाहरण छन् । त्यसैले अनुगमन फितलो भएर पनि मूल्य वृद्धि भएको हुनसक्छ ।

विभागको अनुगमन कस्तो पाउनुभएको छ ?

यो चाडपर्वलक्षित देखिन्छ । अरूबेला ठुलो कारबाही भएको देखिन्छ । समाते पनि ठुलो जरिवाना भएको देखिँदैन । त्यसका लागि सामाजिक बहिष्कार गर्ने नीति लिनुपर्दछ । जस्तै भ्रष्टाचारी, तस्करी, मिसावट गर्नेलाई सामाजिक बहिष्कार गरी ब्रतबन्ध, विवहाजस्ता कार्यक्रममा नबोलाउँदा गलत क्रियाकलाप कम हुने थियो । नेपालमा भने सुनपानी छर्ने काम भने व्यापक हुने गरेको छ ।
बजारमा पाइने खानेतेलमा मूल्य अन्तर धेरै देखिनुको कारण के हुन सक्छ ?

नेपाली कम्पनीले तोरीको गेडा आयात गर्दा एकैपटक लिँदा सस्तो हुुने भएको हुँदा कम बढी मूल्य हुन सक्ला । मैले घरमा स्वाइबिन तेलको प्रयोग गर्ने गरेको छु । पहिला हामीले मिलमा पिसाएको तेल प्रयोग गर्ने गरेका थियौँ । तर, केही समयपछि तोरीजस्तो देखिने अन्य खान नहुने वस्तु मिसावट पाइएपछि खान छोडेका छौँ । अहिले हाम्रो भान्सामा थोरै तेल प्रयोग गर्ने गरेका छौँ ।

नेपालमा आउने कपडाको मुख्य बजार कुन हो ?

नेपालमा आउने कपडा मुख्यतया चीन त्यसपछि भारत नै हो । गुणस्तरका दृष्टिले हामीले टर्कीबाट ल्याउने गरेका थियौँ । कुनै उपभोक्ताले महँगो र राम्रो खोज्दछन् । त्यसका आधारमै सामान आयात हुने गर्दछ । २ लाखभन्दा बढी मूल्य पर्ने सुट नेपालमा प्रयोग गरिन्छ । जसको मूल्यअनुसार गुणस्तर पनि हुन्छ । मानिस ब्राण्डअनुसार पैसा तिर्न सफल भएका छन् । बंगलादेश र भियतनामबाट पनि आउने गरेको छ । अन्तर्राष्ट्रिय ब्रान्ड बंगलादेशमा बन्ने गरेका छन् । कुनै कम्पनीले आफ्नो ब्राण्डको कपडा बनाउन अर्डर दियो । तर, बंगलादेशको कम्पनीले समयमा बनाउन सकेन भने अर्डर क्यान्सिल गर्न सक्छ । बंगलादेशमा रहेको कम्पनी र अर्को बनाउन दिएको कम्पनीले आफ्नो पैसा नडुबोस् भनेर छुट दिई अर्को देशमा बेच्ने अनुमति दिन सक्छ । बंगलादेशमा ठुलो मात्रामा उत्पादन हुने भएको हुनाले सामान सस्तो पाइन्छ । चीन पहिलो र बंगलादेश दोस्रो हो । ल्याउने समय र लागत बंगलादेशनजिकै हो । सस्तो भने चीन नै प्रमुख देश हो । अहिले इलेक्ट्रिक गाडी चीनबाट आएका छन् ।

ब्राण्ड नक्कल गर्ने र हुबहु बनाउने क्रम बढेकाले विदेशी ब्राण्डको विश्वासनीय कत्तिको हुन्छ ?

नेपाल डब्युटिओको सदस्य भएको हुनाले बाहिरबाट आएको ब्राण्ड विश्वभरी नै ट्रेडमार्क दर्ता गरेको हुन्छ । कानुन कडा हुने हो भने ठुलो क्षति बेहोर्नुपर्छ । तर, यहाँ कानुनको फितलोपनका कारण नियन्त्रण गर्न गाह्रो भएको छ । नेपालमा ब्राण्ड सही छ वा छैन भन्ने परीक्षण गर्ने निःशुल्क व्यवस्था भए उचित हुने थियो । कारवाही पनि कम रहेको छ ।

नेपालबाट कपडा निर्यातको अवस्था कस्तो रहेको छ ?

नेपालबाट पनि नेपाल फेसन भन्ने कम्पनीले बेलायत कपडा निर्यात गर्ने गरेको छ । कच्चापदार्थ अन्य देशबाट ल्याएर डिजाइन बेलायतकै गरी विदेश निर्यात गर्ने गरेको छ । नेपालमा सानासाना गार्मेन्टले आफ्नो ब्राण्ड बनाइरहेका छन् । अहिले गुणस्तर भएका खेल खेल्दा लगाउने कपडा नेपालमा ठुलो मात्रामा बनिरहेको छ । ब्याग, टिसट, फर्निचर, सोफा उद्योगजस्ता उद्योग नेपालमा स्थापित भइरहेको छ । नेपालमा ट्रेडमार्क दर्ता गर्ने क्रम सहज बन्नुपर्छ ।

नेपालले के कस्ता वस्तु निर्यात गर्नसक्छ ?

नेपालले निर्यात गरेका मुख्य वस्तुमा पामतेल, धागो, ऊनी गलैँचा, अलैँची, हस्तकलाका सामग्री, तयारी पोसाक, पस्मिना, फलाम, भटमासको तेल, कुकुर बिरालाको आहारा आदि पर्छन् । वस्तु निर्यात सबल बनाउन सरकारले व्यापार व्यवसायी अह्राउने मात्र नभई सँगै हातेमालो गरेर सहजीकरण गर्नुपर्छ । तर सरकरकाले त्यस्तो गर्न सकेको छैन । बदलिँदो परिवेशमा अन्य देशमा हुने मागअनुसारका वस्तु हामीसँग छैन । अचेल गुणस्तरको पनि धेरै महत्व बढेको छ अनि हाम्रो वस्तु व्यापारमा हुने खर्च पनि निकै धेरै छ । आपूर्ति शृङ्खलाको व्यवस्थापनदेखि लिएर वस्तु गुणस्तर मापदण्ड प्रमाणीकरणसम्मका विषयमा नेपाल पछि परेको छ । तिब्बतसँगको व्यापार सम्भावना छ । चीनकै अन्य प्रान्तबाट भन्दा नेपालबाट सामान त्यहाँ लैजान छिटो र सहज हुनुपर्ने हो । तर वास्तविकता कस्तो छ भने राँगाको मासु लैजानका निम्ति यहाँ नै बधशाला खोलियो । भइदियो के भने फुट एन्ड माउथ वा खोरेत रोगमुक्त भनेर प्रमाणीकरण गर्न सकिएन र त्यो मासु भियतनाम हुँदै प्रमाणीकरण गरेर पुर्‍याउनुपर्ने भयो । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका बेला साइट्रस फलफूल लैजाने कुरा भए पनि उनीहरूको मापदण्डअनुसार किटाणुमुक्त क्षेत्र घोषणा गरेर उत्पादन गर्न सकिएन । यस्तै झमेलाका कारण सम्भावना बोकेका वस्तु पनि विदेश निर्यात गर्न सकिएको छैन ।

युवालाई के सुझाव दिनु चाहनुहुन्छ ?

देशको अमूल्य सम्पत्तिमध्ये युवाशक्ति पनि एक हो । युवा परिवर्तन, रूपान्तरण र विकासका संवाहक र राष्ट्र निर्माणका प्रमुख स्रोत हुन् । युवाको गुणात्मक र संख्यात्मक विकास र परिचालनले देशको विकास सम्भव हुन्छ । राष्ट्रिय युवा नीति २०७२ ले १६ देखि ४० वर्षसम्मका नागरिकलाई युवा भनेर परिभाषित गरेको छ भने युवा उमेर समूहको जनसङ्खया कुल जनसंयाको ४०÷३५ प्रतिशत रहेको छ । स्टाटप व्यापार गर्न सुझाव दिन्छु । सेवामूलक व्यापार राम्रो छ । अनलाइन सामान बेच्ने, अनलाइन खानालगायत बेच्न सकिन्छ । पर्यटन, कृषि पनि युवाका लागि उपयुक्त हुन्छ । कफखेती पनि गर्न सकिन्छ । विश्व कसरी अगाडि बढेको छ त्यसैगरी हामीले अपग्रेड गर्नुपर्छ । विगत वर्षमा ७३ हजार अस्ट्रेलियन नेपाल घुम्न आएका थिए । उनीहरूलाई मनपर्ने खाना तयार गरेर बेच्न सकिन्छ ।

अस्ट्रिलिया च्याम्बरबारे केही बताइदिनुहोस् ।

अस्ट्रेलिया उद्योग वाणिज्य संघ आजभन्दा ३८ वर्षअगाडि स्थापना भएको हो । यो दुई राष्ट्रिय उद्योग वाणिज्य संघ हो । दुई देश बीचमा व्यापार बढाउन पुलको काम यस्ता संस्थाले गर्ने गर्दछन् । यस्ता संस्था सेवामूलक संस्था हुन् । म अध्यक्ष भएको दुई कार्यकाल भयो । म रहँदा नेपाली व्यापारीका लागि व्यापारिक बैठक गराउने गरेको थिएँ । अस्ट्रेलियाको के सामान नेपाल ल्याउन सक्छौं र नेपाली के सामान अस्ट्रेलिया लान सक्छौं भन्ने विषयमा छलफल भई निष्कर्ष निकाल्ने गरिन्छ । उदाहरणका रूपमा नेपाली कागजबाट बनेका ब्यागहरू अस्ट्रिलियाको बाइन लिनेले किन्न सक्ने देखिन्छ । हामीले हातेकागज बेच्न सक्छौँ । च्याम्बरबाट नेपाली सामान विश्वमा बेच्न सजिलो हुन्छ । हामीले आफ्नो देश जस्तोसुकै भए पनि बाहिर गएपछि एकदमै राम्रो भन्ने गरेका छौँ । यसरी नेपाल अस्ट्रेलिया च्याम्बरले काम गरिरहेको छ। अस्ट्रेलियाबाट नेपालमा सामान आयातको अवस्था धेरै ठुलो रहेको छ। तर नेपालबाट निर्यात भने कममात्र हुन्छ। विदेशमा पनि व्यापार मेला हुँदा नेपाली सामानलाई कसरी विदेशमा निर्यात गर्न सकिन्छ भनेर काम गरिरहेका छौँ । नेपाल–अस्ट्रेलिया मात्र नभएर युवा पुस्ता नै अगाडि आउनुपर्छ । यस संस्थाले प्रभावकारी रूपमा सेतुको काम गरिरहेको छ ।