माता पार्वती र बाबा भोलेनाथप्रति आस्था भएकाहरु सबै कैलाश–मानसरोवर पुग्न खोज्छन् तर थोरैले मात्र अवसर पाउँछन् । ती थोरैमध्ये म पनि एक भएँ । यात्राको पहिलो दिन गत साउन ४ गते काठमाडौँबाट रसुवागढीको घ्याम्पे खोलामा बास बस्न पुगियो। दोस्रो दिन चिनियाँ अध्यागमन पार गरेर चिनियाँ बसपार्क पुगियो । तिब्बतीयन गाइड काल्सेनले खादा लगाएर स्वागत गरे।
त्यसपछि हामी केरुङतर्फ लाग्यौँ । घुमाउरो तर सुन्दर बाटो पार गर्दै केरुङ बजार पुग्यौँ । बोर्डरबाट २५ कि.मि. पर र समुद्री सतहबाट २,७०० मिटरमा रहेछ यो ठाउँ । यही बजारमा नेपालकी छोरी राजकुमारी भृकुटीको गुम्बा रहेछ । त्यो गुम्बा देखेर खुशी लाग्यो । हामी यहीँको पिलग्रिम्सइन होटलमा दुई दिन बस्यौँ ।
चौथो दिन बिहान हिँडेका हामी १७० किलोमिटर पर रहेको ४,३०० मिटर उचाइमा अवस्थित विश्वको दोस्रो लामो नदी ब्रह्मपुत्रको किनारमा साँगाबजार पुगेर बास बस्यौँ । बाटोमा केरुङ झरना, ब्रह्मपुत्र नदी, फुस्रा घाँसे मैदान, पहाड छेडेर बनाएको सुरुङमार्ग र ५,२२१ मिटर अग्लो भन्ज्याङ भेटियो । यी सबै पार गरेर हामी साँगाबजार पुगेका थियौँ ।
हामीलाई लेक लागेकाले जति सक्दो छिटो आ–आफ्ना रुममा आराम गर्न गयौँ । बेलुका पानीका भरमा भात निलियो । बिहान ७ः३० बजे हामी मानसरोवरतर्फ लाग्यौँ । विशाल तिब्बतको पठार र समथर घाँसे मैदान चिरेर हाम्रो बस ६०–८० कि.मि.को गतिमा दौडियो । बाटोमा ठूला–ठूला फाँटहरु, फुस्रा र काला पहाडहरु, नीलो आकाशमुनि चरिरहेका चौँरी र च्याङ्ग्राका बथान हेर्दै हामी अघि बढिरह्यौँ । अग्लो भूगोलमा पुगेकाले लेक लाग्ने समस्या थपिँदै थियो । लेक लाग्ने चिन्ताले म ननिदाई चङ्ख भएर बसको झ्यालबाट बाहिर हेर्दै थिएँ । बाटोमा निउटोङवा, फयाङ, मायुमाला, होर्छु र ५,२३० मिटर अग्लो मयुम्ला भन्ज्याङ देखियो। बीचबाटोमा चार–पाँचवटा कटेज, एउटा शौचालय र मान्छे बस्न मिल्ने हरियो चउर भेटियो । गुरुजीले गाडी त्यहीँ रोकिदिए । ब्रह्मपुत्र नदीकिनारमा बसेर खाना खान पाउँदा हामी खुशी भयौँ । सो नदीको सफा पानीभित्र थुप्रै माछा खेलिरहेको पनि होरियो।
त्यसपछि पनि यात्रामा पट्यार लाग्दो मैदानी भागले छोडेन । एकनासको मैदान र फुस्रा पहाड हेर्दै हामी बेलुका ४ बजे मानसरोवरको किनारनजिक पुग्यौँ । पठारबीच हिमालयको काखमा विशाल मानसरोवर झुलुक्क देखियो । लेक लागेर पुग्न सकिँदैन कि भनेर आलसतालस भएको अवस्थामा मानसरोवर ताल दर्शन गर्न पाउँदा मेरा आँखा रसाए । त्यहाँ परिक्रमा शुल्क बुझाउनुपर्ने रहेछ । हाम्रो गाडी ताल नदेखिने ठाउँतर्फ मोडिएर घ्याच्च रोकियो । हामी यात्रीहरु ओर्लिएर शौचालयतर्फ लाग्यौँ । हाम्रा गाइड ताल प्रवेशाज्ञा लिन गए ।
बेलुकाको ५ बजे मानसरोवरलाई दाहिने पार्दै परिक्रमा शुरु भयो । परिक्रमा गर्न ७५ कि.मि. मोटरबाटो रहेछ । दक्षिणतर्फको किनार पुग्दा मानसरोवर निकै ठूलो, निर्मल, शान्त र पवित्र देखियो । ४,६०० मिटरको उचाइमा रहेको यो ताल स्वच्छ, पवित्र र सुन्दर रहेछ । यो तालमा ब्रह्ममुहूर्तको समय पारेर स्नान गर्नाले आफूले गरेका सबै पाप नाश हुन्छन् भन्ने मान्यता छ । त्यसैले हिन्दु, बौद्ध, बोन र जैनहरु यहाँ स्नान गर्न आउँछन् । उत्तरतर्फ विशाल कैलाश पर्वत, दक्षिणमा ७,५०० मिटर अग्लो गुर्लामनधटा हिमाल र बीचमा भीमकाय मानसरोवर ताल देखेर सबैजना खुशी भयौँ । एकैपटक कैलाश र मानसरोवरको दर्शन गर्न पाउँदा हामी फोटो खिच्न व्यस्त थियौँ ।
यसै क्रममा मानसरोवर तालको किनारमा गाडी रोकियो । पञ्चस्नान गर्ने र मानसरोवरको जल लिने ठाउँ त्यहीँ रहेछ । त्यसैले हामी खुशी हुँदै पानीको स्पर्स गरी पञ्चस्नान गर्न थाल्यौँ । कपडा खोलेर स्नान गर्न पाइने रहेनछ । त्यो नियम हामीले मान्यौँ । पञ्चस्नान गर्ने, कैलाशलाई जल चढाउने, पित्रीका नाममा जल अर्पण गर्ने र आ–आफ्नो भाँडोमा जल लिएर आउने काम सक्न हामीलाई एक घण्टा लाग्यो । त्यसपछि मेरो शरीर हलुका भयो । त्यसपछि कैलाश र मानसरोवरसँग जोडिएर केही तस्वीर खिच्यौँ ।
आँखैका सामुको कैलाश पर्वतलाई साक्षी राखेर मानसरोवर तालको पानीमा उभिँदा स्वर्गीय आनन्द भयो । मनमा सन्तुष्टिको पहाड ठडियो । आँखा चिम्लिएर पिताजीलगायतका पित्रीहरुलाई स्मरण गर्दा आँखा रसाए, छाती फुल्यो, गौरवले शिर झुक्यो । पित्री ऋण चुक्ता गरेझैँ लाग्यो । आफ्ना परिवारको आयु, आरोग्य, सुख, समृद्धिको कामना गर्दै जप–ध्यान गरेँ । त्यहाँको सबै कार्य सकेपछि हाम्रो शरीर झनै फूर्तिलो भयो । लेक लागेर दुखेको टाउको हलुका भयो । हामी हँसिला, रसिला, फूर्तिला र मिजासिला भयौँ । आपसमा खुशी बाँड्दाबाँड्दै समय बितेछ । तिब्बती गाइडले बोलाए । हामी गाडी चढेर राक्षस तालतर्फ लाग्यौँ ।
यात्रीलाई राक्षस ताल र गुर्लामनधटा हिमाल एकै ठाउँबाट हेर्न सजिलो होस् भनेर बीचमा भ्यूप्वाइन्ट बनेछ । हामी त्यहाँ गयौँ । राक्षस तालको पानी कालो देखियो, पानीका छालहरु पनि उर्लंदै थिए । यो विशाल ताल नेपालको दार्चुलासम्म जोडिएको छ रे । कर्णाली नदी पनि यहीँबाट बग्दी रहिछन् । रमणीय दृश्य हेर्दै गर्दा घाम अस्ताए । बेजिङ समय बेलुकाको १० बजेछ । हामी राक्षस ताललाई देब्रे बनाउँदै मानसरोवरतर्फ लाग्यौँ । बाटोमा बुराङ काउन्टी बजार भेटियो । सानो विद्यालय, तातो पानी आउने धारा र रातो पहरामा च्यूगुम्बा देखियो । हाम्रो गाडी यहाँ रोकिएन । मानसरोवरको उत्तरी किनारमा रहेको स्वामी आश्रममा पुगेर रोकियो । हाम्रो बास बस्ने ठाउँ त्यहीँ रहेछ ।
यस दिनको बास स्वामी आश्रमको ६–६ जना सुत्ने कोठामा भयो । हामीले पाएका दुई कोठामा महिला र पुरुष बाँडिएर सुत्यौँ । बिहान भान्सेहरुले मानसरोवरको पानी ल्याएर तताइदिए । हामी सबैले स्नान ग¥यौँ । त्यसपछि पूजा र हवन गर्न मानसरोवरको छेउमा गयौँ । घडामा जल लिएर तलाउकिनारमा गयौँ । ट्राभलका भाइहरुले म्याट र पाल ओछ्याइदिए । हामीले करिब २ घण्टामा आफ्नो पूजा, हवन, ध्यान, जप र तर्पण सक्कायौँ ।
खाना खाएपछि हाम्रो यात्रा तार्चेनतर्फ लग्यो । समथर पठारमा चर्ने चौँरी र च्याङ्ग्राका बथानले छोडेनन् । डेढ घण्टामै ४,६९० मिटरको उचाइमा पर्ने तार्चेन बजार भेटियो । प्रहरी प्रशासनको बलियो उपस्थिति रहेको तार्चेन बजार सुन्दर र सफा रहेछ । हामी त्यहाँको थाङबेसी होटलमा बास बस्यौँ । भोलिपल्ट बिहान ७ः३० बजे हाम्रो यात्रा यमद्वारतर्फ लाग्यो । करिब ४५ मिनेटमा ४,७७० मिटर उचाइमा रहेको यमद्वार पुगियो, जुन बौद्धशैलीमा निर्माण भएको रहेछ । कैलाश परिक्रमा (कोरा) गर्न जाने यात्री यहीँबाट छिरेर जान्छन् । नसक्नेहरु यही यमद्वारलाई तीनपटक परिक्रमा गरेर आफ्नो यात्रा टुङ्ग्याउँछन् ।
हामीले पनि यमद्वारको तीनपटक परिक्रमा गरेर यात्रा टुङ्ग्यायौँ । कैलाशको दर्शन गर्दै धूपबत्ती, आरती गरियो । भजन–कीर्तन गर्दै भोलेनाथको चरणमा आफूलाई समर्पण गरियो । यति गर्दा म असाध्य खुशी भएँ । हाम्रो समूहबाट जनक थापा र उहाँकी धर्मपत्नी पुष्पा खड्का भने कोरा (कैलाश परिक्रमा) गर्न जानुभयो । हामीले उहाँहरुलाई खादा लगाएर बिदा ग¥यौँ अनि तार्चेन बजार फर्कियौँ ।
तार्चेन बजारभन्दा थोरै माथि अष्टपाउ भन्ने ठाउँ रहेछ । त्यहाँ सेर्सुङ गुम्बा, नन्दी खोला र नजिकबाट कैलाश हेर्ने ठाउँ रहेछ । सेर्सुङ गुम्बासम्म गाडीमा जान प्रतिव्यक्ति ३५० युआन लाग्ने रहेछ । यमद्वारबाट आएर भात खाइनसक्दै दुईवटा गाडी आए । हामी त्यसैमा अष्टपाउ गयौँ । आधा घण्टामै पुगियो । सेर्सुङ गुम्बाको प्राङ्गण ५,२९१ मिटर उचाइमा रहेछ । त्यो स्थानबाट साँच्चै कैलाश नजिक देखियो । एक घण्टा जप, ध्यान र दृश्यावलोकन ग¥यौँ । कैलाशबाट निस्केको नन्दी खोलामा पञ्चस्नान ग¥यौँ । यहाँको जल लिने र फोटो खिच्ने कार्य सकियो । कैलाशको पेरिफेरिबाट नै सिन्धु, सतलज, ब्रह्मपुत्र र कर्णाली नदी बग्दा रहेछन् । तर हामीले नन्दी खोला मात्र स्पर्श गर्न पायौँ ।
सात दिनदेखि निरन्तर अघि बढेको हाम्रो यात्रा यस दिन कैलाशछेउ पुगेर फर्कंदै थियो । तर कोरा गर्न गएका जनक सरलाई दुई दिन पर्खनुपर्ने भएकाले हामी समय बिताउन मानसरोवरको किनारमा गयौँ । हामीलाई यहाँ तीन रात बस्ने अवसर मिल्यो । दशौँ दिन बिहान ११ बजे मानसरोवरलाई दाहिने पार्दै बिदा मागेर साँगामा बास बस्न पुग्यौँ । हामी बेलुकाको ५ बजे साँगा बजार पुगेर एक फन्को लगायौँ । यो सफा र व्यापारिक केन्द्र रहेछ । तिब्बती र चाइनिजहरुको मिश्रित बसोबास रहेछ यहाँ।
भोलिपल्ट हामी साँगाको थाङबेसी होटलबाट केरुङतर्फ लाग्यौँ । केरुङ झरना पुग्दा २ बज्यो । बस रोक्ने ठाउँमा भान्से भाइले हटकेसमा ल्याएको खाना सजाउन थाले । हामी झरनातर्फ लाग्यौँ । अग्लो पहराबाट झरेको ठूलो छाँगो देखेर हामी दङ्ग भयौँ । झरना हेर्ने ठाउँ पनि साह्रै राम्रो रहेछ । हामीले तस्वीरहरु कैद ग¥यौँ । खाना खान जाँदा एकादशी मान्नेलाई फलाहार र अरुलाई पुलाउको व्यवस्था रहेछ । बेलुका ५ बजे हामी केरुङको पिलग्रिम्सइन होटलमा पुग्यौँ । त्यसपछि केरुङ खोलाको झोलुङ्गे पुल हेर्न गयौँ । फर्कंदा साँझ समक्क भयो । चराहरु चरनबाट बासतर्फ फर्कंदै थिए । सूर्य नारायणले केरुङ बजार छोडेर गएकाले चिसोको आगमन भएको थियो ।
खाना खाएपछि हामी पुरुषहरु चाइनिज सङ्गीत र नृत्य हेर्न नाचघर गयौँ । त्यहाँको नृत्य हामीले सोचेजस्तो र चाहेजस्तो चाइनिज कला–संस्कृति झल्कने हुँदोरहेनछ । त्यसैले हामी चाँडै फर्कियौँ । त्यहाँको नाचगानभन्दा हाम्रो भजन–कीर्तन नै राम्रो थियो । भोलिपल्ट यात्राको अन्तिम दिन साउन १७ गते चाइनिज अध्यागमन र प्रहरी चेकिङ सकेर नेपाल छिर्न करिब २ घण्टा लाग्यो । साँझ ७ बजे काठमाडौँ आइपुग्यौँ । घरमा पुगेर आमाको गोडामा शिर राख्दै ११ दिनको कैलाश मानसरोवर यात्रा अन्त्य गरिदिएँ।
प्रतिक्रिया